नगर निर्वाचन र सात दलको व्यापक विरोध जुलुस

तस्वीरः राजेश ढुंगाना
आज सुरु भएको नगर निर्वाचनमा एक जना वृद्धालाई
राजधानीको बसन्तपुरस्थित एक बुथमा मत हाल्न लगाइँदै ।
ठुला राजनीतिक दलहरुले निर्वाचन बहिस्कार गरेका कारण दिउंसो १२.१० बजेसम्म देशभरका कुनै पनि बुथमा सय मत नकटेको समाचारहरु प्राप्त भएका छन् भने आन्दोनरत सात राजनीतिक दलले नगर निर्वाचन बहिस्कार गर्दै मतदान गर्न नजान सबैलाई आग्रह गर्दै प्रदर्शन जारी राखेका छन् ।
मतदान बिथोल्नेलाई प्रशासनले गोली हान्ने आदेश दिएको भएपनि देशभर विरोध प्रदर्शन भइरहेको समाचार प्राप्त भएको छ । आन्दोलनरत दलका नेता तथा कार्यकर्ताले विभिन्न स्थानमा मतदान बहिस्कार गर्न आग्रह गर्दै निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौका नयाँ बसपार्क अगाडि सात दलका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई निर्मम कुटपिटसमेत गरेको छ । प्रहरीले जुलुसमा सहभागीहरुलाई निकै परसम्म लखेटेर पक्राउ गरेको थियो । भक्तपुरको मध्यपुर ठिमीमा पूर्व मेयर मदनकृष्ण श्रेष्ठको नेतृत्वमा मतदान बहिस्कार गर्न आग्रह गर्दै जुलुस निस्केको थियो । यस क्रममा केही सर्वसधारणसमेत पक्राउ परेको बताइएको छ । त्यसैगरी भक्तपुर, कीर्तीपुरलगायतका स्थानमा पनि विरोध प्रदर्शन भइरहेका छन् ।