Desert’s Diary
आशा र विश्वासका पोकाहरु खोतल्दै, दुःख र बेदनाका भारीहरु बोकी कतै कुनै दिन गरीवको झोपडीमा पनि सूर्य कसो नउदाउँला भन्ने आशामा भोक र रोगसंग पौंठाजोरी खेल्दैं साहुकोमा आफ्ना पूख्र्यौली बाबुवाजेको चिनो त्यै एउटा भएको गैरी खेत पनि बन्धकी राखी विदेशिएको आज कैयै वर्षबितिसकेको छ । तर पनि आफूले सोचेको, आफूले रोजेको जस्तो जीन्दगी यो समाजमा, यो परिवेशमा किन पाइन्थ्यो र - “आफू ताक्छ मूढो बञ्चरो ताक्छ घुँडो” भने झै, सारा सपनाहरु सपनामै मात्र सिमित रहे । आज यस मरुभूमिमा दिल खोलेर हाँस्न सकेको छैन, भक्कानो हालेर रुन पनि । कहिलेकाही त साहै मन दुखेर आउँछ, आँखाहरु रसाएर आउँछ, मुटु चुडिन खोज्छ, यो परिवेश, यहाँंको अवस्था र परिस्थिति देखेर अनि फेरि सम्हालिदै आँखाको नानीबाट वगेको आँशुलाई हत्केलाले पुछ्दै संयमित हुन खोज्दछु ।
साउदी अरव विश्वमा यो सवैभन्दा बढी क्षेत्रफल ओगट्ने सक्षम खाडी मुलुक हो । यहाँ हामी नेपालीको कुनै मूल्य छैन “काला गए गोरा आउँछन” भने झैं गर्दछन् । नेपालीहरुको वर्तमान अवस्था खै कुन उद्देश्य वा शब्दले अथवा साहसले व्याख्या गरौं । २५ देखि ५५ ड्रि्रीको तापक्रममा आकाशे छतको मरुभूमिमा वाह्रैमास बाह्रैकाल काममा तल्लीन हुनुपर्दछ । खाना खाने समयमा समेत कतिपय ठाउँमा त ओतलाग्ने ठाउ“ नै पाइन्न । वालुवाको जर्जर तापक्रममा जमिन र आकाशे प्रचण्ड तेजमा आफूलाई जलाएर विवश भइ काम गर्नुपर्दछ । अत्यन्तै कडा काम गर्नुपर्ने भोक र प्यासमा तड्पिनु पर्ने त्यसमा पनि तातो हावा चल्ने, वालुवा उडाएर खान लागेको भातमा पर्ने यो भन्दा उदेकलाग्दो नारकीय वास्तविकता कहाँ होला र - हो, मैले सानो छंदा स्वस्थानी ब्रत कथामा सुनेको पढेको थिए । पापिनी चन्द्रावतीले भोकले तड्पिएर वालुवा खान्छु भनि खान खोज्दा वालुवा खरानी भएको, खरानी पनि खान खोज्दा ठूलो हुरी आइ उडाइ लगेको तर आज वर्तमानमा त्यो काल्पनिक कथा पनि सत्प्रतिशत सत्य सावित भएको तीतो यथार्थ पनि नकार्न सकेको छैन ।
यहाँं न त रोएर नै केही हुनसक्छ, न हांसेर नै बाँच्न सम्भव छ । यो ठाउँंमा न हाम्रो रहनसहन मिल्छ, न रितिरिवाज, न त वातारण, न धार्मिक सहिष्णुता, न आत्मीयता न त भाइचारा । यो त जेल हो, पहिले पहिले सजाँय दिनको लागि चितवनमा सजायको भागीदारहरुलाई ल्याइन्थ्यो अरे अहिले साउदी जस्तो गल्फ कन्ट्रीमा निर्दोष कलिला हातहरुलाई सरकारद्धारा परोक्ष रुपमा गल्हत्याइन्छ । यहाँं भित्रने ९५ प्रतिशत नेपालीहरु सवै कलिला उमेरका छन् । १८ बर्षेखि २२ बर्षवीचका धेरै नेपालीभाइहरु यहाँं ल्याइएको छ देशको परिस्थितिले, राजनीतिज्ञ भनाउदोहरुको घिनलाग्दो राजनीतिले, साहुमहाजनको छलकपटले तथा अन्य सामाजिक तथा आर्थिक अझ भनौं केहि समय यतादेखि त राजनीतिक चपेटामा कुनै कारण बिना मुछिनाले पनि नचाहदा नचाहदै लाउं लाउं र खाउं खाउं भन्ने उमेरमा साउदी अरवको तातो र तीतो यथार्थमा पलपल मरिमरि बांँच्न बाध्य छन् । कोही साउदी अरेवियाको विशाल मरुभूमिमा महिनौ दिनको खपोस -एक प्रकारको नाङ्लो जत्रो गहुँको रोटी) र नूनिलो पानीको सहायताले ऊँट र भेडा चराउन बाध्य छन् । महिनौसम्म भेडा र ऊँटको गोठालो गर्दै कहिले त बर्षौसम्म मुदिर -मालिक) ले समय समयमा दिएको सपोस खाँदै मरुभूमिमा मरि मरि बाँच्न बाध्य छन् । कति नेपाली भाइहरु त्ाातो फलामको कारखानामा कलिला हातहरु डढाउन विवश छन् । हुन त कतिपय भाइहरु राम्रा कम्पनीमा नपरेका पनि होइनन् । राम्रा कम्पनीहरु भनेर उदगार गर्नुभन्दा पनि तोकेर आएको काममा लाग्न सके साउदीको तीतो यथार्थमा केही राहत महसुस गर्ने कुरामा दुइमत छैन ।
राम्रा कामहरु भनेर गणना गर्दा वेटर, सेक्युरिटी गार्ड, अफिस व्वाई, अफिस क्लीनर आदि तल्लो दर्जाको काम भनेर गणना हुने गर्दछ भने माथिल्लो दर्जाका कामहरुमा कम्प्युटर अपरेटर, सेक्रेटरी, फोरम्यान, सुपरभाइजर आदि राख्न सकिन्छ । विशिष्ट दर्जा भनेर म्यानेजर, प्रोजेक्ट इञ्चार्ज, इञ्जिनियर आदिलाई गणना गर्दा वेश होला । तर जे जस्तो भएपनि यी भर्खरै बयान गरिएका दर्जामा आउन सके अफिस भित्र जम्मा ८ घण्टा मात्र काम गर्नुपर्ने र अफिसमा एयर कन्डिसन जडान गरिएको पाइने हुँदा काम गर्न सुलभ हुने गर्दछ । हुन त कम्पनीले दिइएका वासस्थानहरुमा पनि एसि नहुने भने होइन तर एसि को क्वालिटीको कारण असर भने पर्दछ नै । सजिला काममा आउँदा काम गर्न सजिलो क्षेत्र भेटिनु सहज नहुन सक्छ । भेटिए पनि ८ घण्टा मात्र अफिसियन काम हुने हुँदा ओभर टाइमको आशा गर्न सकिन्न । तर फिल्डमा काम गर्ने क्षमता भएकाहरुले भने साउदी अरवमा पनि सुन फलाउन नसक्ने होइन । यस्ता पेशाहरुमा तेलका कुवा तथा रिफाइनरी, तेल रिफाइनरीसम्म ल्याउन प्रयोग गरिने हजारौं मिल टाढा र लामा पाइप लाइनहरुमा काम गर्नुपर्ने हुन्छ । यस्ता क्षेत्रमा काम गर्नेहरुको लागि विशेष ओभर टाइमको व्यवस्था हुन्छ भने कम्तिमा दैनिक १६ घण्टासम्मको टाइमसिट पाउने हुँदा सामान्य हेल्पर, लेवर आदिले जसको ५०० रियाल तलव हुनेले पनि १५०० रियाल भन्दा माथि तलव थाप्ने गर्दछन् । उसो त काम गर्ने वातावरण सम्झदा पनि कतिले रिंगटा लागेको महसुुस गर्दछन् । कति जना त काम गर्दागर्दै वेहोस हुने गरेका पनि छन् । एकजना साथी गंगाको अनुसार उनले केहि समय पाइप लाइनमा काम गरेको कुरा बताउँछन् । ५० ड्रि्री से. भन्दा माथिको तापक्रममा पाइप लाइनमा हेल्परको काम गर्दा भोगेको दुःख बयान गर्दा उनको आँखामा पानी नभरिएको भने होइन । खाना खाने समयमा समेत ओतलाग्ने ठाउँ नपाएको दुखेसो व्यक्त गर्दछन् । प्रचण्ड तापक्रम अनि मरुभूमिमा हावा चल्दा आँखा राम्रोसंग हर्न नसक्नु, खाने समयमा पनि खानामा वालुवा मिसिनु, पानी समेत प्यास मेट्ने चिसो पिउन नपाएको तीतो यथार्थ व्यक्त गर्छन । विगत जेजस्तो भएपनि हाल उनी फोरम्यान भएका छन् । तलव पनि राम्रो बृद्धि भएको छ । उनी अरवियन फाल नामक कम्पनीका एक लगनशील कामदार हुन् ।
माथि व्याख्या गरिएको पक्षहरुमाथि विश्लेषण गर्दा साउदी अरवमा काम गर्ने हैसियतले भित्रनु नराम्रो भने होइन । यहाँ सयौं देशका लाखौं मानिसहरु रोजगारका लागि आएका छन् । निम्नस्तरिय काम गर्नका खातिर बंगलादेश, नेपाल, श्रीलंका, पाकिस्तान तथा भारतका कामदारहरुलाई भित्रयाएको पाइन्छ । वर्तमान परिपेक्ष्यमा अर्थशास्त्रको नियम तथा क्तबतष्कतष्अब ब्िलबथिकष्क अध्ययनका क्रममा सस्ता तथा विश्वासिलो कामदारहरुको रुपमा नेपालीहरुलाई मन पराएको पनि विशेष सूत्रका अनुसार थाहा हुन आएको छ । नेपालीहरु एक त सोझासीधा अनि काम राम्रोसंग गर्न तत्पर रहने कुरा मेरै डिपार्टमेन्टमा काम गर्ने मेरा सिनियर अव्दुल्ला जाफर वताउँछन् । उनी मेन्टेनेन्स सुपरिटेन्डेन्ट हुन् । उनको भनाइमा हर्ेदा सफासुग्घर देखिने, जेन्टल अनि जुनसुकै काम अह्राउँदा पनि नम्रताका साथ सम्पन्न गर्ने कुरामा जोड दिन चाहन्छन् । “Nepalese are very good in working senser. They are always ready to the job. Till now I have not found any Nepalese who had a bad remarks and their behavior is also quite remarkable.”- Jaafer त्यसैले आजको यस परिवेशमा वंगालीहरु सवैभन्दा सस्ता कामदार, जसको मासिक तलव जम्मा ३०० रियाल भएपनि स्तरियताको आधारमा नेपालीहरुलाई कम्तीमा ५०० रियाल तिर्ने गरेको यथार्थ नेपाल र नेपालीको लागि कम महत्वका कुरा भने होइन । हुन त एकै काम गर्ने भारतीको न्यूतम ७५० रियाल छ । यस विषयमा भारत सरकारको विशेष पहल भएको हुँदा यी कुरा सम्भव भएका हुन् । यदि नेपाल सरकारले पनि आफ्ना कामदारहरुलाई कम्तिमा चाहिने आधारभूत आवश्यकताहरु स्वच्छ मागको साथ साउदी सरकार, एजेण्ट तथा कम्पनीहरुसम्म पुर्याउन सके, स्वच्छ मागहरु पूरा हुने धेरै आधारहरु नेपालीले यहाँ बनाइसकेका छन् । उल्लेखित विषयहरुमा सानो कदम मात्र पनि सरकार, म्यानपावर एजेण्ट, सरकारी तथा गैरसरकारी पक्षहरुबाट भविष्यमा पहल भइ कार्यान्वयन हुन सक्यो भने यो मरुभूमिको डायरी सत्प्रतिशत सफल भएको ठान्ने छु ।