January 11, 2006

सुनौलो बिहानीको संकेत

Filed under: Article

समय बडा बलवान छ । यसलाई धकेलेर पछाडि फर्काउन सकिन्न । समयभन्दा अगाडि पनि न कोही जानै सक्छ नत समयभन्दा अगाडि केही गर्नै सकिन्छ । सबैले समय अनुसार चल्नु पर्छ, समय अनुसार गर्नु पर्छ । समयलाई चिन्न र त्यसलाई परिवेश वा परिस्थिति अनुसार सदुपयोग गर्न नजान्ने, नसक्ने वा नगर्नेहरुलाई समयले कहिल्यै पर्खंदैन, जानाजान दुरुपयोग गर्नेहरुलाई कहिल्यै क्षमा पनि गर्दैन । वर्तमान भनेको विगतको उपज हो । त्यसै गरी भविष्य भनेकै वर्तमानको उपज हो । जसले विगतको ठोस अध्ययनको आधारमा वर्तमानको सही विश्लेषण गर्न सक्छ र जसले वर्तमानको सही विश्लेषणको आधारमा भावी परिणतिको परिकल्पना गर्न सक्छ, त्यही व्यक्ति मात्र सही अर्थमा वास्तविक भविष्यद्रष्टा हुन सक्छ र उसबाट मात्र परिवार, समाज र सिंगो देशको नै सही अगुवाई, सही नेतृत्व हुन सक्छ ।

आफूलाई जनताको पक्षधर भन्न रुचाउने नेपालका राजनीतिक शक्तिहरु छिन्नभिन्न भइरहेको, निर्वासित हुन वाध्य भइरहेको बेला ३५/३६ सालमा नेपाली विद्यार्थी र शिक्षकहरुको बलिदानी संर्घष गर्दा निरंकुस शासकहरु जनमत संग्रह घोषणा गर्न वाध्य हुनु पर्‍यो । त्यस बेला आफूलाई प्रजातन्त्र तथा प्रगतिशीलताका हिमायती भन्नेहरुले विगतको ठोस अध्ययनको आधारमा वर्तमानको सही विश्लेषण सहित भविष्यको स्पष्ट खाका कोरेर अगाडि बढेको भए नेपालमा प्रजातन्त्र उहिल्यै आउने थियो । तर तिनले त्यसो गर्न सकेनन् । उनीहरु मध्ये आफूलाई प्रजातन्त्रको मसिहा र पर्याय नै ठान्ने समूहले आफ्नै सहयात्रीहरुको कुरा सुन्नुको बदला जनमत संग्रह संचालन र त्यसको फैसला गर्ने सम्पूर्ण अधिकार निरंकुस शासकहरुलाई नै सुम्पने अडान लिएको हुँदा नेपाली जनताले नाम मात्रको प्रजातन्त्र पाउन पनि अरु दश वर्ष कुर्नु पर्‍यो ।

तर त्यसले समयको गतिलाई रोक्न सक्तैनथ्यो । संसारका निरंकुतन्त्रहरु भकाभक ढल्दै थिए, तानाशाहहरु धमाधम भाग्दै थिए । यसबाट हौसिएका र विगतको मूर्ख्याईंबाट किञ्चित पाठ सिकेका राजनीतिक दलहरुले २०४६ सालमा बहुदलको एक सुत्रीय माग राखी संयुक्त जनआन्दोलनको शंखघोष गरे । त्यस जनआन्दोलनले विगतलाई भोगेका, वर्तमानलाई बुझेका र भविष्यलाई देखेका लौहपुरुष गणेशमान सिंह जस्ता व्यक्तित्वको नेतृत्व पाएको र उनकै सर्वोच्च कमाण्डमा जनआन्दोलन सञ्चालन भएको हुँदा सदियौंदेखि दमित, शोषित तथा उत्पीडित नेपाली जनताले पनि ज्यानको बाजी लगाएर साथ दिए । २०४६ साल फागुन ७ गते शुरु भएको जनआन्दोलन मात्र पचासै दिनमा सफल भई छाड्यो । सोही वर्षो चैत्र २६ गते निरंकुस शासकहरु सिधै बहुदलको घोषणा गर्न वाध्य भए । किनकि त्यही नै समयको माग थियो ।

तर जनतालाई फेरि पनि धोका दिइयो । कसैले समयको चक्रलाई पछाडि धकेल्ने प्रयास गरे, कसैले समयको गतिलाई रोक्ने प्रयत्न गरे, कसैले ४६ साललाई नै ६४ साल बनाउने दुस्साहस गरे । देशमा संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र संसदीय शासन प्रणालीको शुरुवात भएको भनियो । त्यस अनुरुप एउटा संविधान बनेको घोषणा पनि गरियो । तर वास्तवमा त्यो संविधान जनतालाई अझै पनि भेडाबाख्रा बनाउने, उनीहरुलाई दलहरुको भोट बैंक र पिछलग्गु बनाउने नाम मात्रको प्रजातन्त्र दिने एउटा कुरुप दस्तावेज मात्र थियो । त्यही कुरुप दस्तावेजलाई पनि त्यसका निर्माता भनिने दलहरु स्वयम्ले स्याल, ब्वाँसो र हुँडारले सिनोलाई जस्तै चिथोरेर, कोपरेर, टोकेर थिलथिलो बनाएको मौका छोपी संविधानको संरक्षक भन्नेले नै २०५९ साल असोज १८ गते ल्याद्रो र भुत्ला समेत सिंगै जिउ र्सलक्कै निलिदिए ।

समयलाई चिन्नेहरुले समयमा भनेकै थिए । राजालाई सेनाको परमाधिपति बनाएर, उनको सम्पतिलाई राज्यको कल्याणकारी कार्यमा लगाउन समेत छुनै नपाउने गरी अनुलघ्य बनाएर, उनले गर्ने आम्दानीलाई सम्पूर्ण रुपमा कर मुक्त बनाएर, आफ्नो उत्तराधिकारी आफै घोषणा गर्न पाउने निरंकुस अधिकार दिएर, आर्थिक विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न समेत उनको पूर्व स्वीकृति लिनु पर्ने अवस्था राखेर, अनि उनले गर्ने कुनै पनि कामको सम्बन्धमा कसैले कहिं कतै केही बोल्नै नपाउने बन्देज लगाएर राजतन्त्र संवैधानिक हुन्छ ? शोषकहरुको भाषा र धर्मलाई नै राष्ट्रभाषा र राज्यधर्म बनाएर, देशको आधा आकाश ढाक्ने महिला र जनसंख्याको तीन चौथाई भाग ओगट्ने जनजाति तथा दलितहरुलाई दोस्रो दर्जाको नागरिक बनाएर, उनीहरुको भाषा, धर्म र संस्कृतिलाई नष्ट गरेर मुलुकको शासन व्यवस्था प्रजातान्त्रिक हुन्छ ?

व्यक्तिगत रुपले हेर्दा संसारमा जीवन बाहेक सबै चीजको विकल्प छ । सामाजिक रुपले हेर्ने हो भने जीवनको पनि विकल्प छ । व्यक्ति विशेष मर्‍यो भने त्यसको विकल्प हुन्न । तर समाजको कुनै अंग संचालन गर्ने व्यक्ति (पदाधिकारी) वा विधि मर्‍यो भने त्यसको ठाउँ तत्कालै अरुले लिन्छ । शासन व्यवस्था र संविधान भनेको पनि मुलुक संचालनको विधि र त्यस विधिलाई विधिवद्ध गरिएको दस्तावेज मात्र हो । यस शास्वत सत्यलाई असत्य प्रमाणित गर्ने धृष्टता गर्दै समयलाई नचिन्नेहरु वा चिनेर पनि स्वार्थवस नचिनेको जस्तो गर्नेहरु भन्ने गर्थे - “यो शासन व्यवस्था विश्वको उत्कृष्ठ शासन व्यवस्था हो । यसको विकल्प छैन । यो संविधान संसारको उत्कृष्ठ संविधान मध्येको एक हो । यसको विकल्प छैन । जसले यस व्यवस्था र संविधानलाई मान्दैन उ मूर्ख हो, दुष्ट हो, डाँका हो, लुटेरा हो, हत्यारा हो, आतंककारी हो ।” आदि इत्यादि ।

तर समयले कसलाई पो पर्खेको छ र ? आफू सत्तामा पुगेकोमा अन्धा भएकाहरुले वा पुग्न पाउने आसाले जिव्रो लटपर्टाई रहेकाहरुले उल्लेखित शासन व्यवस्था र संविधान मान्दिन भन्नेहरुलाई मूर्ख, दुष्ट, डाँका, लुटेरा, हत्यारा, आतंककारी भनी आरोप लगाउने गर्थे, उनीहरुलाई हतियारकै बलमा नामेट गर्ने उद्देश्यले संकटकाल लागु गरे वा त्यसको र्समर्थक बने, उनीहरु आज तिनै मूर्ख, दुष्ट, डाँका, लुटेरा, हत्यारा, आतंककारीहरुसंग समझदारी गर्न वाध्य भएका छन् । लेनदेनको विवादमा कसैले मागेको सबै कुरा पाउँदैन । समयलाई नचिन्ने वा चिनेर पनि नचिनेको जस्तो गर्नेहरुले उनीहरुकै भाषामा मूर्ख, दुष्ट, डाँका, लुटेरा, हत्यारा, आतंकारी भनिनेहरुले बिद्रोह गर्नु भन्दा पहिले राखेका केही जायज मागहरु मध्ये आधा मात्र पनि पूरा गर्ने आश्वासन दिएको भए देश र देशवासीले आज यो संकट भोग्नु पर्ने थिएन । भोलि के हुन्छ भन्ने सोच्न नसके पछि यस्तै हुन्छ ।

विगतको ठोस अध्ययनको आधारमा वर्तमानको सही विश्लेषण गर्न र ती दुबैको आधारमा भविष्य परिकल्पना गर्न नसक्नु महारोग हो भने परिस्थिति परिपक्व नहुँदै यो वा त्यो गर्छु भन्नु दुस्साहस हो । यस्ता दुस्साहसीहरुले गरेका शुरुका सामाजिक कार्वाहीहरु (भाटे कार्वाहीहरु)ले अपार जन र्समर्थन प्राप्त गर्दै गएको थियो । बहालवाला मन्त्रीहरुले समेत त्यसको प्रशंसा गर्न वाध्य भएका थिए । तर त्यस प्रशंसाबाट हौसिएर हो वा जन र्समर्थनको अति मूल्याङ्कन गरी वाहृय परिस्थिति अत्यन्त प्रतिकुल हुँदा हुँदै गुणात्मक फड्को मार्ने दुस्साहस गर्न पुगे । भाले लागेको फुलबाट चल्ला काढिन्छ भन्ने कुरा ध्रुव सत्य हो । तर आवश्यक तापक्रम नपुगिकन चल्ला काढिन्न । फुलले आफुलाई आवश्यक ताप आफै उत्पन्न गर्न सक्तैन । यसका लागि फुल माथि माउ वा भाले ओथारो बस्नै पर्छ, अथवा त्यसलाई घाम वा इन्कुबेटरमा तापेर आवश्यक ताप दिनै पर्छ । फुल मुख्य कुरा हो, तापक्रम घटी वा बढी हुनु वाहृय परिस्थिति हो ।

मुलुकमा भाले लागेको अण्डा तयार छ । तर त्यसलाई आवश्यक तापक्रम दिन सकिरहेको छैन । अर्थात सामाजिक परिवर्तनका लागि देशको आन्तरिक परिस्थिति परिपक्व छ । तर विश्व परिस्थिति अत्यन्त प्रतिकुल छ । आफ्नै गुरुहरुले प्रथम विश्व युद्धबाट जर्जर भएको जारशाहीलाई उखेलेर समाजवादी क्रान्ति सफल गरेको, दोस्रो विश्व युद्धले लात खाएको क्वमिन्ताङ्गलाई ताइवान टापूमा धपाएर जनवादी क्रान्ति सफल पारेको इतिहासलाई चटक्कै बिर्सेर मुलुकमा जनगणतन्त्र स्थापना गर्ने उद्देश्य लिएर हिंडेकाहरु वाहृय परिस्थिति परिपक्व नहुँदै अर्थात समय भन्दा अगाडि नै क्रान्तिमा हाम फालेका कारण आज आएर निरंकुस राजतन्त्रको अन्त्य (अर्थात संवैधानिक राजतन्त्रको स्थापना) गर्न संविधानसभा निर्वाचनको मागमा ओर्लेका छन् र हिजो संकटकाल लगाएर आफैमाथि गोलाबारुद बर्सा आदेश दिनेहरुसंग समझदारी गर्न पुगेका छन् । के यो समयलाई चिन्न नसक्नु वा चिन्न नचाहनुको भयंकर परिणाम होइन र ?

यी त भए घडीको र्सुइलाई चल्न नदिए पछि समय पनि टक्कै रोकिन्छ अथवा घडीको र्सुइलाई दोब्बर गतिमा घुमाए बाइसौं शताव्दी भोली नै आउँछ भनी ठान्नेहरुका कुरा । हामी कहाँ यस्ता मानिसहरुको एउटा ठूलो जमात पनि छ जो सेतो हात्तीको विशाल बथानको रुपमा अर्ढाई सय वर्षेखि देशमा अड्डा जमाएर बसेको छ । यिनीहरुलाई पाल्न देशले आफ्नो प्राकृतिक तथा मानवीय स्रोतको ठूलो हिस्सा स्वाहा पार्न परिरहेको छ । यिनीहरुलाई यति धेरै भोक लाग्छ कि मौका पाएमा यिनीहरु आफ्नै बाउ-बाजे भाई-भतिजाको मासु खान पनि चुक्दैनन् । प्रजातन्त्रको परिभाषा र संरक्षण गर्ने यिनीहरुको आफ्नै तरिका छ । यिनीहरुका लागि जे गर्दा आफ्नो भुँडी भरिन्छ त्यही नै प्रजातन्त्र हो । २०४६ सालको जनआन्दोलनले ल्याएको प्रजातन्त्रलाई यिनीहरुले ल्याद्रो-भुत्ला सहित सिंगै जिउ एकै गाँसमा र्सलक्कै निलेर झुसिलो डकार डकार्दै त्यसलाई आफ्नो पेटभित्र सुरक्षित राखेको भनी प्रचार गर्न कत्ति पनि लाज मानिरहेका छैनन् ।

यही जमात समयको चक्रलाई उल्टो दिशामा घुमाएर पुरानो ढुङ्गे सत्य युग फर्काउने र आफूलाई नरनारायण सावित गर्ने निर्रथक प्रयासमा लागेका छन् । उनीहरुको त्यो प्रयासले समयलाई पछाडि फर्काउन सक्ने त होइन तर देशको अवस्थालाई भने अवश्यै पनि एघार्‍हौं शताव्दीको अवस्थामा पुर्‍याइदिएको छ । समयको परिवर्तनसंगै भयंकर महावली डाइनोसोरको अस्तित्व त संसारबाट समाप्त भएर गयो भने यी सेता हात्तीहरुको के कुरा गर्नु ? यिनीहरु मात्रै अजर-अमर त होइनन् । यिनीहरुको समाप्ति पनि अवश्यम्भावी छ र परिवर्तनको यो सास्वत नियम पनि हो । जुन जीव जति बढी हिंस्रक हुन्छ त्यसको अस्तित्व पनि त्यतिकै बढी छिटो समाप्त हुने खतरा हुन्छ । यो कुरा प्रकृति संरक्षण कोषका हाकिमहरुलाई थाहा नभएको कसरि भन्ने ?आजकाल यिनीहरुको जुन अस्वाभाविक चहलपहल र फूर्तीफार्ती देखिने गरेको छ, कतै त्यो निभ्ने बेलाको बत्तीको चमक र यिनीहरुबाट शदियौंदेखि शोषित-उत्पीडित-दमितहरुको सुनौलो बिहानीको संकेत त होइन ? समयलाई बुझने चेतना सबैलाई भया ।

-महेश्वर श्रेष्ठ
२००६ जनवरी ९

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/01/11/185/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.