राजनैतिक घटनाक्रम
२०४६ सालमा बहुदलीय प्रजातान्त्रीक व्यवस्थाको पुनर्स्थापना भएपछि २०६१ सालको अन्त्यतिर आइपुग्दा नेपालको राजनीतिले अनेकौं मोडहरू लिइसकेको छ। अत्यन्त पिछडिएका र गरीबीको मारमा रहिआएका लाखौं नेपाली आफ्नो भाग्य बदलिने कुरामा विश्वस्त थिए। राजनीतिक दलहरु पनि संसदीय प्रजातन्त्रतर्फ अभ्यस्त हुंदै थिए। तर अधिकांश जनताले आफ्नो जीवनमा खासै सुधार आएको अनुभव गर्न सकेनन्। केन्द्रमा बेमेलपूर्ण राजनीतिक खिचातानीको क्रम आरम्भ भयो। अनि २०५२ साल फागुन १ गते रोल्पा, रुकुम, सिन्धुली र गोर्खाका प्रहरी चौकीहरुमाथि आक्रमण गरी माओवादी विद्रोहीहरुले जनयुद्वको शुरुवात गरे।
परिणाम स्वरुप ११ हजार भन्दा बढी नेपालीको ज्यान गैसक्यो र अन्य लाखौंको जीवनमा यो द्वन्दले प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर पारिसक्यो। द्वन्दको यो दशकमा रगतको रंग बाहेक अरु सबै रंग फिक्का फिक्का लाग्न थालिसक्यो। एउटा भाइले आफ्नो अर्को भाइलाई भाइकै रुपमा हेर्न छाडिसक्यो।