January 2, 2006

Filed under: Article

कवि पृथ्वी शाह

बिहान सबेरै वा साँझपख आफ्ना वास स्थानतिर फर्कदै गरेका साना चराहरुको चिरबिराहट सुन्दा दुःख के हो ? पीडा के हो ? भन्ने नबुझेका तर आफ्नै कल्पनाको संसारमा डुबेर आफ्नै खालका खेलहरुमा आनन्द र उमंगका साथ रम्दै गरेका अबोध शिशुहरुको खुसीको उन्मुक्त स्वर जस्तो लाग्दैन र ? कोइली वा मयूरको को हो, को हो भन्ने बिना अर्थको आवाज सुन्दा त झन गीत गाउँदै गरेकी कुनै कोकिल कण्ठकी धनी षोडसी सुन्दरीको गलाबाट निस्केको सुरिलो राग जस्तो लाग्छ । यी चराचुरुङ्गीहरुको आवाज सुनेर दुःख र पीडाले भारी भएको मानव मनले पनि हल्का महसुस गर्छ ।

मेरो पुरानो घरको नजिक एउटा सरकारी स्कूल थियो । त्यहाँ प्राथमिक तहमा पढ्ने विद्यार्थीहरुले सिएटि क्याट, क्याट माने बिरालो, आरएटि र्‍याट, र्‍याट माने मुसा भनेर लयवद्ध भई अंग्रेजी शव्दको माने घोकिरहेको सुनेर राम्रो बकै नफुटेको मेरो दुधे कान्छो भाईले पनि आफ्नै भाषामा चिं-चिं, चिं माने ‘नारानी’ भनेर लयवद्ध गीत गाउने गरेको म आज पनि झलझली सम्झन्छु । उसले गाउने गरेको गीतको अर्थ के थियो आज उ आफै पनि भन्न सक्तैन र सक्ने पनि छैन । तर जुन गीत गाएर उ आफू पनि आनन्दित हुन्थ्यो र हामीलाई पनि दङ्ग पाथ्र्यो, त्यसलाई शव्दमा व्यक्त गर्न गाहारो छ ।

हामीले देखिरहेका छौं । कवि सम्मेलन वा कविता महोत्सव हुँदा सहभागी कवि कवियत्रीहरु अनेक हाउभाउ, भावभंगिमा र तरङ्गका साथ एउटै शव्द वा एउटै हरफ पनि दोहर्‍याई तेहर्‍याई पाठ गर्छन् तापनि त्यसको मीठासले स्रोताहरु मन्त्रमुग्ध हुन्छन्, खुसीले गदगद हुन्छन् । रस अनुसारको कविताले स्रोतालाई आनन्द पनि दिन्छ, दुःखी पनि बनाउँछ, निरास र हतास पनि बनाउँछ, क्रोध र घृणा पनि जगाउँछ । साहित्यको अर्को विधा कथा र उपन्यासले पनि मानिसको मस्तिष्कमा जवरजस्त प्रभाव पार्दछ । उपन्यास पढेर डन क्विजटको मानसिकतामा कस्तो प्रभाव पारेको थियो, विचारणीय नै छ ।

यो भौतिक संसारका अरु प्राणीहरुसंग प्रकृतिले शुरुमा दिएको आवाज मात्र हुन्छ । बच्चा बेलाको आवाज तीखो र सुरिलो होला, आनन्ददायी पनि होला । ठूलो भए पछि धोद्रे होला, फरक यत्ति हो । तर मानिस त प्रकृतिको उत्कृष्ट सिर्जना हो । उसले आफ्नो लागि आफै पनि आवाजहरु सिर्जना गर्न सक्ने मात्र होइन नबोलिकन लेखेर र त्यसलाई पढेर पनि आफ्ना भावनाका संवेगहरुलाई प्रकट गर्न र तिनलाई अनुभूत गर्न सक्छ । त्यसैले मलाई लाग्छ, प्रत्येक मानिस जन्मैले कवि हो, कथाकार हो, गायक हो, संगीतकार हो । कसैमा त्यो सबैले देख्ने गरी प्रस्फुटित हुन्छ, कसैमा हुन्न । फरक यत्ति हो ।

यो संसारले पृथ्वीनारायण शाहलाई एकजना महात्वाकांक्षी राजा, कुशल सेना नायक, वीर योद्धा र नेपालका विजेताको रुपमा मात्र चिन्दछ । तर उनमा योद्धा, सेना र राजामा हुनु पर्ने गुण जतिसुकै भए पनि आखिर उनी पनि त मानव नै थिए, तर्सथ उनी पनि अरु मानिस जस्तै जन्मैले कवि थिए, कथाकार थिए, गायक थिए, संगीतकार पनि थिए । पाँच दशक मात्र बाँचेका राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अधिकाँश समय सेनाको गठन, युद्ध र राज्य विस्तारमा बिताएकाले उनीभित्रको कथाकार, गायक र संगीतकारले प्रकट हुन पाएन, फरक यति मात्र हो ।

तर उनीभित्रको कवि प्रकट नभई रहन सकेन । अर्थात पृथ्वी नारायण शाह पनि कवि थिए, त्यो पनि नेपाल भाषा अर्थात नेवार भाषाको । सुन्दै अचम्म लाग्छ । तर सत्य यही हो । राजा पृथ्वीनारायण शाहले त्यस बेला नेवारहरुको जीवित आराध्यदेवी र वर्तमानमा सम्पूण बौद्ध तथा हिन्दू नेपालीहरुको समेत आराध्य जीवित देवी कुमारीको स्तुतिमा थ्व जुग जियाओ सालू शीर्षक कविता त्यसबेला देशभाषा, राष्ट्रभाषाको मान्यता पाएको नेपाल भाषामा लेखेका छन् जुन कविता नेपाल संवत १०९३ मा प्रकाशित ‘सितु’ सामयिक पत्रिकामा छापिएको छ ।

खसभाषा बोल्ने राजा पृथ्वीनारायण शाहले किन आफ्नो भाषामा कविता नलेखेर नेपाल भाषामा लेखे ? यो जिज्ञासाको विषय भए पनि आश्चर्यको विषय चाहिं होइन । उनले तत्कालीन नेपाल मण्डल माथि विजय प्राप्त गरिसके पछि पनि राज्यको अभिलेखीकरण कार्य तथा अन्तराष्ट्रिय सम्बन्धका कारण नेपाल भाषालाई तत्काल हटाउन सम्भव थिएन । अर्को कुरा त्यस बेलासम्म खसभाषामा साहित्य सिर्जना गर्ने चलन नै थिएन, गर्न चाहनेलाई पनि संस्कृतका पक्षपातीहरुले गरिखान दिंदैनथे । पृथ्वीनारायण शाहको मृत्यु भएको झण्डै ७५ वर्षपछिसम्म पनि खसभाषामा रामायण तथा अन्य लेख लेखेका कारण भानुभक्त आचार्यले संस्कृतका पण्डितहरुबाट र तिनका प्रभावमा परेका शासकहरुबाट कस्तो किसिमको लान्छना, दुर्व्यवहार तथा बेइज्जती भोग्नु पर्‍यो, त्यो नेपाली साहित्यको इतिहासमा लिपिवद्ध छ ।

नेपाल भाषाका पुराना कवि पृथ्वी शाहको २८४ औं जन्म जयन्तीको उपलक्ष्यमा यो लेख उनकै सम्झनामा श्रद्धा सुमन स्वरुप अर्पण १

महेश्वर श्रेष्ठ
२०६२ पौष १७
ज्वागल, लपु-१०

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/02/prithvi-shah-3/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.