हजुर
उजाड यो मरुभूमि बीच, मिले पछि तन हजुर
बिना इमेल बिना फोन, किन मान्थ्यो मन हजुर ।
मिल्ने भए भेट्थ्यौं होला, रम्दै हामी गोठालोमा
बालुवाको रेत माथि, कहाँ पाउनु हरियाली हजुर ।
तिज-तिहार द्यौसी-भैलो, रोदीघरको लोकभाका,
कैले फेरि सुन्न पाउनु, पैजनी छन्-छन् हजुर ।
मुटू जल्न शुरु गर्छ, जति जति साँझ ढल्छ,
एकनासले बढ्दै जान्छ, याद झन्-झन् हजुर ।
भन्नेले ठीकै भन्थे, “हातको मैला सुनको थैला”
गाउँ-बेसीको माया जस्तो हुन्न रैछ धन हजुर ।
विकी