श्रमको सम्मान
आज भन्दा करीव २८ वर्षअघि यो पंक्तिकार संयुक्त राज्य अमेरिकाको ओक्लाहोमा राज्यको राजधानी ओक्लाहोमा सिटीमा थियो । एक साँझ टिभी हेर्दै गर्दा तत्कालीन राष्ट्रपति जिम्मी कार्टरको “मिट दि पिपुल” नामक एउटा कार्यक्रम प्रशारण भइरहेको थियो । त्यस दिन राष्ट्रपति कार्टर र ओक्लाहोमा सिटीका स्कुले विद्यार्थीहरुबीच साक्षात्कार हुने कार्यक्रम रहेछ । कुनै एक हलको डायसमा राष्ट्रपति विराजमान थिए । उनको सामुन्ने तीन-चार सय विद्यार्थी खचाखच बसेका थिए । वातावरण एकदम सजीव र रमाइलो थियो । विद्यार्थीहरुले धक फुकाएर राष्ट्रपतिलाई अनेक प्रश्न सोधे । बत्तीसै दाँत देखाएर संधै हासी मात्र रहने राष्ट्रपतिले पनि हाँसिहाँसी सबै प्रश्नहरुको जवाफ दिंदै गए ।
अन्तमा एकजना छात्राले आपनो जिज्ञासा राखिन्, “मिस्टर प्रेसिडेन्ट, तपाईंकी छोरी पनि विद्यार्थी नै रहिछन् । तपाईं उनलाई दिनको कति डलर पकेट खर्च दिनु हुन्छ ?” राष्ट्रपति कार्टरको जवाफ थियो, “नट अ सिङ्गल सेन्ट”
एक हुल विद्यार्थीहरुले ठूलो स्वरमा एकै साथ “ओ…भन्दै आर्श्चर्य र अविश्वास प्रकट गरे । अघि प्रश्न सोध्ने छात्राले पुनः प्रश्न गरिन्, “त्यसो भए उनले आपनो पकेट खर्च कहाँबाट जुटाउछिन् त?”
मुसुमुसु हांस्दै राष्ट्रपतिले भने, “मेरी छोरी यस बेला न्यूयोर्कको कुनै होटेलमा रुम-मेडको काम (होटलमा बास बस्न आउने पाहुनाका कोठाहरुमा पर्दा, तन्ना र तकियाको खोल फेर्ने, बाथरुम र कार्पेट सफा गर्ने, अन्य सामान पुछपाछ गरी मिलाई राखिदिने काम) गर्दै होलिन् । त्यो काम गरेर पाउने ज्यालाबाटै उनी आपनो पकेट खर्च जुटाउछिन् ।”
विद्यार्थीहरुको एउटा ठूलो समूहले प्रशंसायुक्त प्रतिक्रिया जाहेर गर्दै भने, “वा……….ऊ ……. ग्रेट ”
राष्ट्रपति र विद्यार्थीबीचको उक्त साक्षात्कार कार्यक्रम रमाइलै थियो तर पनि मैले त्यसलाई खासै महत्व दिइन । यी कुइरेहरुको के भर Û पखेटा लागे पछि संगै बस्ने जात होइन । बाबु अमेरिकामा बस्छ भने छोरा बेलायतमा बस्छ, छोरी अष्ट्रेलियामा बस्छे । आमा क्यानाडाकी हुन्छे भने बुहारी फ्रान्सकी हुन्छिन्, ज्वाईं जर्मनीको हुन्छ । यस्तै सम्झी केही दिनपछि त मैले त्यस कार्यक्रममा भएको रमाइलो कुराकानी र प्रश्नोत्तर सबैलाई विर्सि पनि दिएं ।
त्यसको केही समय पछि यस पक्तिकारलाई संयूक्त राज्य अमेरिकाकै मोन्टाना राज्यको राजधानी ग्रेटफल्समा जानु पर्ने भयो । ग्रेटफल्स पुगेको केही दिनमा त्यहाको एकजना भद्र महिलासंग उसको परिचय हुन पुगेको थियो । ति महिला त्यहाको एउटा प्रसिद्ध होटल होलिड इनको मेनेजर थिइन् । शहर बजारमा पनि काउब्वाईकै पहिरनमा हिंडडुल गर्न रुचाउने एक जना रान्चर æजमिन्दारÆ संग ति महिलाको दोस्रो विवाह भएको रहेछ । पहिलो पतिबाट एक र हालको पतिबाट एक गरी उनका दुइ छोरा सन्तान थिए । उनीहरुको स्वामित्वमा चार हजार एकड æकरीव बत्तीस हजार रोपनीÆ खेत थियो । विउवीजन र कीटनासक औषधी र्छनका लागि उनीहरुको एउटा सानो हवाईजहाज पनि थियो । बाबु, आमा र जेठो छोराको आ-आफ्नै कार थियो । उमेर नपुगेको कारण कान्छोको भने आफ्नै कार थिएन । बाक्लो कपडाको हुड र साइकलको जस्तै तारवाला पा+ग्रा भएको दोस्रो विश्व युद्ध ताकाको एउटा कार पनि पुरातात्विक वस्तुको रुपमा घरमा राखिएको थियो । त्यसलाई उनीहरु खास-खास उत्सवहरुमा रमाइलोका लागि प्रयोग गर्थ्र्ये ।
एक दिन ति महिलाको निम्ता स्वीकार गर्दै उनकै होटेलमा आयोजित पारिवारिक रात्रीभोजमा सरिक भएको थिएं । निक्कै रमाइला गफका साथ हामी उत्तर अमेरिकाको स्वादिष्ट परिकार खानमा जुट्यौं । ति महिलाको कान्छो छोरोलाई नदेखी कहा छन् भनी सोध्दा उनले “तपाईंकै सामुन्ने खडा छ” भनी जवाफ दिइन् । करीव १६-१७ वर्षको एकजना स्मार्ट केटो हाम्रो टेबुल नजिक वेटरको ड्रेसमा अदवका साथ उभिरहेको थियो । त्यो वेटर केटो अरु कोही नभएर ति महिलाको कान्छो छोरो पो रहेछ ।
उसलाई वेटरको रुपमा देख्नु पर्ला भनी कल्पना नै गरेको थिइन, कसरि झट्ट चिन्नु ? तेत्रो धनी जमिनदार बाबुको छोरो, आपनै आमा मेनेजर रहेको होटलको वेटर आर्श्चर्य मान्दै सोधें “तपाईंहरु जस्ता धनी बाबु-आमाको सन्तानले पनि यस्तो कलिलै उमेरमा काम गर्नु पर्छ र ? जवाफमा ति महिलाले भनिन्, “यो गृष्मकालीन विदामा कमाएको पैसाले मेरो कान्छो आपनो लागि अर्को वर्ष एउटा युज्ड कार किन्न चाहन्छ । यो जेठो पनि एउटा डिपार्टमेन्ट स्टोरमा सामान पुछपाछ गरी र्याकमा मिलाएर राख्ने काम गर्छ । जम्मा भएको पैसाले उ पनि अर्को वर्ष उसको केटी साथीसंग साइप्रसमा घुम्न जान चाहन्छ ।”
मैले मनमनै गुनें - यिनीहरु त द्रव्य पिचासै रहेछन् । त्यत्रो विधि धनसम्पति भएर पनि भोग गर्न नजान्नेहरु, आपना सन्तानका लागि त्यति खर्च पनि नगर्ने चुइंयाँहरु तर प्रकटमा भनें, “तपाईंहरुका छोराहरु असाध्यै जाती रहेछन् । आफ्नो लागि आफै कमाउछन् । यति खर्च त तपाईंहरु सजिलै गर्न सक्नु हुन्छ नि होइन र ?
जवाफमा ति महिलाले भनिन्, “सक्छौं । तर हेर्नुस, छोराछोरीका लागि आवश्यक खर्च व्यहोर्नु बाबु-आमाको जिम्मेवारी हो । फुर्मायसी खर्च उनीहरु आफैले जुटाउनु पर्छ ।” यसमा उनको पतिले थप्दै भने, “सबै खर्च बाबु-आमाले नै पुर्याउने गरियो भने पछि गएर छोराछोरी कामचोर हुन्छन्, कुलतमा लाग्छन्, पूर्खाको सम्पति सिध्याउँछन् र अन्तमा कंगाल बन्छन् । हामी त्यसो हुन दिन चाहन्नौं । सबै बाबु-आमाले सानैदेखि आपना छोराछोरीहरुमा कामप्रति सम्मान जगाउन काममै लगाउनु पर्छ र आत्मनिर्भर बन्न सिकाउनु पर्छ । हामीले उनीहरुलाई फर्मायसी खर्च नदिनुको कारण यति मात्र हो ।”
आहा …. क्या उच्च विचार … जुनसुकै काम प्रति सम्मान गर्नु पर्छ, सबैले आफ्नो क्षमता अनुसारको काम गर्नु पर्छ र आत्मनिर्भर बन्नु पर्छ भन्ने भावनाले मलाई निक्कै प्रभाव पार्यो । ओक्लाहोमा सिटीमा रहँदा केही दिन अघि टिभीमा हेरेको “मिट दि पिपुल” कार्यक्रममा राष्ट्रपति जिम्मी कार्टरले “म आफ्नी छोरीलाई पाकेट खर्च दिन्न । उनी आफ्नो पाकेट खर्च आफै जुटाउछिन्” भन्नुको अर्थ बल्ल बुझें ।
अमेरिका त्यतिकै अमेरिका बनेको होइन रहेछ, त्यहाका नागरिकहरुको श्रमप्रतिको सम्मान र आफ्नो क्षमता अनुसारको जुनसुकै काम गरी आत्मनिर्भर बन्नु पर्छ भन्ने स्वाभिमानी भावनाले नै अमेरिकालाई संसारको धनाढ्य र शक्तिशाली देश बनाएको रहेछ । हामीले पनि आफूभित्र यस्तो भावना जगाउन सकेमा देशलाई समृद्धिको शीखरमा पुर्याउन धेरै समय लगाउनु पर्दैन । अस्तु ।।
-महेश्वर श्रेष्ठ