मकवानपुरमा भिडन्त: दुवै तर्फ कयौं हताहत
सरकारी सुरक्षाफौज र माओवादी विद्रोहीहरूबीच मकवानपुरको एउटा विकट गाउंमा शनिवार राति भएको भिडन्तमा कयौंजनाको ज्यान गएको बुझिएको छ।

युद्धविराम भंग भएपछि विद्रोहीहरूले आफ्ना आक्रमणहरूलाई तिब्र पारेका छन् दुवै पक्षले एक अर्का तर्फ बढी क्षति पुर्याएको दावी गरेका छन्। माओवादीहरूले गएको महिना चार महिने एकतर्फी युद्धविराम भंग गरेयताको यो सबभन्दा ठूलो भिडन्त भएको ठानिएको छ। प्राप्त पछिल्लो संकेत अनुसार शनिवार रातीको भिडन्त निकै भिषण थियो। सरकार र माओवादी दुवै पक्षले परस्पर विरोधी दावी गरिरहँदा कुनपक्षमा कति क्षति भयो भन्नेबारे यकिन हुन सकेको छैन। फापरबारी गाउँ स्थित झुरझुरे भन्ने ठाउँमा शनिवार साँझ साँढे छ बजे शुरू भएको दोहोरो भिडन्त आठघण्टासम्म चलेको बताइएको छ।
गश्तीमा गएको सरकारी सुरक्षा फौजको टोलीमाथि ठुलो संख्यामा रहेका माओवादीहरूले आक्रमण गरेका थिए। त्यसपछि शुरू भएको भनिएको उक्त भिडन्तमा सुरक्षा फौजका छ जना सहित झण्डै दुई दर्जन मानिसहरूको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। तर माओवादी विद्रोहीहरूले सरकारी सुरक्षा फौजतर्फ सरकारले भने भन्दा धेरै सुरक्षाकर्मीहरू हताहत भएको दावी गरेका छन्। ठुलो संख्यामा हातहतियारहरू पनि बरामद गरिएको माओवादीहरूको विशेष कमाण्डले दावी गरेको छ।
विगतमा एक अर्काको क्षति बढाइ चढाइ गरी प्रचार गरेको भनि दुवै पक्षले आरोप लगाउने गरेका थिए। विकट ठाउँमा रातको समयमा हुनेगरेका त्यसप्रकारका भिडन्तकाबारेमा गरिने दावी वा प्रतिदावीको स्वतन्त्र रूपमा पुष्टी हुन लगभग असंभव हुने गर्छ। तर प्राप्त संकेत अनुसार भिडन्त निकै ठुलो भएको र क्षति पनि प्रारम्भिक रिपोर्ट भन्दाबढी हुनसक्ने अनुमान गरिएको छ। भिडन्त स्थलमा दुई जना सर्वसाधारणहरूको शब फेलापरेको जनाइएको छ। यसबाट दोहोरो भिडन्तको चेपुवामा स्थानिय बासिन्दाहरू परेको विश्वास गर्न सकिने स्थिति देखापरेको छ।
सौजन्यः विविसी