हेलिकप्टरबाट लास खसाल्ने धम्की
नगेन्द्र उपाध्याय
माओवादी सशस्त्र द्वन्दको समाचार लेख्दा शाही सेना र माओवादी दुबैको वीचमा एकजना सञ्चारकर्मी कसरी पिल्सिनु पर्दो रहेछ भन्ने अनुभव गरेँ मैले। राज्यले माओवादीको आरोपमा मलाई १ सय ६६ दिन जेलमा राख्यो। अर्कातिर माओवादीले आफूहरुले भनेको भन्दा फरक समाचार लेखेमा “जनकारबाही गर्ने” धम्की दिए। युद्ध उन्मादमा रमाएको राज्य र विद्रोही माओवादीले यसलाई आ-आफ्नो सफलता ठाने होलान्। तर दुनियाले यी दुबै घट्नालाई “अधिनायकवादीहरुको चरम क्रुरता” सिबाय केही ठान्ने छैन भन्ने मेरो ठम्याइ छ।
२०६२ साल साउन ५ मा कैलाली जिल्लाको लम्कीस्थित आफ्नो पत्रिका न्यू मालिका साप्ताहिकको कार्यालयबाट दिउँसो १२.३० बजे खाना खान घरतर्फ गइरहेको थिएँ। बाटोमा माओवादीको एउटा समूहले मलाई रोकेर आधाघण्टा पत्रिकाको विषयमा सोधपुछ गरे। मैले जवाफ दिएँ। भोक निकै लागिरहेको थियो। प्रश्न गर्न छाडेपछि थकित अबस्थामा म घरतिर लाग्न खोज्दा, उनीहरुले अर्को सर्त तेर्स्याए- आफ्ना कार्यकर्तालाई उपचार गराएर ल्याउ भनेर। मैले अरु कसैलाई यो काम लगाउन आग्रह गरेँ। तर कसाहीको सामु लम्पसार पर्नु व्यर्थ हो भनिए झैँ माओवादीले आफ्नो आधार क्षेत्रमा बसेर अटेर नगर्न धम्की दिए। मेरो नाइनास्तीले केही लछारेन। अनि मनमा कालिकोटका भिनाजु नवराज शर्मा जो पत्रकार हुनुहुन्थ्यो र दैलेखका डेकेन्द्र थापालाई झल्झली सम्झिएँ। कदम साप्ताहिकका सम्पादक शर्मालाई २०५८ मा विभिन्न नचाहिँदा आरोप लगाएर “सफाया” गरेको र थापालाई पनि त्यसै गरेको “माओवादीको अमानवीय चरित्र” सम्झेर मेरो मुटु काम्यो।
माओवादीले मारेका दूईजना पत्रकारहरूसँग मैले आफूलाई जोडेर हेरेँ। मेरो मनमा अनेकथरी कुरा खेलिरहेका थिए। त्यसैबेला एउटा एम्बुलेन्स साइरन बजाउँदै त्यहीँ आइपुग्यो। माओवादीहरूले उनीहरूको एकजना बिरामी साथीलाई एम्बुलेन्समा हाले र मेरो हात समाते, अनि बलपूर्वक मलाई त्यही एम्बुलेन्समा कोचे। मेरो पक्षमा बोलिदिने कोही थिएनन्। स्थानीयबासीले “माओवादीको विरुद्ध केही बोल्दा बेकार दुःख दिएलान् भन्ने सोचे क्यार! मेरो पक्षमा कोही बोलेनन्। आफ्नो बारेमा केही बोल्नेलाई दुःख दिने त माओवादीहरूको स्थापित परम्परा नै हो।
एम्बुलेन्स लम्कीबाट सिधै धनगढीतर्फ अगाडि बढ्यो। मनमा अनेक थरीका कुराहरु खेल्न थाले। म दोधारमा परेँ। सुरक्षाकर्मीलाई भनौं भने माओवादीको डर, नभनौ भने सुरक्षाकर्मीको डर। लम्कीबाट धनगढीसम्म चारवटा सुरक्षा चेक पोष्ट पर्छन्, तर एम्बुलेन्सलाई कतै रोकिएन र कसैले केही सोधखोज पनि गरेनन्। सुरक्षित साथ अस्पताल पुगियो।
माओवादी बिरामीलाई अस्पताल भर्ना गरेपछि रातको दश बजेतिर घनगढीस्थित स्थानीय होटेलमा लागेँ, बास बस्न।
अर्को दिन एकाबिहानै पत्रकार महासंघ कैलालीको शाखा कार्यालय पुगें, तीन घण्टासम्म कसैसँग भेट हुन सकेन। अनि म लागेँ, सेती अञ्चल अस्पताल तिरै।
दिउँसो तीनबजे सेनाको चारवटा गाडी अस्पताल परिसरमा छिरे। मेरो बारेमा खोजी हुन थाल्यो। म त्यतिबेला अस्पताल परिसरबाहिर थिएँ। पछि अस्पताल गएँ। सादा पोशाकका सुरक्षाकर्मीले मेरो परिचय मागे। मैले आफ्नो परिचय दिएँ। अनि हात समातेर ट्वाइलेटभित्र लगे, आँखामा कालोपट्टी बाँधे र बाहिर निकालेर जीपमा हाले।
सिधै वडा प्रहरी कार्यालय पुर्याए मलाई। अनि सुरु भयो ममाथि दुर्व्यवहार। मलाई माओवादी भन्दै अपशब्दहरु वर्षाउन थाले। बुट र लाठ्ठीले हिर्काउन थाले। एकघण्टा जति त्यहाँ राखेपछि आखाँमा पट्टी र हात पिठ्यूँमा लगेर हत्कडी लगाए र बोराडाडीस्थित सैनिक ब्यारेकमा लगे। पानी परिरहेको थियो, “म माओवादी” लाई उनीहरुले सजायँ दिए, रातभर पानीमै भिजाएर। बिहान हुँदा म चल्नै नसक्ने भइसकेको थिएँ, बोली बन्द भएको थियो। भोलिपल्ट दसबजे मलाई फलामले बारेको एउटा सानो कोठामा लगे। पट्टी र हत्कडी बाँधिएकै थियो। यताउति सर्न खोज्दा पनि गाली खानुपर्थ्यो। चर्पी जान्छु भन्न पनि डर लाग्थ्यो। चर्पी जाँदासमेत हत्कडी र पट्टी खोलिदिँदैन थिए। मुख धुन पनि दिँदैन थिए। खाना खादाँ पनि आखाँमा पट्टी र एक हातमा हत्कडी बाँधिएकै हुन्थ्यो।
सेनाले मलाई बारम्बार धम्क्याए, “माओवादी हुँ भन्, तँलाई विदेश पठाइदिन्छौं, होइन भनिस् भने जंगलमा लगेर गोली हानेर मारिदिन्छौं र तेरो लास हलिकोप्टरबाट जंगल वा नदीमा खसाल्छौं।” अपशब्दयुक्त धम्की र यातनाले मलाई असह्य शारीरिक तथा मानसिक यातना भइरहेको थियो।
९ गते जिल्ला प्रशासनबाट बयान लिन आएका प्रहरीले मलाई सोधे, “माओवादीभित्र तेरो नाम के हो?” मैले जवाफ फर्काएँ, “म माओवादी नै होइन। मेरो माओवादी नाम कसरी हुन्छ?”
अनि फेरि, तेरो साहित्यिक नाम के हो भनेर सोधे। मैले नविन सञ्ज्याल भनेँ, अनि मलाई “यो त माओवादीको जिल्ला स्तरको नेताको नाम हो” भन्दै रामधुलाई गर्न थाले।
बयान सकिएपछि बन्द आँखामा मलाई बलपूर्वक कागजहरुमा हस्ताक्षर गर्न लगाए। केमा किन सही गराइयो भन्ने मलाई अत्तोपत्तो नै भएन। चार दिनसम्म धेरै यातना दिइयो, त्यसपछि चाहिँ सुरक्षाकर्मी मसँग अलि नरम भए जस्तो लाग्यो। मैले ठानेँ, सायद उनीहरूले म निर्दोष छु भन्ने बुझेछन्।
११ गते ब्यारेकबाट सिधै जिल्ला प्रशासन कार्यालयमा लगे मलाई। त्यहाँ पनि अर्को कागजमा मलाई हस्ताक्षर गराइयो र त्यसपछि कारागार चलान।
साउन २१ गते फेरी कारागारबाट बोराडाडी लगे। त्यतिबेला चाहिँ सुरक्षाकर्मीले नराम्रो ब्यवहार गरेनन्। करिव चार घण्टाको बयानपछि पुनः कारागार लगे।
कारागार जानुभन्दा अगाडि मैले म माओवादी होइन। म माओवादीको आरोपमा कुनै पनि हालतमा जेल जान्नँ भनेर अडान लिएँ। उनीहरुले “दुई-चार दिनमात्र हो, छाडिहाल्छौं” भने। तर कारागार लगिसकेपछि धेरै दिनसम्म छोड्ने सुरसार नै गरेनन्। पत्रकार, मानव अधिकारवादी तथा लम्कीका विभिन्न स्थानीय संघसंस्थाहरुको लामो आग्रहपछि मात्र २० पुस २०६२ गते एक सय ६६ दिन कारागारमा बसेपछि पत्रकार महासंघ कैलालीको रोहबरमा मुक्ति पाएँ।
माओवादीको जनकारबाहीको धम्की
२०६२ साल जेठमा कैलालीको चुहाबाट माओवादीले काठमाडौं र नेपालगञ्ज जाँदै गरेका तीनवटा यात्रुबसलाई रोकी सबै यात्रुलाई ओराले। र, त्यही बसमा हतियारसहितका माओवादीहरु बसको छतमा समेत टनाटन भरिएर लम्की आए। एउटा बसलाई लम्कीमै रोकेर दुईवटा बस टिकापुरतिर लगे। लम्कीमा माओवादीहरुले महेन्द्र राजमार्गमा चल्ने सम्पूर्ण बसहरुलाई रोकेर राखेका थिए। मैले ती सबै गतिविधिहरूको फोटो खिचेँ।
लम्कीबाट हिँडेको आधा घण्टामै राजमार्गको उत्तर छेउपट्टि पथरैया गाविसमा भिडन्त सुरु भयो, सुरक्षाकर्मी र विद्रोहीको। टिकापुरस्थित उग्रतारा सशस्त्र प्रहरी बल बेस क्याम्पबाट गस्तीमा आएका सुरक्षाकर्मीहरूसँग भएको भिडन्तमा घाइते भएका आफ्ना कार्यकर्तालाई माओवादीले मोटरसाइकलमा राखेर उपचार गराउन लम्कीतर्फ लगिरहेका थिए। त्यहीबेला आकाशबाट सुरक्षाकर्मीले घटनास्थलमा बमबारी गर्न थाले।
त्यसपछि बजारमा रहेका माओवादी जंगलतिर भागे भने यात्रुहरु हारगुहार गदै यताउति छरिन थाले। धन्न हेलिकप्टरबाट बजार क्षेत्रमा चाहिँ गोली वर्षाइएन।
हेलिकप्टरबाट बमबारी रोकिएपछि म एक्लै घटनास्थलतिर हान्निएँ। घट्नास्थल पुग्दा सुरक्षाकर्मी र माओवादी कोही थिएनन्। स्थानीयबासी घरबाहिर निस्किएका थिएनन्। जता हेर्यो त्यतै गोलीका खोकाहरु देखिन्थे। घरका भित्ताहरुमा प्वालैप्वाल। त्यहाँबाट आफ्नो आखाँले देखेका वास्तविक चित्र लिएर म फर्किएँ। लम्कीतिर जाँदै गर्दा माओवादीले त्यही कार्यक्रम गरिरहेका थिए।
अखिल क्रान्तिकारीका तत्कालिन सेती-महाकाली इञ्चार्ज रमेश मल्ल घटनाको आफ्नै खाले तथ्य सुनाउँदै थिए- माओवादीतर्फ दुई जनाको मृत्यु भयो भनेर। तर घटनास्थलको केही वरपर माओवादीका चारवटा लास र एक सुरक्षाकर्मीको लास मैले नै देखेर आएको थिएँ। घाइतेहरुको यकिन विवरण चाहिँ पाउन सकेको थिइनँ। भोलिपल्ट घट्नास्थलको वास्तविक समाचार कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने अभियान दैनिकमा प्रकाशित गरेँ। अनि माओवादीले मलाई हामीले दुई जनाको मात्र भनेका थियौं, किन छजना मरे भनेर लेखेको भन्दैं भविष्यमा आफ्नो (माओवादी) क्षेत्रमा आफूहरुले भनेको भन्दा फरक कुरा लेखेमा “जनकारबाही गर्ने” चेतावनी दिए।
तर माओवादीले ममाथि यति गर्दागर्दै राज्यले फेरि मलाई माओवादी भएको झुटो आरोपमा जेलमा राख्यो।
जेलबाट छुटेपछि मैले असुरक्षित महसूस गर्दै राजधानी आउनुपर्यो। अहिले ममा एउटा चिन्ता छ- अब के गर्ने? सुरक्षाकर्मी या माओवादीले मलाई छाड्लान त?
अनि मेरो मनमा खेलिरहेको प्रश्न चाहिँ के हो भने “म माओवादी हुँ वा गलत लेख्ने पत्रकार ?” मलाई आत्मविश्वास चाहिँ के छ भने म सही लेख्ने एउटा पत्रकार हुँ। तर यही कारण म किन जेल जानुपरेको होला ? किन माओवादीको धम्की खानुपरेको होला? अझै बुझ्न सकिरहेको छैन।
साभारः गणतन्त्र नेपाल