एक्लेढेँडूको कथा
भएभरका उसका आफन्तलाई एकदिन उसले स्वाहा पार्यो र ऊ दुनियामै एक्लो बन्यो। त्यसैले उसको नामै एक्लेढेँडू रह्यो। आफ्ना बितेका कुरालाई संझेर बुढेसकालमा छातिभरि ऐठान लिएर बस्थ्यो सो बुढो एक्लेढेँडू। उसलाई निद्रा लाग्दैनथ्यो। सुतिहाले भटट र रेटेटे गर्दै घमासान घुर्थ्यो।
विक्रम संबत २०६० को दशकको मध्यतिर, पुस महिनाको एउटा रात। पर हिमालबाट आउने सिरेटोसँगै जाडोको बैँस बढिरहेको छ, ओखरबोटे गाउँमा। वन, पाखा र बारीका कान्ला तुषारोले सेताम्मै भएका छन्। पोथ्राहरूमा किराहरूको किरकिर आवाज, तल बेंसीमा हुचिलको हुहू र वरपरका गाउँमा कुकुरहरूको भ्वाउँ-भ्वाउँ! रातको यो सन्नाटामा आकाशका टिल्पिल तारा अनि टुकी र दियालोको धिपधिपेले छिटपुट उज्यालो बाँडेको छ, ओखरबोटेमा। स्कूल, पिउनेपानी र बिजुली योजना खाओवादीले खाइदिए, टेलिफोनको टावर माओवादीले पड्काइदिए, सडक खन्नेलाई लखेटिदिए, अनि पुलिसचौकी बनाउनेलाई जिउँदै पुरिदिए। ओखरबोटे त्यसै टुहुरा रह्यो।
माओवादीहरू जनयुद्ध चलिरहेको छ भन्थे। ओखरबोटेलीहरू बुझ्दैनथे, जनताका छोराछोरी मार्ने लडाइँ होला भनेर अनुमान गर्थे। माओवादीले यहाँका युवाहरूलाई जबर्जस्ती जनसेना बनाउने गरेकाले र कशाही सेनाले माओवादीमा किन लागिस भन्दै जोसुकैलाई सनकको भरमा गोलिले हानिदिने गरेकाले बचेखुचेका युवाहरू शहर वा विदेशतिर भागिसकेका थिए। त्यसैले यो बिकट गाउँमा खासगरी महिला र केटाकेटी मात्र बस्छन्। सो बस्तीमा त्यस्तै पच्चीस वर्ष जतिकी एउटी आमा र चार वर्षकी छोरी पनि बस्छन्। आमाको नाउँ हो, कान्छीमाया र छोरीको अस्मीता। समय रातको त्यस्तै १० बजेको छ क्यार! कान्छीमायाको हातमा घडी छैन। फुच्ची अस्मीता सुत्न मानिरहेकी छैन। बुबा खोई? बुबा कहिले आउनुहुन्छ? यस्तै कुरा सोधेर ऊ आमालाई सताइरहन्छे। यस्ता प्रश्नले कान्छीमायालाई पोल्नेगर्छ। किनभने उसैलाई थाहा छैन, अस्मीताको बाउ को हो। तथाकथित जनताको रक्षा गर्न आएका सुरक्षाकर्मीहरूको सामूहिक बलात्कारमा परी उसले अस्मीतालाई जन्माएकी थिई। शारीरिक रूपले बाँचे पनि मानसिकरूपले कान्छीमाया अहिलेसम्म विक्षिप्त छे। मर्नुभन्दा बहुलाउनु निको! अरू उपाय नै के छ र, बिचरीको?
कान्छीमाया जस्तै ओखरबोटेका थुप्रै नारीहरू सुरक्षाकर्मी र छापामारहरूको बलात्कार तथा मायाजाल पीडित छन्। रामे, पुण्टे, धने, सुनिता, पवित्रा, कोकिला आदि अस्मीता जस्तै बाउ नभएका बालकहरू हुन् जसलाई समाजले बतासे भनेर गिज्याउँछ। यी नानीहरू बाउको अंश त के, राज्यको नागरिकताको समेत हकवाला होइनन्, नेपाली कानूनअनुसार। बालकलाई भोलिका कर्णधार मान्ने राज्य मौन छ, यिनका लागि।
आफ्नो अस्मीता लुटिँदा जन्मिएकी छोरीको नामै अस्मीता राखेकी थिई, कान्छीमायाले। उसको खास्सा पतिलाई त उहिल्यै माओवादीले समातेर लगी छापामार बनाए, र त्यसको दुई महिनामै महान शहिद घोषणा पनि गरे। त्यसैले छोरीको प्रश्नले कान्छीमायाको सुकेको घाउ बल्झिन्छ। छोरीका प्रश्नदेखि एकातिर उसको कन्पारो तात्तिन्छ, अर्कातिर छातिमा पीडा भरिन्छ। ऊ अस्मीतालाई हकार्छे, “चुप लाग्! यस्तो कुरा मलाई नसोध् अबदेखि।”
तर अबोध अस्मीता झगडा गर्छे, “बाउ बिना म कसरी जन्मिएँ त? बुबाको नाउँ भन्नुभएन भने, म सुत्दैसुत्दिनँ।”
कान्छीमाया छोरीलाई सम्झाउँछे, “ल अब म एउटा कथा सुनाउँछु है त!”
कथा भनेपछि अस्मीता कान ठाडो पार्छे। “हिजो भन्नुभएको डिस्को विक्रमको कथा जस्तै हो?” अस्मीता सोध्छे। उसको ध्यान बल्ल मोडिएला जस्तो छ।
“त्योभन्दा पनि भयानक छ।” कान्छीमायाको कथा भन्ने हौसला फुर्छ।
कान्छीमाया कथा भन्न थाल्छे, “एकादेशमा होइन, यही देशमा एउटा एक्लेढेँडू थियो। भएभरका उसका आफन्तलाई एकदिन उसले स्वाहा पार्यो र ऊ दुनियामै एक्लो बन्यो। त्यसैले उसको नामै एक्लेढेँडू रह्यो। आफ्ना बितेका कुरालाई संझेर बुढेसकालमा छातिभरि ऐठान लिएर बस्थ्यो सो बुढो एक्लेढेँडू। उसलाई निद्रा लाग्दैनथ्यो। सुतिहाले भटट र रेटेटे गर्दै घमासान घुर्थ्यो।…”
कथा सुन्दासुन्दै अस्मीता फुस्स निदाई।
तर, कान्छीमायाको निद्रा लाग्दैन। अस्मीताको निधारमा चुप्पा गरेर ऊ अर्कातर्फ पल्टिन्छे। आमाको मन न हो, अस्मीताको बाउ जोसुकै भए पनि यो अबोध उसैको कोखबाट जन्मिएको हो। त्यसैले ऊ अस्मीतालाई असाध्यै माया गर्छे। मनमा अनेक तनाव भोगिरहे पनि भन्न शुरू गरेको एक्लेढेँडूको कथा कान्छीमायाको मनमा एउटा चलचित्रको फ्ल्यास्ब्याक अर्थात् पृष्ठभूमिको खण्ड झैँ घुमिरहेको छ।
त्यो एक्लेढेँडू सानैमा आमाबिहीन भएको थियो। बाउ भएर पनि बाउबिहीन थियो ऊ। उसको बाउ दुनियालाई उचाल्न र पछार्न तथा सुरा र सुन्दरीको सिकार खेल्नमै व्यस्त भएकोले छोराछोरीको रेखदेख गर्न भ्याउँदैनथ्यो। त्यसैले त्यो बालढेँडूको पालनपोषण धाइआमाहरूको साथमा भएको थियो। के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने उसका बाउआमाले कहिल्यै सिकाएनन्। सिंगाने बच्चा नै भए पनि उसलाई साष्टांग प्रणाम गर्नुपर्ने हुनाले धाइआमाहरू उसलाई अर्ति दिन सक्दैनथे। उचित लालनपालनको अभावमा सो ढेँडू वयस्क हुँदा जंगलीमाथि महाजंगली भएर निस्कियो। त्यसो त उसै ढेँडूको जात, विधिविधान नै कहाँ मान्छ र?
ढेँडूको जातै अर्काको बारीमा पसेर भूँडी दमाहा जत्रै फुल्नेगरी हरियो मकै खाने हो, बाँकी लुछ्लाछ् पारेर भूइँमा सोत्तर बनाइदिने हो। त्यो एक्लेढेँडू त अझ माप्पाको थियो। राति मन्दिरतिर पसेर त्यहाँका पुराना-पुराना मुर्तिहरू उठाएर डाँडो कटाइदिन्थ्यो। भाङ्-धतुराले मात्छ भन्ने ज्ञान पनि थिएन। क्विण्टलका क्विण्टल भाङ्-धतुरा जंगलबाट उखालेर सकेजति खान्थ्यो, नसकेको डाँडो कटाइदिन्थ्यो। सो एक्लेढेँढू खासै बाठो नभए पनि जालझेल चाहिँ खूब जान्दथ्यो। त्यसैले उसका सारा बद्ख्वाइँको दोष जति आफ्नो साख्खै भाइ र आफ्ना भरियाहरूको थाप्लामा हालेर आफू चोखिन खोज्थ्यो।
भाङ्-धतुराले मातेको सो ढेँडूले आफू कसरी नाइके बन्ने भनेर बारम्बार सोच्ने गर्थ्यो। तर ढेँडूवंशीय परम्पराअनुसार नाइके बन्न बथानको सबैभन्दा जेठो र भाले हुनुपर्थ्यो। एकातिर दाजु, अर्कातिर उसका पनि छोरा, उसको पालो अर्को जुनीमा पनि आउनेवाला थिएन। त्यसैले आफ्ना दाजु र भतिजालाई कसरी सिद्धयाउने? ऊ षडयन्त्रको तानाबाना बुन्नथाल्यो।
म्यानिपुलेसन अर्थात् भाँड काम गर्न खप्पीस सो ढेँडूले भतिजो बेलायततिर भएकोबेला उतैका हावादारी सन्ध्याकालीन अखबारहरूमा भतिजो भाङ्-धतुरा खान्छ भनेर खबर छपाएको थियो र यता नेपालतिर पनि यस्तै हल्लाको बिउ छर्यो। तीलको पहाड बनाइने सगरमाथाको देशमा सो हल्ला चैतको डढेलो झैँ फैलियो। र मानिसहरु उसको भतिजो फटाहा रहेछ भनेर भ्रममा परे।
एकदिन दाजु र भतिजा लगायत उनीहरूका सारा साखासन्तान सो भाँडढेँडूले कत्लेआम पार्यो। र, सो ढेँडूले आफ्नो भाँडचरित्र अनुरूप त्यो कत्लेआम भतिजाले भाङ्-धतुरा खाएर गरेको हो भनी दोष उसको नाउँमा खन्यायो। तर दुइखुट्टा टेक्ने मानिस त के, किरा-फट्यांग्राले पनि उसका कुरा पत्याएनन्। एकिदन यस्तै दोष थुपार्नलाई यही ढेँडूले आफ्नै भतिजाका बारेमा उहिल्यैदेखि नानाथरीका हल्ला चलाएको रहेछ भन्ने मानिसले बल्ल बुझे।
कत्लेआम पर्वपपछि सो ढेँडू नाइके भयो। उसै त ढेँडूको जात, मानव जातिसँग नमिल्ने भइहाल्यो। टाउकामा ठाडा-ठाडा पुच्छर भएका मृगस्थलीतिरका बाँदरहरूलाई उसले साथी बनायो। तिनलाई “ढेँडू आऊ, देश बचाऊ” भनेर कराउन सिकायो। उसले जंगलका माउवादी र शहरका खाउबादीलाई उचालेर लडाइँ र लुटपाट मच्चाउन लगायो। पछि देशै बन्दुके र लुटेराहरूको रणमैदान बन्यो। ढेँडूको जात न हो, बिनास देख्दा ऊ आनन्दित हुन्थ्यो।
माउवादीको कथा पनि यो ढेँडूसँग जोडिएको पाउँदा कान्छीमाया झस्किन्छे। ऊ सोच्छे, सो भाँडढेँडू नभइदिएको भए शायद आज ऊ पतिको न्यानोपनमा सुतिरहेकी हुन्थी होली। उसको मन भारी हुन्छ, र आँसु पिलिक्क झार्छे। अनि अर्कातिर फर्किएर अस्मीतालाई अंगालो हाल्छे र उसको सिरक मिलाइदिन्छे। र, फेरि उही ढेँडूको कथा संझिन थाल्छे।
बिजुली र टेलिफोनको तारमा झुण्डिएर चचहुँइ गर्ने सो ढेँडूले २०६२ साल माघ १९ गतेका दिन टेलिफोनको मुख्य सुइच नै फेला पारेछ। जान्नु न तान्नु जथाभावी थिच्थाच् पार्दा टेलिफोनको मुख्य स्वीच नै अफ् गर्नपुगेछ। भाँडढेँडूको चक्चकले सारा जनता अनाहकमा एक साताभन्दा बढी संचारबिहीन हुनुपर्यो।
सो भाँडढेँडूले मुर्ति र भाङ्-धतुरा डाँडो कटाएको र दाजु, भाइ सबैलाई कत्लेआम पारेको समाचार लेख्नेगरेका कारण पत्रकारहरूसँग उसलाई खूब रिस उठेको थियो। त्यसैले सो मुर्ख ढेँडू आफ्नो सेनामेना लिएर अखबार, रेडियो, टीभी र इण्टरनेट प्रकाशन अफिसहरूमा ठाडो पुच्छर पारेर पस्यो र पत्रकारहरूलाई समाचारको स पनि नलेख्नु भनेर खबरदारी गर्यो। राजनीतिक नेताहरूलाई उनीहरूको घर-घरमा थुनिदियो। मानौं, पूरै मुलुक भाँडढेँडूको नाकाबन्दीमा पर्यो अर्थात् देशै ढेँडूकालीन भयो। ऊ दंग पर्यो, “वाह! म त ढेँडूहरूको मात्रै होइन, मान्छेहरूको पनि नाइके भएँ अब।”
यी तमाम काम गर्दाका उसका सहयोगीहरूलाई यो दिउँला र ऊ दिउँला भनेर सपनामा खोले खुवाएको थियो, भाँडढेँडूले। तर, ऊ नाइके भएपछि उल्टै “गर्ने भन्ने ढेँडू, पगरी गुथ्ने हनुमान!” भन्दै आफ्ना सहयोगीहरूलाई लोप्पा खुवायो। अरू कसैको अस्तित्वलाई नमान्ने धोकेबाज ढेँडूको साथ सबैले छाडे। ऊ साथीबिहीन बन्न पुग्यो।
सो भाँडढेँडूको एउटा छोरा थियो, जो भाँडमात्र होइन, ढेँडू वंशकै गाँड भएर निस्कियो। सो भुसतिघ्रे ढेँडूपुत्र कालो र सेतो पदार्थ चाख्थ्यो र उत्तमजति भरिया-तरिया लगाएर विदेश पुर्याएर बेच्थ्यो। जस्तो बाउ, उस्तै छोरा! यस्तै अनेक-अनेक खाएर सडकमा उफ्रिपाफ्री गर्दा एकदिन ट्रकले किचिक्क पारेर उसको चोला उठाइदियो। आफ्नो बुढा र छोराको
ताण्डवनृत्य देख्दादेख्दा भाँडढेँडूकी बुढी बहुलाउन-धतुराउन थाली। कान राम्ररी नसुन्ने मदहोशी ढेँडूनी बुढी एकदिन कता गई कता, फर्केरै आइन। कोही भन्थे, बुढी त कासीतिर गई, कोही भन्थे, होइन बुढी त भेट्नरी हस्पिटलको पागल-वार्डमा लडेकी छे। भाँडढेँडूकी बुहारी बालबच्चा च्यापेर मिथिलाप्रदेश हुँदै भारतप्रदेशितर भागी। एउटा ठूलो ओढारमा बुढो हुँदै गएको भाँडढेँडू अब पूर्णरूपमा एक्लेढेँडूमा परिणत भयो। ऊ नितान्त एक्लो भएपनि आफू अझै महसूर भएको स्वाङ् पार्न घ्वाँक-घ्वाँक गरेर भुक्थ्यो।
यसले साह्रै उत्पात मच्चायो, सिद्धयाउनुपर्छ भनेर लाखौं मानिस भेला भएर एक्लेढेँडूको ओढार घेरे। उनीहरू ओढारभित्र पस्दा इराकी गाउँ टिक्रिटको एउटा किसानको घर भित्रभित्रै बनाइएको बङ्करमा लुकेको सद्धाम हुसेन जस्तै आधि फुलेका दाह्रीले झ्याप्प गाला पुरिएको सो एक्लेढेँडू निसहाय अबस्थामा कुनामा लडिरहेको थियो। उसका पाले-पहरेले पनि छाडिसकेका रहेछन्। ती मानिसले उसलाई पाता कसे, र तैँले लुटेका सारा मालमत्ता कहाँ छन् भनेर सोधे। उसबाट पूरा विवरण लिएपछि ती मानिसले उसलाई खुर्पैखुर्पाले ठुन्क्याए। उसलाई श्री पशुपितनाथले रक्षा गरेनन्, दुबै खुट्टा तनक्क तन्कायो। यसरी समाप्त भयो, एक्लेढेँडूको कथा।
कथा सम्झिसकेर कान्छीमाया लामो सास तान्छे। ऊ कामना गर्छे, “अब यस्तो एक्लेढेँडू कहिल्यै नजन्मियोस् हाम्रो नेपालाँ।”
सुप्रभात नेपाली
nice reading this truth as story. good job
Comment by suman — January 13, 2006 @ 2:37 pm
Dear Chij,
I’m glad that you liked our articles so you have used them in your blog. Any material published in www.ganatantranepal.org is free to reprint in any media, but please be informed that you mention the source, i.e. Sabhar or Saujanya: ganatantranepal.org E-publication.
Thanks.
Suprabhat Nepali
=====================
नमस्कार सुप्रभातजी
गणतन्त्र नेपाल इ-पव्लिकेसन निकै सान्दर्भिक र रोचक अनि तथ्यपरक लाग्यो । आउँदा दिनहरुमा पनि यसको निरन्तरता रहनेछ भन्ने ठानेको छु । माथिको लेख समय सान्दर्भिक तथा वर्तमान परिपेक्ष्यमा मेल खाने खालको देखिएकोले यस्तो लेखहरु जानमानसमा पुग्नुपर्ने मेरो सोचाइले गर्दा टप्प टिपेर मैले आफ्नो व्लगमा सजाएको हुँ ।
यस्ता लेखहरुले समाजमा निदाएर बसेकाहरुको लागि निद्रा खोल्ने अमिलो आँपको अचार सिद्ध हुनेछ भन्ने आशा राखेको छु।
सुझावको धन्यवाद ।
चिज कुमार श्रेष्ठ
प्रवासबाट
Comment by Suprabhat Nepali — January 14, 2006 @ 6:42 pm
आउँदा दिनहरुमा पनि यसको निरन्तरता रहनेछ भन्ने ठानेको छु
Comment by Rajesh Chaudhari. — January 16, 2006 @ 7:54 am