मुस्लिमहरुको ५ दिन लामो वक्रिद विदा र हाम्रो खोवर यात्रा
हरेक वर्षजस्तै यसपाली पनि मुस्लिमहरुको महान् चाड वक्रिद इद एल अदा अस्तिबाट शुरु भयो । सवैलाई अस्ति देखिनै ५ दिन लामो विदा भएको छ । यो वक्रिदमा मुस्लिमहरु मक्का मदिना जुन साउदीभित्र पर्दछ त्यहाँ गएर धर्म कमाउने गर्दछन् । मुस्लिम धर्मको स्थापना पनि यही मक्का मदिनाबाट भएको कुरा मुस्लिमहरु विश्वास गर्दछन् । मक्का मदिनामा लाखौंको संख्यामा श्रद्धालुहरुको भीड लाग्ने गर्दछ । त्यहाँ साउदी अरेवियाबाट मात्र नभएर संसारका धेरै देशहरुबाट भक्तजनहरु आउने गर्दछन् । जसलाई हज यात्रा भनेर चिन्न सकिन्छ ।

यसै क्रममा ५ दिन लामो विदा मनाउँन नेपालीहरु पनि विभिन्न स्थानहरुको भ्रमण तथा मार्केटिङ गर्न लामो यात्रा गर्ने गर्दछन् । हिजो सन् जनवरी १०, २००६ का दिन यिनै सिलसिलामा उधेलियाबाट अरेवियन फालका नेपालीहरु पनि खोवर तथा दमाम टुरका लागि विहान १० वजे भनिएपनि लगभग ११ वजे प्रस्थान गरे । करिव १ घण्टाको लगातार यात्रा पछि मरुभूमिको वीचमा मिनिट्रकलाई चियाको दोकान बनाएर राखिएको स्थानमा वस गएर रोकियो सवै साथीहरु हतार हतार पिसाव फेन आतुर देखिए पहिले त ।
त्यसपछि चियाको लागि त्यस पसलमा छिरे । अरेवियन फालबाट २ वटा ठूला वसहरु भ्रमणको लागि निस्केको थियो । पहिलो वसमा हामी थियौं । केहिवेरपछि अर्को वस पनि त्यही आएर टक्क अडियो । चियापान तथा पानी जुस, स्याण्डवीच साथीहरुले लिए, मैले पनि एक कप चिया पिएँ ।
लगभग २ र्ढाई घण्टाको लामो सफरको यात्रा थियो त्यो त्यसपछि खोवर पुगियो । खोवरमा पुगिसकेपछि साथीहरुको आ आफ्नो झुण्ड बन्यो । कोही दमामतिर ट्याक्सी लिएर लागे कोही वहराइन व्रिजतिर, कोही खोवर सपिङ गर्न तिर हुत्तिए भने हामी करिव १० जनाको झुण्ड भने खोवर कोर्निसको यात्राको लागि अगाडि बढ्न छलफल भयो । खोवर कोर्निस पहिले गएको भएपनि त्यतातिर जाने वाटोको जानकारी हामीलाई थिएन । कृष्ण मचामसीले नजिकै छ भनेर हामी होला त नि भनेर केहि गाडि बढ्यौं । एउटा ट्याक्सी चालकले त्यहाँ होटल मेरिडियन सम्मको एकजनाको २ रियाल भाडा माग्यो । साथीहरुले नजिकै भएको कारण १० जनाको १५ रियाल कुरा छिनियो र टयाक्सीमा चढियो तर डाइभरले हामीले भनेको स्थानमा नलाने, रुट नपरेको भनेपछि हामी सवै टयाक्सीबाट ओर्लिएर मचामसीको दिशानिर्देशमा अगाडि बढ्यौं । त्यति धेरै टाढा त होइन रहेछ । तर उत्तरपश्चिमको गेटबाट छिर्नुपर्नेमा पूर्व दक्षिणबाट समुद्रको छेउछेउ गइएछ ।
समुद्रको छेउमा फोटो खिच्न लागे साथीहरु निलन, दामोदर आदि भने कुमार गुरुङलाई मैले कोनिसको गार्डेनतर्फ जान अनुरोध गरे तर उ उतै व्यस्त रह्यो त्यसपछि युवराज गुरुङलाई लिएर अघि बढे । त्यो ठाउँ वरिपरि पर्खालले घेरेर केहि विशेष ठाउँ बनाएको रहेछ त्यो बारे हामीलाई जानकारी भएन । युवराज र म गफ गर्दै फोटो खिच्दै निकै अगाडि बढ्यौं । त्यहाँ एउटा गेट देखियो गार्ड भने रहेनछ । भित्र ठूल्ठूला जहाजहरु तथा साना वोटहरु पनि थिए । बोट चढ्न पाइन्छ कि भन्ने मनसायले कोही छ कि भन्दै वोलाउँदै हामी भित्र छिर्यौ । एउटा सेकुरिटीले हामीलाई नदेखेको भने होइन तर उसले हामीलाई कुनै सावधानी गराएन, हामीले सम्झयौं कि त्यहाँ कुनै खतरा छैन भन्ने त्यसपछि ढुक्क हुँदै जहाजसंग टाँसिएर फोटो खिच्दै त्यो क्षेत्र जव पार गर्यौं ।
तव हाम्रा साथी खेम पौड्यालले हामीलाई अवगत गरायो कि उहाँहरुलाई पुलिसले समातेछ कारण त्यो एरिया प्रवेश निषेध एरिया रहेछ । हामी त झसंग भयौं तर केहिवेरको डिस्कसन पछि साथीहरुलाई छोडिदिएछन् ।
त्यसपछि साथीहरु दमाम लागेछन् कोही साथी कता, आखिर युवराज र म मात्र भयौं खोवरको कोर्निस यात्रामा । लभभग ३ घण्टाको यात्रा हिडेर गर्यौं कोर्निस यात्रामा । त्यहाँ यति रमाइलो क्षण वितायौं हामीले कि जीवनमा यो यादगार क्षण कदापी विर्सन नसकाैंला । इद को विदा परेकोले धेरै आफ्ना परिवारसंग खोवर कोर्निस यात्रामा आएका थिए । साउदीहरुले परिवारसंग बसेर गार्डेनमा नै सेकुवा वनाएर खाँदै थिए । केहि यमनीका बच्चाहरु प्लाष्टिकका ठूला चंगाहरुलाई प्लाष्टिक कै धागोले उडाउँदै थिए । कतिपय फिलिपिनोहरु टेन्ट नै गाँडेर आफ्ना परिकारहरु आफ्ना इष्टमित्र तथा साथीहरुसंग शेयर गर्दै थिए । कतिले समुद्रमा पिसिङ गर्दै त्यही माछाको परिकार वनाउँदै इन्टरटेन्मेन्ट गर्दै थिएँ । यस्तो लाग्दथ्यो, हामी पनि आफ्ना परिवारसंग त्यहाँ बसेर रमाइला क्षणहरु विताउँदै थियौं तर अफसोच त्यो मेरो केवल दिमागको उपज मात्र थियो त्यै पनि लामो समयपछि मानिसहरुको पारिवारिक भीडमा उभिन पाउँदा निकै खुशीका अनुभवहरु वटुलिरहेको थिएँ । त्यसपछि के थियो र हामीलाई फोटोहरु खिच्दै अगाडि बढ्यौं ।
लभभग ४ वजेतिर त्यहाँबाट दमामसम्म हामी पुग्नुपर्ने थियो कारण युवराजजीको ज्वाइसंग भेट्नु पर्ने फेरि एकजना साथीलाई रु।२०००० हात पारिदिनुपर्ने पैसा उहाँसंगै नै रहेछ । दमामको लागि ट्याक्सी खोज्नु निकै गाह्रो पर्यो, हामीलाई । हामी त्यहाँको लागि नयाँ भएकोले सोध्दै अगाडि बढ्यौं । ट्याक्सीलाई दमाम जाने हो भनेर सोध्दा स्पेशल हो भनेर सोध्यो त्यो के थियो भनेर पहिले त वुझ्न सकिइएन पछि वुझ्दा रिजर्भ जाने हो भनेर सोधेको रहेछ । कति रियाल भनेर सोध्दा ३० रियालको कुरा गर्यो । साथीहरुले अर्थयाएर पठाएका थे त्यहाँबाट दमामको लागि २ रियाल ट्याक्सी भाडा लाग्छ हुन पनि हो यो भन्दा अगाडि चन्द्र पुनसंग जाँदा २ हो कि ३ रियाल तिरिएको थियो । ३० रियाल त तिर्न भएन भनेर अर्को ट्याक्सी खोज्ने चक्कर धेरै बेर यसरी ३०, ३५, २५ रियालका कुराहरु कानले सुन्दै उडाउँदै अगाडि बढ्यौं । अव खुट्टाले शरीरलाई धान्ला जस्तो लागेको थिएन त्यसपछि अव ३५ के ४० नै रियाल परे पनि रिजर्भ लिएर जाने भन्ने मनसाय वनाएर अगाडि बढ्दै थियौ। एउटा वंगाली ट्याक्सीको पर्खाइमा रहेछ । उसंग दमाम लागियो । त्यो ट्याक्सीले ३ रियालमा दमाम पुर्याइदियो । ट्याक्सीको भाडा भने युवराजजीले तिर्नु भएछ । त्यसपछि विहानदेखि हिड्दा हिड्दा लखतरान भइ थाकेको भोक लागेको त वल्ल दमाम पुगेपछि थाहा पाइयो । दमामको सिको विल्डिङतिर हानिएर खाना खान हुत्तिएर जाँदै थियौं बाटैमा साथी मदन खाँडलाई भेटियो ।
त्यसपछि एकछिन त्यतै अल्मलियौं । भोक निकै लागेकोले रोयल रेष्टुरेन्टतिरमा पुगेर टन्न खाना खायौं । खाना निकै स्वादिष्ट थियो । मसिनाको चामल, कालो दाल, गोलभेड को अचार अझ मैले त मटन नखाएर छुयलासँगै मुख मिठ्याउँदै खाना खाएँ । त्यही युवराजको मान्छे पनि भेटियो । कामहरु सल्टयाएर साथीहरुसंगै खोवरसम्म पुगियो । खोवरमा अलिकति सपिङ गर्नुपर्ने थियो तर निकै हतार भइसकेको अनि हाम्रो वस खोवरबाट ८ बजे छुट्ने निश्चित थियो तर्सथ हतार हतार केहि सपिङको लागि एक दुइवटा पसलभित्र छिरियो । खेमनाथले सिडी राइटर खोज्न निकै मेहनत गरे, टि भी पसलभित्र छिरेर, टि भी पसलभित्र केहि सिडी राइटर पाइन्छ होला त । निकै सम्झाउन कोसिस नगरेको पनि होइन मैले । यिनै सिलसिलामा युवराजजीको लागि एउटा डिजीटल क्यामेरा भने खरिद गरियो । आजकल हरेक इलेक्टोनिक सामानको मूल्य निकै गिराओटमा रहेछ त्यही क्यामरा २ महिना अघि निकै मंहगो थियो अहिले निकै सस्तो भएको रहेछ । मैले पनि एउटा मोवाइल लिन कोसिस गरेको थे तर मोवाइलमा सिम टेस्ट गरेको लिएन । उता बस् छुट्छ भनेर कुमार र खेम निस्किए । युवराज र म हतार हतार बसतिर लाग्यौं । कुन वाटो हो पत्ता लाग्न नसकेको झैं लाग्यो, एक त रातको समय अर्कोतर्फहामी नौला त्यो शहरको लागि हरेक गल्ली, सडक र घरहरु अनि लाइटहरु उस्तै देखिदा झुकिनु स्वभाविक नै हो तर अगाडि बढ्दै थियौ । खेमनाथले सेल फोनमा कल गरे हामी त हरायौं कि क्या हो भनेको त सही बाटोमा नै रहेछौं केहिक्षण पछि खेमलाई भेटियो र सँगै वसतर्फ लाग्यौं ।