January 23, 2006

म यसरी फर्किएँ

Filed under: Literature

बिदेश जाने रहरले म फेरि यसपटक काठमाडौं पुगेँ । गाउँमा हुँदा रमेश र म अति मिल्ने साथी थियौं । कति मिल्ने साथी भने गाउँका मानिसहरूले हामी दुवैको नामलाई जोडेर एउटै बनाइदिएका थिए । बीस वर्षो उमेरसम्म हामी सँगै खेल्यौं । एकघन्टाको बाटो भएको स्कूल सँगै पाटी बोकेर कुद्यौं । बानी, स्वभाव सबै कुरामा हामी कति नजिक भयौं भने अहिले सोच्दा पनि अचम्म लाग्छ । हाम्रा घरहरू सबै बेग्लाबेग्लै थिए । तर घरी म उसको घरमा घरी ऊ हाम्रो घरमा पालो गरेर सुत्थ्यौं । हामी चार पाँच दिन छुटिन्थ्यौं वर्षमा । हामी दुवैलाई यति छोटो समय छुटिदा पनि लामो लाग्थ्यो । घाँसदाउरादेखि लिएर गाईवस्तु चराउँने काम पनि हामी आपसी सल्लाहले मात्र गथ्यौं ।

हामी यसरी लामो समय छुटिएर बस्नुपर्ला भनेर कसैले पनि सोचेका थिएनौं । रमेश बीस वर्षपुगेपछि अर्थात् दश वर्षअघि काठमाडौं गयो । सुरुका केही वर्षहाम्रो बीचमा पत्रको आदानप्रदान पनि धेरै पटक भयो । पत्रमा हामी हाम्रा आफ्ना मनोभावहरू खुलेर लेख्थ्यौं । दुवैतिरका खानपान, बसउठ र अन्य व्यवहारहरूका बारेमा धक फुकाएर लेख्थ्यौं । हप्ता दिनभित्र उसको चिठी पढ्न पाइन भने मलाई नरमाइलो लाग्थ्यो । उसलाई पनि त्यस्तै लागेको कुरा ऊ मलाई चिठीमा लेख्थ्यो । बीच बीचमा ऊ घरमा आउँदा कुदेर मेरो घरमा आउँथ्यो र घन्टौं ऊ र म सँगै गफ गरेर बिताउँथ्यौं । म पनि घरका काम बिर्सन्थेँ । ऊ काठमाडौं नफर्कुन्जेलसम्म मेरो घरको काम चौपट हुन्थ्यो । बाल्यकालमा घुमेका ठाउँहरू हामीसँगै फेरि घुम्थ्यौं र आफ्ना अतीतका कथाहरू दोहोर्‍याउँथ्यौं ।

धेरै वर्षभइसकेको थियो- रमेशसँग भेट नभएको । चिठीपत्रको आदानप्रदान पनि केही वर्षेखि बन्द जस्तै भइसकेको थियो । पहिले त ऊ कमै मात्र पत्रहरू लेख्थ्यो तर पछि हाम्रो सर्म्पर्क अघि बढाउन मभन्दा ऊ सक्रिय भएको देखिन्थ्यो । पछिल्ला वर्षरूदेखि आफ्ना व्यक्तिगत कुराहरूभन्दा देशका, राजनीतिका खबरहरू उसले पठाउन थाल्यो र मसँग पनि यहाँको चुनावका, मान्छेका सोचाइहरूका बारेमा पत्रमार्फ् सोध्न थाल्यो । कता कता उसका पत्रहरू पढ्न मलाई झन्झट लाग्दै आउन थालेको थियो, तर पनि म रमेशले सोधेका कुराहरूभन्दा व्यक्तिगत हालखबरहरू नै बढी लेखेर पठाउँथेँ । त्यसपछाडि हाम्रो पत्रव्यवहारमा कमी आउन थाल्यो । परारसाल रमेश दशैंमा घर आउँदा हाम्रा पुराना व्यवहारहरूमा धेरै परिवर्तन आएको प्रष्टसँग मैले देख्न पाएँ । मलाई कताकता उसको व्यवहार नौलो लाग्न थाल्यो । म गाउँमा सामान्य खेतीपातीको काम गरेर बस्थेँ । त्यसबेला एकपटक मैले उसँग पैसा कमाउँन विदेश जानुपर्ला भनेर प्रस्ताव राखेको थिएँ, उसले मेरा कुरा मन पराएको थिएन र त्यसबेला भनेको थियो- “अर्काको देशमा गएर पैसा कमाउनुभन्दा आफ्नै देशका बारेमा चिन्ता गर्न सिक्नुपर्छ । तैँले मात्र पैसा कमाएर देशको समस्या हल हुँदैन, तँजस्ता कैयौं युवाहरूका समस्याका बारेमा सोच्नुपर्छ ।”

“पैसा त चाहियो नि”- मैले रमेशलाई सोच्न कर गर्दै भनेँ ।
“पैसाको आवश्यकता कति, सम्पूरण जीवन यसैका लागि लगाउँने - आखिर तेरो सम्पत्ति राम्रोसँग लाउन-खान पुग्ने छँदैछ ।” उसले मसँग प्रतिवाद गर्ने शैलीमा भन्यो । रमेशको कुराले बिदेश गएर पैसा कमाउँने र यहीँ आएर सुखी जीवन बिताउने धेरै पहिलेदेखिको मेरो मीठो कल्पनामाथि पहिलोपल्ट प्रहार भएको मैले महसुस गरेको थिएँ । उसको त्यस भनाइपछि म नराम्ररी रन्थनिएँ । पैसा कमाएर ल्याउँने र त्यसपछि बनाउँने कल्पनाको राम्रो घर मैले मनभित्र बनाएको थिएँ । त्यही योजनाअनुसार मैले आफ्नो केही जग्गाजमिन बेच्ने सोचाइ बनाएको थिएँ । उसको कुराले हाम्रो निकटतालाई टाढा बनाइदिएको कुरामा मैले पहिलोपटक राम्रोसँग अनुभव गरेँ ।

आखिर ऊ पनि सुखी थिएन । शहरको बसाइ, सानोतिनो कमाइबाट जीवन गुजार्नुपर्ने । परिवार त ठीक्कैको थियो । एउटा छोरो, एउटी छोरी, श्रीमती र ऊ । सम्पत्तिको नाउँमा त्यही एउटा सानो तरकारी पसल । उसले नयाँनयाँ साथीहरू थुप्रै बनाएछ । त्यही एउटा सानो कोठामा पनि मानिसहरू आइरहन्छन् तर किन ऊ विदेश गएर पैसा कमाउँने कुराप्रति घृणा गर्छ । मैले उसको सोचाइका बारेमा बुझनै सकिन । म पनि उसकै सहारामा काठमाडौं शहर आइपुगेको छु । यस शहरमा मैले चिनेका मानिसहरू त अरू पनि छन् । कति मानिसहरू निकै सम्पन्न पनि छन् । केहीको अभाव छैन । कति त मेरा मावलीतिरका नातेदारहरू पनि छन् । फुपूको छोरो पनि यतै बस्छ । जागिर राम्रो छ । भाउजू पनि जागिरे । एउटा फ्ल्याटै लिएर बसेको छ । दुइ तीन ठाउँ घडेरी पनि किनेको छ भन्ने सुनेको छँु । कतिपटक उनीहरू कहाँ आश्रय लिन म गएको छु । तर किन किन उनीहरूसँग बस्दा आफन्त बोध हुनै सकेन मलाई । सम्पत्ति कमाएको तुजुक, घमन्ड, महत्वाकांक्षा आदिको नमिठो दुर्गन्ध कोठाभरि फैलिएको हुन्थ्यो । मलाई त्यो कुरा मनै पर्दैनथ्यो । उनीहरूको प्रगतिको कुरामा म सहमत थिएँ । तर जतिबेलै जहाँकहीँ सम्पत्तिकै चर्चा र गहनाको बखान सुन्दासुन्दा दिक्क लाग्न थाल्यो । तर रमेश त्यस्तो छैन । उसको कोठामा आडम्बरको कुनै पनि दुर्गन्ध पस्न पाउँदैन । उसको परिवारमा सम्पत्तिको तिर्खा कुनै कुरामा पनि देखिदैन । रमेशको कोठामा पराइको व्यवहार मैले कहिल्यै पनि महसुस गर्नुपरेन । तर ऊ मैले विदेश गएर पैसा कमाउँने कुरामा कहिल्यै पनि सहमत भएन । त्यही कामले म गाउँबाट काठमाडौं आएको थिएँ । आधाजसो जग्गा पनि बेचेर आएको थिएँ तर अरब गएर पैसा कमाउँन उसले मलाई कहिल्यै पनि सल्लाह दिएन र सहयोग पनि गरेन । धेरै पहिलेदेखिको मेरो यो योजना बदल्न पनि मलाई सजिलो थिएन । त्यसबाट मैले भविष्यको सुन्दर योजनाका नक्सा कोरेको थिएँ । रमेशले मलाई विदेश गएर दुःख पाउँने मानिसहरूले भोगेका कथाव्यथाहरू लेखिएका सामग्रीहरू ल्याएर दिन्थ्यो । हाम्रै गाउँमा के गर्दा बढी उत्पादन गर्न सकिएला भनेर मसँग छलफल गर्न खोज्थ्यो तर यस्ता कुराहरूप्रति मलाई त्यति धेरै रुचि थिएन । म अर्कै सपना बोकेर शहर आएको मान्छे । त्यतिका वर्षेखि मनभित्र बनाएको भविष्यको घर भत्काउँन म पनि कसरी सक्थेँ र । ऊ जति जति मलाई सम्झाउँन खोज्थ्यो, त्यति त्यति ऊबाट म टाढा हुन चाहन्थेँ । तर ऊ मलाई असाध्यै प्रेम गरिरहेको छ भन्ने कुरालाई पनि म सँगसँगै बुझिरहेको थिएँ । ऊ अध्ययनशील थियो, तार्किक थियो । ऊसँग छलफल र तर्कमा म जहिले पनि आफूलाई कमजोर महसुस गर्थें । सँगै खेलेर हर्ुर्केको हुनाले उसको बौद्धिक क्षमतामा भएको विकास देखेर मभित्र कताकता हीनताभासको संकेत मैले पाउन थालेँ ।

जब मैले आफ्नो काम अघि बढाउँन मेनपावर कम्पनीहरूको नजिक पुग्न थालें, रमेशसँगको भेटघाटलाई कम गर्ने सोचाइ पनि बनाएँ । म गाउँबाट आएर काठमाडौं बसेका अरू मानिसहरूका कोठाहरूमा बढी बस्न थालें । उसले शायद यो कुरा बुझेछ क्यारे, “तैले यहाँ बस्न अप्ठ्यारो नमान्दा राम्रो हुन्छ” सम्म भन्यो । म आउँने जाने गरिरहन्छु भनेर प्रत्युत्तर दिएको थिएँ मैले । एकदिन उसले मलाई कोठामा बोलोयो । उसले मलाई बोलाएकै समयमा त्यहाँ अरू तीनचार जना मानिसहरूलाई पनि बोलाएको रहेछ । ती सबै मानिसहरू कामका लागि विदेश गएर दुःख पाएर फर्केका थिए । आफू कसरी कसरी ठगियौं भनेर आफ्ना अनुभवहरू मलाई सुनाउँन उनीहरूलाई त्यहाँ बोलाएको रहेछ उसले । उनीहरूका कुरा सुनेर म एकपटक त छाँगाबाटै पो खसें । उनीहरूको कुरा अनुसार त हामीलाई त्यहाँ मान्छेजस्तो व्यवहार नै गरिँदो रहेनछ । त्यहाँ भएकामध्ये एकजनाले मलेशियामा भेडा चराउँने काम पाएको रहेछ । अर्कोले होटेलमा तरकारी काट्ने । अर्कोले घर बनाउने ठाउँमा कुल्ली काम । त्यस्तै अर्की एकजना मायादेवी नाम गरेकी महिला पनि थिइन् । उनको कहालीलाग्दो कथा सुनेर त मैले आँसु नै झारें तर त्यहाँ कसैले नदेख्ने गरी पुछें । मायादेवी काम गर्ने घरमा केटाहरूले प्रत्येक दिन उसलाई बलात्कार गर्दा रहेछन् । प्रतिकार गर्दा शरीरका विभिन्न भागमा बेस्सरी पिटिँदोरहेछ । उनले टाउकामा थुप्रै खतहरू देखाइन् । कपाल खौरिएर बर्ुका लगाउनुपर्ने र त्यसो नगरे पाइने यातनाहरू सुन्दा मुटु नै चिसो भयो मेरो । पहाडमा भएको घरजग्गा बेचेर गएको प्रेमबहादुर पनि छ महिनामा फर्किएको रहेछ । उसको ठेकेदारले रिसको झोंकमा बनाउँदै गरेको घरको माथिल्लो तलाबाट खसालिदिएछ । विचरा दुइ तीन तलामाथिबाट खसेर पनि बाँचेछ घाइते भएर । अस्पतालमा आफूले अलिअलि बचाएर राखेको पैसा खर्च गरेर सिध्याएछ । डाक्टरले छातीमा समस्या छ, केही महिना आराम गर्नु भनेपछि साथीहरूसँग चन्दा बटुलेर फर्केछ । धनकुमार भेडो चराउँन जाँदा एउटा भेडा विरामी भएर मरेछ । साहूले त्यस वापत् उसले जोगाएर राखेको पैसा सबै तिराएछ । विचरा त्यहाँ उपस्थित अर्को साथीको त सबै पैसा दलालले खाइदिएछ । ऊ पनि घर जान नसकेर यतैतिर मजदूरी गरेर बसेको रहेछ । कति माया गर्दै ती सबैले तपाईं त अरब नजानुस् है भनेर मलाई पटकपटक भने । त्यसपछि मैले आफ्नो मनभित्र नजाने निर्ण्र्ाा लिन कुनै अबेर गर्दै गरिन । त्यतिका पैसा खर्च गरेर जानुभन्दा त्यही पैसा, त्यही परिश्रम यहाँ लगाउँदा कति राम्रो हुन्थ्यो भनेर उनीहरू आफ्नो विगतलाई धिक्कारिरहेका थिए ।

उनीहरूको अनुभव सुन्दा त हामी त्यहाँ मान्छेले जोत्ने गोरुको मूल्यमा किनिएका रहेछ । उनीहरूको कुराले म साँच्चै पीडित भएँ । अर्थात् मैले मनभित्र कल्पना गरेको भविष्यको घर नराम्ररी चर्मरायो । प्रतिक्रियाहीन भएर मैले त्यहाँ उनीहरूको कुरा सुनिरहें । उनीहरू बाटो लागिसकेपछि म उसका अगाडि सावित भएको अपराधीको मानसिकता बोकेर बसिरहें । म उसलाई मेरो मनको कुरा राम्ररी भन्न चाहन्थें तर सकिरहेको थिइनँ । मनको कुरा भन्न कताबाट सुरु गरौं आफैं पनि अस्पष्ट थिएँ । म चुपचाप उसको अघिल्तिर मुख रातो पारेर बसिरहें । “नरेश, अलि राम्ररी सोचेर काम गर ।” एकसुरमा बसिरहेको बेलामा उसले कोठाभित्र छिर्दै भनेको सुन्दा म झसङ्ग पनि भएँ । मैले उसलाई कुनै उत्तर दिइन । “तैंले बिदेशमा गएर काम गर्ने कुरालाई जति सहज देखेको छस्, त्यो पटक्कै होइन । यसै कारणले तँलाई वास्तविकता बुझाउँन उनीहरूलाई बोलाएको हुँ ।” ऊ मतिर नफर्की एकोहोरो भन्दै गयो । यो त उसको स्वभाव पनि हो । पहिलेदेखि नै अरूसँग आँखा नजुधाई ऊ कुरा गथ्र्यो । ऊ अझै पनि त्यसैगरी कुरा गरिरहेको छ ।

मैले त्यतिबेलासम्ममा काम गर्न अरबतिर नजाने निर्णय गरिसकेको थिएँ तर यो कुरा रमेशलाई मैले कसरी सुनाउँन मलाई थाहा थियो, मेरो निर्णय सुनेर ऊ खुशी हुनेछ । आखिर रमेश पनि त विदेशमा काम गर्न गएको थिएन । यी सब कुराहरू उसलाई कसरी थाहा भयो ? म यो प्रश्नलाई आफैंभित्र खेलाइरहेको थिएँ । रमेशलाई म नजाने निर्णय सुनाउँन मलाई केही कुराले रोकेको छ । तर केले रोकेको छ, त्यो कुरो मलाई नै थाहा छैन । अत्यन्त अन्तरङ्ग साथीको रूपमा ऊ मलाई दिनहुँ सम्झाइरहेको छ । तेरो सोचाइ गलत हो भनेर आज बिहानसम्म ऊसँग मैले कडा प्रतिवाद गरेको छु । त्यति लामो समयदेखि बनाएको योजनाको घर भत्काउने निर्णयले मभित्र हुण्डरी चलिरहेको थियो । “मैले नजाने निर्णय गरे ।”अत्यन्त अप्ठ्यारो मान्दै मैले यो निर्णय उसलाई सुनाएँ । मेरो निर्णयले रमेश खुशी भयो कि भएन, उसको अनुहार पढेर मैले केही पनि बुझन सकिन । उसको दृष्टिकोणको कारण म विदेश नजाने निरणयले ऊ खुशी भएको हुनुपर्छ भन्ने मैले ठानें । घरमा भएको आधाआधी जग्गा बेचेर आएको हुनाले मैले जीवननिर्वाहको अन्य उपाय पनि सोच्नु जरूरी थियो । मेरो यो अवस्थाका बारेमा रमेश परिचित नहुने कुरै थिएन ।

“म भोलि नै घर जान्छु र विदेश नजाने निरणय सबैलाई सुनाएर आउँछु ।” म उसँग यस कुराको प्रतिक्रिया लिन चाहन्थें ।
“ठीकै छ तँ सुनाएर आइज, तैंले अब के काम गर्दा राम्रो हुन्छ सँगै बसेर सोचौंला ।” अत्यन्तै सहानुभूतिपूर्वक उसले मलाई ढाडस दिँदै भन्यो र आफ्नो काम छ भनेर बाहिर लाग्यो ।

आजको घटनाको म जसरी र जुन निर्णयमा पुग्दैछु, पहिले मैले यसको कल्पनासम्म गरेको थिइनँ । भोलि घर जाने तयारीका लागि म किनमेल गर्न बजारतिर जाने निर्णय गरेर त्यहाँबाट विदा मागेर बाहिर निस्किएँ ।

मातृका पोखरेल

सजायँ

Filed under: Literature

घरमा व्याप्त रहस्यमय वातावरण । सिउँडीको काँडा जस्तो हरेकको नजर । सबै जना सङ्केतको भरमा चल्ने यन्त्रमानव जस्ता । अन्यौलग्रस्त मनोदशामा म । कहिले सम्भावित भवितव्य, कहिले सम्भावित उद्वेग र कहिले सम्भावित मानसिक प्रहारको आशङ्कामा हरेक मिहीन ध्वनिले संत्रस्त छु । एउटा अदृश्य पीडाबोधले विचलित छु । देशमा व्याप्त मानवसंवेदनारहित मान्छेका जमातहरूमा यो घरका सदस्यहरू पनि अछूता छन् जस्तो लाग्न छाडेको धेरै भैसक्यो मलाई ।
“आठ वर्षभै सक्यो सुनिल तेरो विवाह भएको । खै ! बुहारीले एउटा सन्तानको जायजन्म गर्न सकिन । कति रुङ्नु ? यो बूढेसकालमा एउटा नाति खेलाएर पुण्य कमाउँन नि सकिएन - अब त यसो बिचार गर्नु पर्ला है ।” सासूको यो आवाज मैले बिहान आमाछोरा चिया पिउँदाको समयमा सुनेकी । मनभित्र काँचको कचौरा चकनाचूर भए जस्तो भयो । कान थापिरहेँ पर्दाको आडमा बसेर । छोराको जवाफ नआएपछि सासूले फेरि आफ्नो कुरा अगाडि बढाइन् ।
“किन नबोलेको छोरा - केही त बोल् । अब हामीले यस्तो सोच्ने बेला आइसकेको छ । तेरो अर्को विवाह गर्दा बुहारीमाथि अन्याय हुँदैन अब । त्यत्रो औषधी गर्‍यौँ । योतिष, वैद्य लगायौँ । कहाँ कहाँ पुर्‍याएनौँ उसलाई उपचार गराउँन । तर पनि जायजन्म भएन । के गर्नु बाबै ! निःसन्तान बन्नु पनि त भएन । यसो बुहारीसँग कुरा उठाइ हेर् न ।”
उनको जवाफ सुन्ने व्यग्रता मलाई । विश्वास र अविश्वासको दोसाँधमा अल्भिmएको मेरो उत्सुकता । उनी धेरै बेरसम्म घोरिए । मुहारमा अनेकौं उतार चढाव आए गए । सम्भवतः उनी साह्रै धर्मसङ्कटमा परेका होलान् । आमाको सत्य कुरालाई लत्याउँन पनि सक्दैनन् । र अर्को विवाहको स्वीकृति दिएर मेरो जीवनमा बज्रपात गर्न पनि चाहँदैनन् । अत्यधिक दुविधामा परेपछि मानिसको बोली नै हराउँनु स्वभाविक नै हुन्छ । पटक पटकका आफ्ना कुरा र प्रश्नको छोराले कुनै उत्तर नदिँदा सासू दिक्क मान्छिन् ।
“लाटो भइस् कि क्या हो ? मैले मेरो स्वास्नी त्याग् भनेकी होइन । मात्र अर्की ल्याएर सन्तान जन्मा भनेकी । एकमा दुइ नल्याउने को छ ? फेरि यहाँ त हामीले बुहारीमाथि कुबिचार राखेर यस्तो सोचेका पनि होइनौँ । सन्तान उसलाई पनि चाहियो भविष्यका लागि । के गर्नु त उसको रूप शीलस्वभाव मात्र हेरेर भएन । माया त लाग्छ नि उसलाई सौता हालिदिन । सौता भनेको बिझाउँने काँडा हो आइमाइका लागि । तर उसमा सुझबुझ प्रसस्त भएकोले अर्की ल्याउँदा पनि मिलेर नै घर सम्हाल्ली भन्ने विश्वास छ मलाई । भन् तँ के भन्छस् -” सासूले छोरालाई केरिन् । सासूको अभिव्यक्ति, मप्रतिको सहानुभूति र सन्तानको लालसा । यो सब सोचेर म आफूलाई कति लाचार विवश पाउँछु । किन बाँझो भयो मभित्रको भूमि - मात्र एउटा सन्तान दिन सकेकी भए, मेरो यो सानो सुखी परिवार र घर आज र्स्वर्ग हुन्थ्यो । यो र्स्वर्गलाई सिङ्गार्ने परी हुन्थें म । तर के गर्नु मनले नहुँदो रहेछ । कुनै कुनै काम गर्न सक्षम तनको जरुरत हुँदो रहेछ । नारी भएर एउटा सन्तान नजन्माएर नारीत्वको र्सार्थकतालाई मूतरूप दिन नसक्ने, मेरो यो सुन्दर काया कति निर्रथक छ । कति बेकम्मा छ । मेरो यो स्वस्थ्य तनभित्र कुन त्यस्तो अस्वस्थ्यपन लुकेको छ जसको केही उपचार गर्न सकिँदैन ।
‘मुमा ! हजुरको इच्छा, चाहना, रहर म बुझछु । के गरौं सन्तान हुन सकेन । अर्की ल्याउँदा पनि होला नहोला । एउटा म्यानमा दुइवटा तरवार अटाउँन गाह्रो हुन्छ मुमा । म एउटा मान्छे, दुइ नाउमा पाउ हाल्दा म लड्न सक्छु । डुब्न सक्छु । मेरो मन मान्दैन यसो गर्न । मलाई डर लाग्छ । हाम्रो यो कार्य गलत सिद्घ भएर कतै कोलाहलपूण वातावरण नभित्रियोस् । मुमा, अर्की विवाह गरेर सन्तानै भएपनि सौता हालिएकी सुमित्राको निराशाजनक मुहारले के यो घर उज्यालो हुन सक्छ - कस्तो अप्ठ्यारो स्थिति हो यो !” उनको अभिव्यक्तिले म थरथर काम्छु । आशा अनुरूपको जवाफ पाइन मैले ।
तँ पीर नगर् केही हुँदैन । सुमित्रा अबुझ छैन नि । आफूबाट सन्तान नभएपछि कुल नै निःसन्तान होस् त ऊ पनि भन्दिन होला र भन्न पनि मिल्दैन । सौतालाई आफ्नी बहिनी र उसका सन्तानलाई आफ्नै सन्तान ठानेर असल व्यवहार गरेपछि नराम्रो हुँदैन उसलाई । तँलाई भन्न अप्ठ्यारो लाग्छ भने म सम्झाउँछु । तँ चुप् लागेर बस् । अब ढिलो गर्नु हुँदैन । मैले पुरोहितसँग सल्लाह गर्दा, तेरो चिनामा अर्कीबाट सन्तान हुने कुरा गरेका छन् उनले । दुइ चार ठाउँमा केटी पनि हेरेका छन् । तँ ढुक्क भएर बस्, तैंले सोचेजस्तो अप्ठ्यारो केही हुँदैन ।” सासू यति परसम्म पुगिसकिछन् - म खङग्रङ्ग भएँ ।
“हुन्छ मुमा, हजुर जे भन्नुहुन्छ । म सुमित्रासँग यो कुरा गर्न सक्दिन । हजुर नै सम्झाउँनु होला उसलाई । उसको पनि मन नदुखोस् मुमा बिन्ती छ ।” यत्रो बज्रपात ममाथि । ममाथि सौतेनी काँडा रोपेर मलाई घाइते नबनोस् भन्ने चाहना गर्छन् मेरा उनी । मैले अब उनलाई सौतासँग बाँडेर भोग्नु पर्ने भयो । कस्तो दुभाग्य - चाहेर पनि अब म सौताको मारबाट बच्न सक्दिन । मसँग सौता रोक्ने अस्त्र सन्तान नै छैन । मेरो मनमा अनेक तर्कवितर्क रुमलिन थाल्यो ।
खुल्ला आँखाले म दिउँसै कोठामा खालि भित्तामा रंगीन चित्रहरू सल्बलाएको कुनै चलचित्रको दृश्य देख्न थालें । उनी कान्छीसँग हातमा हात गाँसेर गफिरहेका छन् । आवश्यकता भन्दा बढी नै कान्छीलाई मुसार्दैछन् उनी । म दुवैलाई चिया पुर्‍याउँन जान्छु । कुबेलामा आइपुगेको पाहुनाले जस्तो उपेक्षित दृष्टि पाउँछु ।
दुवै खाटमाथि छन् । म फ्याँकिए जस्तो खाटमुनि ढल्केकी छु । न्रि्रा पटक्कै छैन आँखामा । पहिले भए एकछिन तल ढल्कँदा, चिसो लाग्छ बिरामी पछ्र्यौ भनेर बोक्न आइपुग्थे उनी । आज मेरो केही वास्ता छैन । कान्छीलाई अंगालामा बेरेर उत्ताउलो बनिरहेका उनी मलाई फर्केर हेदैनन् । कति छिल्लिन सकेका - न्रि्रा पनि लाग्दैन कि कसो यिनीहरूलाई ? जुरुक्क उठेर उनलाई आफूतिर फर्काउँछु तानेर । आँखामा स्नेह होइन रोष पो देख्छु । हातखुट्टा प्रचण्ड घामले ओइलाएको कलिलो हागाझै लल्याकलुलुक हुन्छन् । आफ्नो शरीरमाथि परेको मेरो हात निर्दयतापूवक पन्छाएर कान्छीसँग र्सप बेरिएजस्तै बेरिन्छन् उनी ।
घरमा पूजा भैरहेछ भव्य । आमन्त्रितहरू धेरै छन् । सासू, उनी र कान्छी पूजामा व्यस्त छन् । मलाई पूजामा बस्न आऊसम्म कसैले भनेनन् । म घरमा काम गर्ने कमारी जस्तै काममा दलिइरहेछु । आमन्त्रितहरू मलाई हेर्दै के के खासखुस गर्छन् । मुसुमुसु हाँस्छन् । म एक निरीह नजर उनीहरू तर्फसोझयाउँछु । उनी कान्छीसँग हातमा हात, आँखामा आँखा जुधाएर अर्घ दिँदैछन् सन्तान प्राप्तिको लागि ।
कान्छीले छोरो जन्माएको पनि एघार दिन भयो । आज न्वारान । धूमधामसँग न्वारन गरिँदैछ । कान्छी सुत्केरी भएदेखि मलाई एकछिन सास फेर्ने पनि फुर्सद छैन । तै पनि सन्तुष्ट छु । नातिको स्याहार पुग्दैन भनेर कान्छीसँग सासू सुत्छिन् । उनलाई अहिले मेरो खाँचो छ । मैले उनको मीठो नभएपनि साथ चाहिँ पाएकी छु । अचम्मको हुँदोरहेछ यो मन पनि । अस्ति अस्ति गर्ने रुक्खो उपेक्षापूण व्यवहारले गर्दा त जीवनमा कुनै दिन मेरो साथ खोजे म कदापि उनको इच्छालाईसाथ दिन्न भन्ने लाग्थ्यो । तर खै ! कहाँ यस्तो हुन सक्थ्यो र ? उनले आँखामा आफ्नो माग गरेर पाखुरा समाती तान्नासाथ मन पग्ल्यो । पुराना कुराहरू बिर्सिएर उनीप्रति समर्पित भएँ । मेरो यो र्समर्पणको सुइँको कान्छीलाई छ । ऊ मसँग त्यसैत्यसै आगो भै रहन्छे । मेरा हरेक कुरामा मलाई दोष लगाएर अरूको नजरमा गिराउँन चाहन्छे । आज त हद गरी । खाना लगेको मीठो भएन भनेर मलाई नै खन्याइदिई । मेरो बाँझो हातले छोएर छोरो बिरामी भयो समेत् भनी । मलाई मान्छेको अगाडि मरेतुल्य लाज भयो । म केही बोल्न नसकी जुठो खाना शरीरभरि लिएर काँम्दै उभिइरहेँ ।
उप\m पसिनै पसिनाले म त न्रि्रुक्क भएछु । के साह्रो भयानक कल्पना आएको - साँच्चै नै अर्की आएपछि मेरो स्थिति यो घरमा त्यस्तो दयनीय नै हुन्छ त - उनी जो मलाई सौता हालेर पनि दुःख नहोस् भन्ने चाहन्छन्, त्यति साह्रो कठोर बन्लान् त - बिचरा उनी पनि के गरून् ? मेरो माया र आमाको लालसाको दोसाँधमा पिल्सिएका छन् । किन भएन भगवान् ! मबाट सन्तान - जहाँ गयो हुन्छ नै भन्छन् । के भूल भयो मबाट र यो सजायँ भोगिरहेछु ? के पाप गरेकी छु मैले ? कसलाई रुवाएकी छु मैले र यो सब भोग्नु परेको छ ? किन रित्तो मेरो काख ? किन हलुंगो मेरो कोख ? किन रुक्खो मेरो छाती ? किन किन किन?
म तर्सन्छु । रुँदै घोप्टिएको सिरानीमा नै म देख्छु मन्दमन्द मुस्कुराइरहेकी मेरी कान्छी भाउजु जो विधवा छिन्, दुइ सन्तानकी आमा । उनको त्यो मुस्कानले मलाई देख्नुभो त नानी - भनिरहेझैँ लाग्छ । झन् तर्सन्छु म, जति म तर्सन्छु उति गहिरो बन्दै जाँदैछ उनको मुस्कान । म त्यो मुस्कानबाट भाग्दैछु तर मलाई पछ्याइरहेछ, पछ्याइरहेछ ।
“कस्ती नराम्री काली, रोगी, पिण्ड छ्याः यस्ती सन्तानकी आमा बन्नु भन्दा त निसन्तान हुनु राम्रो ।” विगतको आफ्नै आवाज कानमा बज्रन्छ मेरो । हेर न, हेर्दै साँपै जस्ती यो हिड्छे ।” उपहासपूण बेमौकाको बेकामे आफ्नै हाँसो कानभरि । “कति रुन सकेकी ? दहमा भ्यागुता कराएभन्दा कस्तो नमीठो आवाज । यसको त गला पनि कस्तो नसुकेको - मान्छे भने फिस्टो जस्ती गर्जन भने बाघको जस्तो । कति अमिल्दो मिसावट । चुप लाउँनु नि आफ्नी छोरीलाई, कतै यो हात त्यसको घाटीसम्म नपुगोस् ।” यो भयानक रहस्य बोकेको आफ्नै आवाजले मेरो घाँटी अँठ्याएको छ बेस्सरी । “लु ! यसलाई यही सुहाउँछ । यही सुहाउँछ । यही लगाउँन लायककी छे यो । राम्रो लुगा लगाई भने त जोकर बन्छे यो ।” घृणाका यस्ता शब्द मैले नै ओकलेथेँ त्यसबेला ।
यी सब अभिव्यक्ति आज भन्दा एक दशक अगाडिका हुन् । मेरा यी हरेक अभिव्यक्तिका पछि भाउजूका आँखाबाट व्यथा र वेदनाका आँसु बग्थे । सायद् उनको मनमा मेरा लागि कुनै श्राप पनि जन्मिन्थ्यो होला । म त्यो देखि अनभिज्ञ बनेर उनको आँसु देख्दा विजयात्मक उन्मुक्त हाँसो हाँस्थे- भोलि हुने परिणाम देखि निश्चिन्त । उनको आँसुमा कँडिएको दाजुको मुहारमा आफ्नो गर्वको झण्डा गाड्थेँ । लाग्थ्यो यसरी नै जीवन गुजार्ने छु । म जीवनमा जीत नै जीत पाउँनेछु । हार मेरो नजिक टिक्न पाउँने छैन ।
सायद घमण्डमा अन्धो बनेर मैले भाउजूको मनभित्र आफ्नो लागि थुप्रै अभिशाप जन्माएँ होला । जसलाई भाउजूले एउटी सुसंस्कृत बुहारी हुनुको नाताले शाब्दिक रूपमा व्यक्त नगरेर आँखाबाट मात्र बहाइन् । पक्कै पनि त्यो आँसुमा मेरो लागि श्राप निस्कन्थ्यो होला । आफ्नो सन्तानलाई त्यति विघ्न तिरस्कार, अवहेलना र उपहासको पात्र बनाएको कुन आमालाई सह्य हुँदो हो र ?
हो, आज मलाई पक्का विश्वास भएको छ । भदैमाथि गरेको त्यो अन्याय र अत्याचार सायद भाउजूले मात्र होइन भगवान्ले पनि सहन सकेनन् । अर्काको सन्तानमाथि उपेक्षापूण नजर लगाउँनेले आफ्नो सन्तानको आशा नगर्नु भनेर उनले मलाई सजायँ दिएका हुन् सायद । म उर्वरा शक्ति भएकी धरती भएर पनि बाँझो खेतको उपनामले प्रताडित छु । सायद यही होला मेरो अपराधको सजायँ ।

रीता ताम्राकार
बालग्राम चौक, इटहरी

मकवानपुरमा भिडन्त: दुवै तर्फ कयौं हताहत

Filed under: News

सरकारी सुरक्षाफौज र माओवादी विद्रोहीहरूबीच मकवानपुरको एउटा विकट गाउंमा शनिवार राति भएको ‌भिडन्तमा कयौंजनाको ज्यान गएको बुझिएको छ।

युद्धविराम भंग भएपछि विद्रोहीहरूले आफ्ना आक्रमणहरूलाई तिब्र पारेका छन् दुवै पक्षले एक अर्का तर्फ बढी क्षति पुर्‌याएको दावी गरेका छन्। माओवादीहरूले गएको महिना चार महिने एकतर्फी युद्धविराम भंग गरेयताको यो सबभन्दा ठूलो भिडन्त भएको ठानिएको छ। प्राप्त पछिल्लो संकेत अनुसार शनिवार रातीको भिडन्त निकै भिषण थियो। सरकार र माओवादी दुवै पक्षले परस्पर विरोधी दावी गरिरहँदा कुनपक्षमा कति क्षति भयो भन्नेबारे यकिन हुन सकेको छैन। फापरबारी गाउँ स्थित झुरझुरे भन्ने ठाउँमा शनिवार साँझ साँढे छ बजे शुरू भएको दोहोरो भिडन्त आठघण्टासम्म चलेको बताइएको छ।

गश्तीमा गएको सरकारी सुरक्षा फौजको टोलीमाथि ठुलो संख्यामा रहेका माओवादीहरूले आक्रमण गरेका थिए। त्यसपछि शुरू भएको भनिएको उक्त भिडन्तमा सुरक्षा फौजका छ जना सहित झण्डै दुई दर्जन मानिसहरूको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। तर माओवादी विद्रोहीहरूले सरकारी सुरक्षा फौजतर्फ सरकारले भने भन्दा धेरै सुरक्षाकर्मीहरू हताहत भएको दावी गरेका छन्। ठुलो संख्यामा हातहतियारहरू पनि बरामद गरिएको माओवादीहरूको विशेष कमाण्डले दावी गरेको छ।

विगतमा एक अर्काको क्षति बढाइ चढाइ गरी प्रचार गरेको भनि दुवै पक्षले आरोप लगाउने गरेका थिए। विकट ठाउँमा रातको समयमा हुनेगरेका त्यसप्रकारका भिडन्तकाबारेमा गरिने दावी वा प्रतिदावीको स्वतन्त्र रूपमा पुष्टी हुन लगभग असंभव हुने गर्छ। तर प्राप्त संकेत अनुसार भिडन्त निकै ठुलो भएको र क्षति पनि प्रारम्भिक रिपोर्ट भन्दाबढी हुनसक्ने अनुमान गरिएको छ। भिडन्त स्थलमा दुई जना सर्वसाधारणहरूको शब फेलापरेको जनाइएको छ। यसबाट दोहोरो भिडन्तको चेपुवामा स्थानिय बासिन्दाहरू परेको विश्वास गर्न सकिने स्थिति देखापरेको छ।
सौजन्यः विविसी






















Thank you for visiting my blog.