एकलव्यको गन्तव्यहीन एकल-यात्रा
गत माघ १९ गते नेपालमा निरंकुस राजतन्त्रको प्रत्यक्ष हुकुमी शासन शुरु भएको एक वर्षो कष्टपूर्ण अवधि पूरा भयो । सो “उपलक्ष्य” मा मन्त्रीमण्डलका अध्यक्ष समेत रहेका राजा ज्ञानेन्द्रबाट शाही घोषणा हुने भन्ने पूर्व सूचनाबाट र्सवसाधारण मानिसहरुले २ वटा कुराको लख काटेका थिए (१) जनयुद्धरत माओवादी तथा आन्दोलनरत ७-दललाई वार्ताका लागि आव्हान र शान्ति प्रकृयाको थालनी, अथवा (२) सात दल माथि प्रतिवन्ध र माओवादी माथि भीषण आक्रमणको घोषणा । तर त्यस्तो केही पनि भएन । मानौं नेपालमा केही भएकै छैन, कुनै समस्या नै छैन, सबै ठीक ठाक छ । गत वर्षघोषणा भएको २१-बुँदे कार्यक्रम समेत कता हरायो अथवा कुन दुलो भित्र लुक्न पुग्यो, त्यसको पनि कुनै अत्तोपत्तो छैन ।
यस अवधिमा मन्त्रीपरिषदका वरीष्ठ उपाध्यक्षदेखि अन्य मन्त्रीहरु तथा आयोगकै पदाधिकारीहरुको अपराधिक इतिहास, कालो कर्तुत र भ्रष्टाचारको पोल खुल्न थाले पछि राजनीतिक प्रतिशोधका लागि गठन गरिएको असंवैधानिक भ्रष्टाचार नियन्त्रण शाही आयोगले हावा खायो । आम संचार माध्यम माथि पटक पटक धावा बोलियो । जनताबीच अत्यन्त लोकप्रिय नीजिक्षेत्रबाट संचालित एफएम रेडियोहरु माथि समाचार प्रसारण गर्न रोक लगाइयो । डकैती शैलीमा मध्यराती तोडफोड र उपकरण लुटपाट गरियो । तर संचारकर्मीहरुको अदम्य शाहस र विश्व जनमतको सशक्त विरोधका अगाडि निरंकुस शासकहरुले झुक्नै पर्यो । तथापि पत्रकारहरु माथिको दमन र विभिन्न छापाहरु तथा इन्टरनेट पत्रिकाहरु माथिको प्रतिवन्ध कायमै छ । खाने, बस्ने बाँच्ने कुरा बारै कुरै नगरौं, प्रजाहरुको मात्र बोल्ने, हेर्ने र सुन्ने अधिकार माथि समेत दमनचक्र चलाउँदै आएका शासकहरुले प्रजातन्त्र र सुरक्षा व्वस्था सुदृढ हुँदै गएको थोत्रो रेकर्ड बजाउन भने छोडेका छैनन् ।
यो लेख लेख्दासम्म जनाधार भएका सम्पूर्ण राजनीतिक दलहरुले बहिस्कार गरेको नगर निर्वाचनको नौटंकी जारी छ र आजबाट २ दिन पछि कथित मतदान हुँदैछ । तर आफ्ना अधिकाँश आउरे बाउरे हनुमानहरुले समेत उम्मेदवारी दिन नमाने पछि बौलाएका निरंकुस शासकहरुले बजारमा दाउरा बेच्न आएका निमुखा दाउरे र भारी बोक्न आएका निर्दोष भरियाहरु, नसाको सूरमा बाटामै अलपत्र पल्टिरहने दुर्व्यसनीहरु र जँड्याहाहरु, केही दिन अघिसम्म प्रहरीको खोरभित्र देखिएका पाकेटमार र पटके चोरहरुलाई समेत डरत्रास र लोभलालच देखाई उम्मेदवार बनाएका छन् । तर पनि सत्तरी प्रतिशत भन्दा बढी पदहरुमा उम्मेदवारी नै पर्न सकेन । उम्मेदवार बनेकाहरु पनि असुरक्षाको कारण भन्दा बढी भाग्लान र राजिनामा देलान भन्ने डरले सुरक्षा निकायको व्यारेकमा वा भारतका होटल लजहरुमा थुनेर राखिएका छन् । निर्वाचन आयोगले जोकसैले जहाँबाट पनि र जसको नामबाट पनि मतदान गर्न पाइने निर्देशिका भरखरै जारी गरेको छ । मतदाताहरुले मतदान गर्न मतदान केन्द्रसम्म पाउकष्ट गनै नपर्ने भयो । सबै मतदाताका लागि निर्वाचन आयोग स्वयमले मतदान गरे पनि हुने भयो । कथित नगर निर्वाचन सम्बन्धमा शासकहरुले खुल्लमखुल्ला मञ्चन गरेको यो नाङ्गो नाच देखेर डान्स रेष्टुरेण्टमा नाच्ने नर्तकर्-नर्तकीहरुलाई समेत लाज लाग्न थालेको छ ।
निरंकुस राजतन्त्रको दमनकारी कृयाकलापकै कारण संवैधानिक राजतन्त्रलाई आदर्श मान्ने राजनीतिक पाटी समेत आफ्नो आदर्शबाट बिच्किएका छन् । संवैधानिक राजतन्त्रलाई तात्कालिक कार्यनीतिको रुपमा स्वीकार्दै आएका वामपंथी पाटी जनगणतन्त्र तर्फउन्मुख भएका छन् । जनगणतन्त्र स्थापना गर्नकै लागि जनयुद्धरत व्रि्रोही माओवादीहरुले राष्ट्रसंघ लगायत विश्व जनमत आफ्नो पक्षमा पार्न सफल भएका छन् ।”आतंकवाद विरुद्ध लर्डाईं” को नाममा सैनिक सहयोग गर्दै आएका अमेरिका, बेलायत र भारतले उक्त सहयोग बन्द गरेका छन् । नेपालमा भइरहेको राजनीतिक घटनाक्रमलाई यहाँको आन्तरिक मामिला भनी पन्छिरहेको चीनले समेत त्यसलाई गंभीर चासोको विषय भन्न थालेको छ । यस वर्षमूठभेडका नाममा मारिएका करीव १५०० जना मध्ये झण्डै दुइ-तिहाई नागरिकको हत्या राज्यपक्षबाट भएको छ । मानव अधिकार हनन र नागरिकहरुलाई बेपत्ता पार्ने मुलुकहरुमा नेपालले उपल्लो स्थान हासिल गरेको छ । ट्रान्स्पेरेन्सी इन्टरन्याशनलको प्रतिवेदन हेर्दा भ्रष्टाचार सम्बन्धमा देशले अझ बढी बदनामी कमाएको छ । देशको आर्थिक वृद्धिदर कहाली लाग्दो किसिमले ओरालो लाग्दो छ । कतिपय दातृ संस्था तथा मुलुकहरुले नेपाललाई दिइआएको आर्थिक सहायता बन्द गरिसकेका छन् । हुँदा हुँदा विश्व बैंकले ऋण दिन समेत इन्कार गरिसकेको छ । राजतन्त्रका तावेदार मानिने अर्थविदहरुले नै सरकारले विना धितो नोट निष्काशन गर्न लागेको आरोप लगाएका छन् । मुलुक आर्थिक रुपले टाटपल्टिने र राजनीतिक रुपले असफल राज्य बन्ने संघारमा पुगिसकेको छ ।
देश यस्तो विषम अवस्थामा पुगिसक्दा पनि निरंकुस शासकहरुको कानमा कत्ति पनि बतास नलागेको देख्दा नेपालका मित्रहरु आर्श्चर्य चकित एवं दुखित छन् । मुलुक र दुनियाँबाट एक्लिएर, पाकिस्तान र म्यानमारका सैनिक शासकहरुलाई गुरु थापेर एकलव्य बनेको अर्थहीन घोषणसंग कसैको पनि सरोकार छैन । कथित एकलव्यको गन्तव्यहीन एकल-यात्राले मुलुक र जनतालाई भडखालामा जाक्न नपाओस् । होसियार !!
-महेश्वर श्रेष्ठ
फरवरी ६, २००६