मुक्ति कि मृत्युको लडाइँ
फासीवादी सामन्ती शाही सत्ताले जनता मार्ने इजाजत राष्ट्रघाती शाही सेनालाई दिन कुनै कसर बाँकी राखेको छैन। मान्छेको सिकार खोज्दै हिँड्ने संसारकै सबैभन्दा निकृष्ट र बर्बर सेनाको कोटीमा नेपालको फासीवादी शाही सेना पर्न आउँछ।
जीर्ण र भ्रष्ट निरंकुश राजतन्त्रको उन्मूलन गर्ने दिशातर्फ अगाडि बढिरहेको छ नेपाल। दासताको बन्धनमा नारकीय जीवन बिताउन बाध्य नेपालीहरू आफ्नो देशको मध्ययुगीन सामन्ती अवशेष उन्मूलन गर्न एकाकार भई मुक्तिको भीषण लडाइँमा निस्केका छन् यतिखेर। युगौंदेखिको दमन र दासताबाट मुक्त हुन वार कि पारको लडाइँमा जुटेका नेपालीका लागि आजको समय इतिहासकै एक कठिन तर अग्रगामी थालनीको समय हो। सारा नेपाली यही उत्तरदायित्वका साथ निरंकुशताविरुद्धको संघर्षमा होमिइरहेका र स्वतन्त्र तथा सार्वभौम गणतन्त्र नेपाल निर्माणको दिशामा अगाडि बढिरहेका छन्।
नेपाली जनताले आफ्नै हातले आजसम्म आफ्नो र आफ्ना सन्ततीको भविष्य कोर्ने संविधान लेख्न पाएकै छैनन्। नेपाल एकीकरण प्रक्रिया सुरु भएपछि नै जात, धर्म, भाषा, वर्ण आदि प्रथालाई वैधानिकता प्रदान गर्दै नेपालको केन्द्रीय सामन्ती सत्ताले आफ्नो अनुकूलको कानून निर्माण गर्दै आएको छ। २०४७ को संविधानले सीमित रूपमा भए पनि जनताका केही मौलिक अधिकारबारे बोल्ने जमर्को गरेको थियो। तर, आज त्यो संविधान राजा ज्ञानेन्द्रले च्यातच्युत पारी हुकुमी शासन सुरु गरेका छन्। यो संविधान नेपाली राजनेताहरूको अदूरदर्शिता तथा सत्ताप्रतिको चरम पदलोलुप प्रवृर्तिको उपजभन्दा अरू केही होइन भन्ने कुरा आज आएर छर्लङ्ग भएको छ। यो तितो सत्य संसदीय प्रणालीको एक दशकको अभ्यासबाट र विशेष गरी जेठ १९ को नारायणहिटी आमहत्याकाण्ड तथा माघ १९ को शाही कूबाट अझ बढी छताछुल्ल हुन पुगेको छ।
संसदीय प्रणालीको अभ्यासको डेढ दशकपछि संसदीय दलका नेताहरूबाट जनताको चाहना तथा आफ्ना तल्ला इकाइका कार्यकर्ताहरूको चर्को विरोधका कारण रोई-कराई आफ्ना विगतका गल्ती सच्याउने प्रयास भएको छ। घुमाई-फिराई जसरी भए पनि नेताहरुले आफ्नो गल्तीप्रतिको पछुतो महसूस गरेकोमा त्यसको स्वागत गर्नुपर्छ। २०४७ को संविधान नेपाली जनतामाथि गरिएको धोकापूर्ण सम्झौताको दस्तावेज हो भनी माओवादीको तत्कालीन संघर्षशील मोर्चा “संयुक्त जन आन्दोलन सहयोग समिति”ले ठहर गरेको थियो। उसो त त्यो समितिद्वारा २०४६ सालको ऐतिहासिक जनआन्दोलनको उत्कर्षमा कांग्रेस, वाममोर्चा र दरबारबीच भएको त्रिपक्षीय सम्झौता नै धोका हो भन्ने सन्देश त्यति बेला नै दिइएको थियो। नभन्दै माओवादीको तत्कालीन बैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालले भने जस्तै संसद् खसीको मासु देखाएर कुकुरको मासु बेच्ने थलोको पर्याय बन्न पुग्यो। जनताबाट उठाइएको करको रकमको दुरुपयोग गर्दै आफ्नै मतदाताविरुद्ध बन्दुक र लाठी बर्साउने सरकारलाई अंकुश लगाउन समेत सकेन जननिर्वाचित संसद्ले। आज त्यही लाठी आफ्नै टाउकोमाथि फर्किंदा संसदवादी पार्टी राजनेताहरूको सुस्त-सुस्त रूपमा भए पनि होस पलाउँदै आउनु सकारात्मक पक्षमात्र नभएर प्रगतिशिल बाटोतर्फ बामे सर्ने असल प्रयासको थालनी मान्नुपर्छ। इतिहाससिद्ध कुरा के हो भने सत्यले सुरुमा कहिल्यै पनि बहुमत बोकेर आएको हुँदैन। बरु बहुमतले सत्यविरुद्ध मृत्युको घन्टी बजाउने गरेको इतिहासका पानामा भेटिन्छन्।
आज नेपालमा जनताको बोल्ने, लेख्ने, स्वतन्त्र रूपमा हिँडडुल गर्ने र शान्तिपूर्ण रूपमा जुलुस सभा तथा विरोध गर्न पाउने लगायतका नैसर्गिक अधिकार हरण गरिएको छ। फासीवादी सामन्ती शाही सत्ताले जनता मार्ने इजाजत राष्ट्रघाती शाही सेनालाई दिन कुनै कसर बाँकी राखेको छैन। मान्छेको सिकार खोज्दै हिँड्ने संसारकै सबैभन्दा निकृष्ट र बर्बर सेनाको कोटीमा नेपालको फासीवादी शाही सेना पर्न आउँछ। जनताको हक र अधिकारका लागि संघर्षमा लागेका मानिसलाई जसले जति बढी मार्न तथा गायब पार्न सक्छ उसलाई बहादुर र बढुवाको तक्मा दिने प्रथाको थालनी पनि गरिएको छ। अदालती र कानुनी प्रक्रियाको झन्झटमा फस्नु छैन शाही सेनालाई। मानिसको प्राण हरण गर्नका लागि ऊसँग पर्याप्त गोलीगठ्ठा मौजुदा छ। अरू थप नरसंहारको लागि हात हतियार र गोलीगठ्ठाको भीषण तयारीमा ऊ लागिपरेको छ।
फासीवादी सत्ताको अन्तिम शक्ति भनेकै गोली र बारुद हो। किनभने उसले जनतामाथि विश्वास गर्दैन र जनतालाई शक्तिको रूपमा पनि स्विकार गर्दैन। राजकीय सत्ताको अत्यधिक दुरुपयोग गरेर भए पनि आफ्नो लुटको सत्ता बचाउनु उसको एक मात्र स्वार्थ हुन्छ। आज नेपालको निरंकुश शाही सत्ताले पनि दिनहुँ उसका हुकुमी काला कानुन ब्यूझाउँदै सत्यलाई झूटो र झूटोलाई सत्य बनाउन जीउ ज्यान छाडेर आफ्ना सारा संयन्त्र दुरुपयोग गरिरहेको छ। दुनियाको अगाडि उसले आफूलाई प्रजातन्त्रको सबैभन्दा ठूलो रक्षक देखाउन नक्कली निर्वाचनको नौटंकी गर्दैछ। कन्चटमा बन्दुक तेर्स्याएर होस् वा मण्डलेहरूको गुण्डागर्दीले तर्साएर होस् आज ऊ जबर्जस्ती निर्वाचनमा आफ्ना भजन मण्डलीहरूको विजयोत्सव मनाउने दिवास्वप्न देखिरहेको छ। निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनै नसक्ने अवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट स्विकार गरिएको वर्तमान परिस्थितिमा पनि ऊ निर्वाचनको ढाल पिट्दै हिँड्न छोडेको छैन्। सशस्त्र विद्रोही माओवादीले चार-चार महिना लामो युद्धविराम गर्दा पनि एकतर्फी युद्ध कायम राखेर वर्तमान फासीवादी सत्ता मानव संहारको आतंक श्रृजना गरेर सत्तामा बस्ने दुस्प्रयासमा छ भन्ने कुरा छर्लङ्ग छैन र?
इतिहासकै यस अत्यन्त संवेदनशील घडीमा आज नेपाली जनता निरंकुशताका हरेक जंजिर तोड्न लडाइँको मैदानमा निस्केका छन्। युगौंदेखिको सामन्तवादको पिल्साइबाट थिल्थिलिएका नेपाली जनताले “मुक्ति वा मृत्यु” भन्ने कसम खाई नेपाली समाजलाई स्वतन्त्र, स्वाभिमानी र सार्वभौम बनाउने महान् यात्राको थालनी गरिसकेका छन्। संसारकै सबैभन्दा निर्धन मुलुकको अभिशापको रूपमा रहेको धनाढ्य तानाशाहको रूपमा चिनिएको नेपाली खुनी, तस्करी र फासीवादी नेपाली सामन्ती सत्तालाई सदाका लागि अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्र स्थापनाको महान् थालनीमा एक सचेत नागरिकको भूमिका निर्वाह गर्न पछि पर्नेहुन्न अब आम नेपालीले।
टि.एन. सापकोटा,
प्रतिक्रया पठाउनुहोसः tn2057@yahoo.com
लेख निकै सटिक लाग्यो ।
धन्यबाद
रियादबाट
Comment by geman — January 13, 2006 @ 7:33 am
Dear Chij,
I’m glad that you liked our articles so you have used them in your blog. Any material published in www.ganatantranepal.org is free to reprint in any media, but please be informed that you mention the source, i.e. Sabhar or Saujanya: ganatantranepal.org E-publication.
Thanks.
सुप्रभात नेपाली
गणतन्त्र नेपाल ई-प्रकाशन
================================
नमस्कार सुप्रभातजी
गणतन्त्र नेपाल इ-पव्लिकेसन निकै सान्दर्भिक र रोचक अनि तथ्यपरक लाग्यो । आउँदा दिनहरुमा पनि यसको निरन्तरता रहनेछ भन्ने ठानेको छु । माथिको लेख समय सान्दर्भिक तथा वर्तमान परिपेक्ष्यमा मेल खाने खालको देखिएकोले यस्तो लेखहरु जानमानसमा पुग्नुपर्ने मेरो सोचाइले गर्दा टप्प टिपेर मैले आफ्नो व्लगमा सजाएको हुँ ।
यस्ता लेखहरुले समाजमा निदाएर बसेकाहरुको लागि निद्रा खोल्ने अमिलो आँपको अचार सिद्ध हुनेछ भन्ने आशा राखेको छु।
सुझावको धन्यवाद ।
चिज कुमार श्रेष्ठ
प्रवासबाट
www.prawaasbat.cjb.net
Comment by Suprabhat Nepali — January 14, 2006 @ 6:49 pm