प्रत्यक्ष अन्तर्वार्ताको अन्तरकथा
नारायण वाग्ले
“के तपाईंहरूलाई आँखामा पट्टी बाँधेर लगिएको थियो ?” एक जना सहकर्मीले सोझो मनले सोधे ।
“किन ?” “अज्ञातस्थलमा अन्तर्वार्ता लिएको भनेर लेख्नुभएको छ नि !” उनले भने । उनको जिज्ञासा सही थियो । खासमा त्यो अज्ञातस्थल थिएन । ठाउँको नाम नदिन डा बाबुराम भट्टराईले आग्रह गरेअनुसार हामी भूगोल उल्लेख नगरी भूमिगत देखिन पुग्यौँ । १० वर्षदेखि भूमिगत सङ्गठनको विद्रोहबारे दैनिकजसो समाचार छापिरहे पनि यस्तो अन्तर्वार्ताको अनुभव नहुनाले उपयुक्त शब्द तत्काल भेट्न नसक्नुको परिणाम थियो त्यो ।

माओवादीका प्रमुख ‘प्रचण्ड’
‘डेटलाइन’ नतोकी यस पङ्क्तिकारले १४ वर्ष लामो पत्रकारिता अभ्यासमा लेखेको त्यो पहिलो समाचार र अन्तर्वार्ता थियो । स्वाभाविक रूपमा त्यसले व्यापक कौतुहल सिर्जना गर्यो । सुरुमा केहीबेर म आफू कसको अगाडि बस्दैछु भन्ने आत्मसात् गर्न असजिलो महसुस गर्दै थिएँ । मेरो असजिलोको मात्रा बढाउँदै प्रचण्ड आफैँ भन्दै थिए, “‘जनयुद्ध’ सुरु भएपछि कुनै नेपाली पत्रकारलाई प्रत्यक्ष अन्तर्वार्ता दिएको यो पहिलो हो ।”
‘माघ १९’ को पहिलो वाषिर्कीका अवसरमा प्रसारति शाही सम्बोधनले राजनीतिक निकास अस्वीकार गरेको थियो । के अर्को पक्षले पनि त्यसैगरी कुनै पनि निकासका उपाय बेवास्ता गर्ला ? भन्ने हाम्रो मुख्य चासो थियो । यस पङ्क्तिकार र दि काठमान्डू पोस्ट का सहकर्मी प्रतीक प्रधान त्यसतर्फ यात्रा गर्दै थियौँ, जहाँ हामी देशका ‘मस्ट वान्टेड’ व्यक्तिसँग भेट्दै थियौँ । हामी भेटप्रति धेरै निश्चिन्त पनि थिएनौँ । केही दिनदेखि डा भट्टराईसँग भइरहेको सूचना आदान-प्रदानका आधारमा हामी अन्तर्वार्ता लिन तयार भएका थियौँ । हामीलाई के विश्वास थियो भने भेट्न पाए शान्ति स्थापनाका पक्षमा उनका सकारात्मक धारणा तान्न सकिनेछ, कम्तीमा छलफल गर्न सकिनेछ । हिंसा जारी राख्ने माओवादी रणनीतिबारे आलोचनात्मक सुझाव दिन सकौँला भन्ने हाम्रो सुर थियो ।
माओवादी पटक्कै उदार र समझदार हुन सकेको छैन भने अन्तर्वार्ता छाप्न सकिँदैनथ्यो । विशेषगरी शाही सम्बोधनको प्रतिकारमा माओवादीले राजनीतिक समाधान देख्न छाडेको भए हामी निराश भई फर्किनुपर्ने हुन्थ्यो । अन्तर्वार्ता छापिनुअघि गृहमन्त्री कमल थापा हाम्रै पब्लिकेसन्सलाई लक्षित गर्दै ‘रिमोट कन्ट्रोल’ बाट सञ्चालित भन्ने सङ्गीन आरोप लगाउँदै थिए भने सूचना तथा सञ्चार राज्यमन्त्री श्रीषशमशेर राणा ‘अराजक सञ्चारमाध्यमलाई रोक्न अर्को कानुन’ ल्याउने घोषणा गर्दै थिए । अघिल्लो ‘माघ १९’ देखि सञ्चारमाध्यमलाई ‘कारबाही’ गर्ने सरकारको अनिवार्य लवज नियमित प्रकट हुने र ठाउँ-बेठाउँ अनेक दुःख दिने गरेकाले त्यसै पनि माओवादीसँगको अन्तर्वार्ता दिनु सहज थिएन । प्रेस काउन्सिलले एउटा अर्को कार्टुनमाथि फेरि स्पष्टिकरण सोधिरहेकै थियो । नारायणहिटी हत्याकाण्डपछि डा भट्टराईको लेख छापेबापत हाम्रा प्रकाशकहरू र तत्कालीन सम्पादक पक्राउ परी राजद्रोहको मुद्दा लागेको ताजै थियो ।
मन्त्रि परिषद्का उपाध्यक्ष तुलसी गिरीले भन्न किन छाड्थे, “यस्तो अन्तर्वार्ता आउँदा पनि कान्तिपुर लाई कारबाही गर्न सकिएन ।”
शान्तिको कार्यसूची सरकारको प्राथमिकता होइन भन्ने प्रस्ट भएका हामीले यसको सम्भावनाप्रति माओवादी धारणा बुझ्नु उत्तिकै जरुरी थियो । हामी हिंसाका विरोधी भए पनि सैनिक समाधान असम्भव ठान्दै माओवादीलाई राजनीतिक मूलधारमा आकषिर्त गर्नुपर्छ भन्ने सम्पादकीय नीति भएकाले तिनको राजनीतिक अनुहार पहिचान गर्नु हाम्रो पेसागत कर्तव्य पनि थियो ।
“के सोध्ने भनेर छलफल नगर्ने ?” प्रतीकले सोधे ।
“मनमा खेलेका सबै प्रश्नको जवाफ खोजौँ,” मैले भनेँ । त्यसैअनुसार हामी कुनै खाका नकोरी ‘त्यहाँ’ पुगेका थियौँ ।
पहिला डा भट्टराईले कति समय चाहिन्छ भनी सोधी पठाएका थिए । मैले जान्ने टोपलिएर ‘दुई घण्टा’ भनिहालेँ । प्रायः कम्युनिस्ट नेताहरू लामो भूमिकासहित जवाफ दिने स्वभावले विषयवस्तुमा पुग्न समय लगाउँछन् । उनका वक्तव्य र लिखित अन्तर्वार्तामा परम्परागत र प्राविधिक शब्दावली, लम्बेतान भाषणबाजी पढ्ने गरेकाले त्यस्तो भान परेको थियो । सुरुमै त्यो शङ्का भुवाझैँ उड्यो, जब प्रचण्डले प्रसन्नचित्तसाथ हाँसेर स्वागत गर्दै हामीलाई सोझै प्रश्न गरे, “के छ काठमाडौँको स्थिति ?”
हामीलाई अन्तर्वार्तास्थलतिर डोर्याउने दुई तन्नेरी कार्यकर्ताले पहाडी पदयात्राको बुट लगाएका थिए । त्यहाँ जाडो थिएन, उनीहरू भने बाक्लो कपडामा थिए । हामीसँग खास कुरा गरेनन् । केहीबेरको हिँडाइपछि उनीहरूले एउटा घरको माथिल्लो तलामा उकाले, जहाँ केहीबेर पर्खिनुपर्ला भन्ने लागेको थियो । तर, ढोकाबाट छिर्नासाथ भित्रका दुई जना जुरुक्क उभिए ! डा भट्टराईलाई कसले नचिनोस् ? उनीभन्दा पछाडि उभिएका व्यक्ति भने हामीले कहिल्यै देखेका थिएनौँ । उनले हाम्रो नाम लिएर कसिलो हात मिलाए । त्यो एउटा साधारण कोठा थियो, जसको पूर्वपटिका दुइटा कुर्सीमा हामी बस्यौँ । मैले टेबलमा झोला राखेँ । त्यसअघि हाम्रो शरीर जाँचिएला भन्ने लागेको थियो । तर, झोलासमेत वास्ता गरेनन् । आँखीभौँ र अनुहार आकृति भिन्न भएका, डा भट्टराईभन्दा अलि बाक्ला, मोटा र केही होचा व्यक्ति, जोसँग भर्खर हात मिलायौँ, तिनै प्रचण्ड हुन् भन्ने पक्का भयो । केही महिनाअघि रुकुमतिरको सांस्कृतिक कार्यक्रमको भिडियो दृश्यमा हाते रुमालले घरिघरि आँसु पुछ्दै गरेका तिनै व्यक्ति फरक देखिएका थिए !
“भिडियोमा त तपाईं अलि बेग्लै देखिनुभएको थियो,” हामीले भन्यौँ ।
“कति चाँडै साथीहरूले त्यो भिडियो कता-कता पुर्याएछन् !” उनले हाँस्दै भने ।
देशको राजनीतिक गञ्जागोल, माओवादीबारेका शङ्का-उपशङ्का, दलहरूको आन्दोलनको उतारचढाव र हिंसाचक्रले पारेको मनोवैज्ञानिक त्रासबारे हामीले सामान्य बेलीविस्तार गर्यौँ । डा भट्टराईले मलाई पल्पसा क्याफे का लागि बधाई दिए ।
मैले सोधेँ, “कस्तो लाग्यो तपाईंलाई ?”
“विषयवस्तुप्रति तपाईंको आफ्नो दृष्टिकोण हो,” उनले संक्षिप्त जवाफ दिए ।
निकै पढैया मानिने ती कम्युनिस्ट नेताको खास मूल्याङ्कन मैले पाउन सकिनँ, त्यसका लागि जोड पनि गरनिँ । तर पछि अन्तर्वार्ताका क्रममा प्रचण्डले “तपाईंहरूले त गाउँ घुम्नुभएको छैन, गाउँघरमा यस्तो छ, उस्तो छ,” भनिरहेका बेला डा भट्टराईले हाँस्दै काटे, “उहाँको त त्यस उपन्यासमा पहाडका निकै कुरा छन्, (घुम्नुभएको छ) ।”
प्रचण्डले पटक-पटक हामीलाई ‘सहरिया, मध्यमवर्गी, बुद्धिजीवीका प्रतिनिधि’ भने । कतिसम्म भने हाम्रा प्रश्न हाम्रो पृष्ठभूमि र हामीले प्रतिनिधित्व गर्ने ‘वर्ग’ को दृष्टिकोणमा आधारति भन्ने उनको धारणा खुल्ने गर्यो । जब हाम्रा प्रश्न माओवादीबारे शङ्का र हिंसाबारे हुन्थ्यो, तब उनी त्यो हाम्रो ‘वर्गीय चिन्ता’ भन्ने गर्थे । अन्तर्वार्ताको सन्देश भने मध्यमवर्गदेखि पुँजीपतिसम्मले स्वीकार्ने ‘सबभन्दा लोकतान्त्रिक विधि’ अर्थात् संविधानसभाको निर्वाचन थियो । पहिलोपल्ट उनले प्रस्ट गरेका थिए, “संविधानसभाले सक्रिय राजतन्त्र भने पनि मान्ने, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र भने पनि मान्ने ।” तर, उनले त्यसमा जोड दिएका थिए, “हाम्रो विश्वासचाहिँ के हो भने लोकतान्त्रिक गणतन्त्रमा देश जान्छ ।” अर्थात् संविधानसभाले ‘गणतन्त्र’ स्थापना गर्छ ।
डा भट्टराईले प्रतीकको एउटा लेखको प्रसङ्ग उप्काउँदै “तपाईंले हामीलाई राजाको समदूरीमा राखेर टिप्पणी गर्नुभयो” भने !
“हो, मैले तपाईंहरूले ल्याउने व्यवस्था पनि अधिनायकवादी हुन्छ भन्ने लेखेको हुँ,” प्रतीकले जवाफ दिए, “तपाईंहरूले खोजेको व्यवस्थाप्रति हामीमा त्यस्तो धारणा छ । किनभने, तपाईंहरूसँग हतियार छ ।”
“कहाँ त्यस्तो हुन्छ ?” डा भट्टराईले ‘टोटलिटरयिन’ भन्ने टिप्पणीबारे असन्तोष जाहेर गर्दै भने । तर, पछि “यो आ-आफ्नो दृष्टिकोण हो” भन्नेमा त्यो टुङ्गियो । त्यसरी सोझै विषयवस्तुमा हामी प्रवेश गर्दै थियौँ ।
प्रचण्डले सोधे, “तपाईंहरूका पत्रिकालाई सत्ताले किन ‘टार्गेट’ बनाएको हो ?”
“कान्तिपुर लाई त सधैँ सत्ताले सकेसम्म सताउँछ,” हामीले भन्यौँ, “पार्टीको प्रधानमन्त्री हुँदा पनि आफ्नो पक्ष लिएन भने पत्रिकालाई विपक्षी देख्ने प्रवृत्ति छ, अन्धसमर्थन लिन खोज्ने चाहना प्रायः सबै नेतामा हामी पाउँछौँ । यत्ति हो ‘माघ १९’ पछि हस्तक्षेप व्यापक भयो ।”
उनले चाखपूर्वक सुने ।
“भोलि तपाईंहरू आउनुभयो भने पनि हाम्रो भूमिका त यस्तै हुन्छ,” हामीले थप्यौँ । उनको मन्द मुस्कान सेतिँदै गएको कलिलो दारीमा लुकेको थियो ।
“तपाईंहरूलाई अन्तर्वार्ता दिन हामी तयार भएको चैँ, तपाईंहरूको सर्कुलेसन सबभन्दा बढी छ भनेर मात्र होइन,” डा भट्टराईले भने, “जनताको अधिकारका पक्षमा तपाईंहरू हुनुहुन्छ ।”
धन्यवाद दिँदै हामीले माओवादीको खास उद्देश्य जान्न सुरु गर्यौँ । प्रचण्डले ‘कुनै पनि कम्युनिस्ट पार्टीको अधिकतम लक्ष्य समाजवाद, साम्यवाद’ अहिलेको ‘धरातलीय यथार्थ’ मा सम्भव नहुने
स्वीकारोक्ति जनाए । पार्टीले तीन वर्षअघि एक्काइसौँ शताब्दीको जनवाद भन्ने प्रस्ताव पारति गरेको र संविधानसभामार्फत लोकतन्त्रात्मक गणतन्त्र त्यसैपछिको नारा बनेको उनले खुलाए । विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको मृत्युपछि राज्ययन्त्र प्राविधिक र कम लोकतान्त्रिक भएको, जनता निरस हुन थालेको र नेता नमर्दासम्म पार्टी र सरकारी पद नछाड्ने अनुभवबाट पाठ सिक्नुपर्ने उनले जनाए । चीन र भारतबीचको ‘भूराजनीतिक स्थिति’ र जनताको ‘राजनीतिक, सामाजिक, आर्थिक शक्ति-सन्तुलन’ का आधारमा लोकतान्त्रिक राज्यव्यवस्थाका पक्षमा पार्टीको निचोड उनले व्याख्या गरे । राष्ट्रिय सङ्कट निकासको त्यो एउटा सकारात्मक लचकता थियो ।
प्रचण्डले आफूलाई व्यवहारवादी नेताका रूपमा प्रक्षेपित गरे । कट्टर सिद्धान्तवादी कोरा मायाजालको बोक्रा त्यागेपछि नरम व्यावहारकि अनुहार उजागर हुन्छ भन्ने चरतिार्थ उनी गर्न खोज्दै थिए । माओवादीमा आएको यो परविर्तन राजनीतिक समाधानका पक्षमा थियो । देशको भूराजनीति, जनताको शक्ति सन्तुलनका अतिरत्तिm उनीहरू आफूप्रति विश्वस्त पनि देखिए । विशेषगरी सात दलसँग १२ बुँदे समझदारी कायम गरेपछि ‘लोकतान्त्रिक गणतन्त्र’ मुलुकको कार्यदिशा निश्चित भएको तिनको मूल्याङ्कन थियो । संविधानसभा एउटा लोकतान्त्रिक प्रक्रियाका रूपमा कसैले विरोध गर्न सक्दैन, जसमार्फत जनताले दिने मतप्रति आफूहरू प्रतिबद्ध रहनेमा तिनले जोड गरे । दलहरूसँगको समझदारीपछि दलका आन्दोलन बल्ल आन्दोलनजस्तो हुन थालेको र आफ्नोतर्फबाट हरियो सङ्केत बलेपछि ‘जनता ह्वारर्र आन्दोलनमा देखिन थालेको’ भन्ने टिप्पणीले प्रचण्ड भोलि खुला
प्रतिस्पर्धामा प्रवेश गर्दा पनि जनमत लिन सक्ने विश्वासमा पुगेको देखिन्थ्यो । खुला र शान्तिपूर्ण राजनीतिक जीवनप्रति आशा जाग्नु सकारात्मक विकासक्रम हो । सँगसँगै उनी सशस्त्र आन्दोलनले गाउँदेखि नै ‘सामन्तवादको जरा उखेलेको’ र ‘जनताको चेतनास्तर विश्वकै अग्रगामीमध्ये बनाएको’ सफलता वर्णन गर्न खोज्दै थिए, जसबाट उनी प्रतिस्पर्धी राजनीतिक पार्टीका रूपमा बहुदलीय लोकतान्त्रिक राज्यव्यवस्थामा सामेल हुनसक्ने अवस्थामा पुगेका देखिन्थे ।
उनले आफ्नो मानवीय अनुहार पनि प्रकट गरे, जब उनी भन्दै थिए, “रगत बगेको कसलाई मन पर्छ ? हामीलाई पनि मन परेको छैन । हामी यो रक्तपात रोक्न चाहन्छौँ ।” त्यसैगरी उनी विशेषगरी सात दल अझ प्रस्ट हुन नसकेको र माओवादीलाई शङ्का गर्न नछाडेकामा चित्त दुःखाउँदै थिए । “कहिलेकाहीँ बाबुरामजी, हामी कुरा पनि गर्छौं, केही गरे पनि सुख नपाइने भयो, धर्मसङ्कटमा परियो,” उनी भन्दै थिए, “युद्धविराम बढाऊँ राजाले चुनाव गरि छाड्ने, नबढाऊँ फेरि माओवादी हावी हुने भए भन्ने शङ्का पाल्ने !”
सरकारलाई राजनीतिक समाधानका सूत्रमा सहमत गराउन आन्दोलनको दबाब चाहिने निचोड उनको थियो । दलहरूले आफैँ आन्दोलन गर्दा दबाब नपुग्ने गरेको धारणा भएका प्रचण्डले आफ्नातर्फबाट सशस्त्र दबाब दिँदा दलहरूबाट उहीस्तरमा सराहना पाउन नसकेको गुनासो गरे । हिंसाको समर्थन अन्य दलले गर्न सक्दैनन् । तर, दलहरू आफैँ आन्दोलन उठाउन पनि सक्दैनन् भन्ने खुलासामार्फत माओवादी राजनीतिक समाधानका लागि व्यग्र देखिए । संविधानसभासम्म पुग्ने मार्गचित्रबारे दलहरूसँगको भिन्नता पनि उनले लुकाउन चाहेनन् । युद्धविराम गरेर राजालाई संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी बन्नबाट रोक्ने वातावरण बनाउन सकेका माओवादीले चुनाव विफल पार्ने रणनीतिका लागि भने त्यही बाटो अख्तियार गर्न सकेनन् । उनीहरू दबाबमूलक कारबाही अहिलेको मूल लक्ष्य बनाइरहेका पाइए । साझा सेना बनाउने प्रस्ताव दलहरूका लागि सम्भव देखिँदैन भन्ने उनले बुझेकै हुनुपर्छ । साझा सेना र समानान्तर सरकार पनि राजालाई दबाब दिने रणनीति भन्ने छर्लङ्ग हुन्थ्यो । किनभने, “संविधानसभाले सक्रिय वा संवैधानिक राजतन्त्र भन्ने परण्िााम दिए त्यो पनि स्वीकार्छौं,
त्यस्तो परिणाम आए शाही नेपाली सेना जस्ताको तस्तै रहनेछ” भनेर स्वीकार्न उनले हिच्किचाएनन् । सेनाको पुनर्गठन गर्नसके सीमित ठाउँ दिएर राखिएको राजसंस्थाबाट भविष्यमा राजनीतिक महत्त्वाकाङ्क्षा प्रकट हुने सम्भावना टार्न सकिन्छ भन्ने उनको मनसाय पनि व्याख्या गर्न सकिन्थ्यो ।
झन्डै तीन दशकदेखि भूमिगत जीवनमा अभ्यस्त प्रचण्ड सीधा प्रश्नोत्तरमै खुल्दै गए । सुरुमा उनी डा भट्टराईलाई सोध्दै कुर्सीबाट बुद्रुक्क खाटमा सरेका थिए, हाम्रो सम्मुख बस्न । सजिलोका लागि तकिया तानेर काखमा राखे । हातमा मोबाइल फोन थियो । दुई घण्टाभित्र त्यसमा चार-पाँचपटक फोन आयो । घण्टी बजे पनि उनी काट्दै जान्थे । एकपटक भने “एकछिन है” भनेर उनले मोबाइल उठाए । “ह…ह…,” भन्दै उनले सोधे, “अनि कार्यक्रम के भयो ?”
अन्तर्वार्ताक्रममा उनीहरूले कहिल्यै टेप रेकर्डर अफ गर्न भनेनन्, त्यतिबेला भने फोनवार्ता रेकर्ड नहोओस् भनेर डा भट्टराईले हामीलाई आग्रह गरे । काठमाडौँबाट कसैले सम्पर्क गरेको रहेछ । फोन सकिएपछि हामीले सोध्दा त्यसबारे पनि उनी खुलस्त हुन खोजे । अघि हामीलाई डोर्याउँदै ल्याउने दुई तन्नेरीले सिसाको गिलासमा कहिले कोक, कहिले चिया ल्याए ।
बिस्कुटका पुरिया पनि खोले । छेउमा भान्छा थियो तर त्यो नेताद्वयको अस्थायी ‘सेल्टर’ हुनुपर्छ । किनभने, डा भट्टराईले एकपल्ट एक तन्नेरीलाई सोधेका थिए, “ट्वाइलेट कतापट्ट िहो ?”
सुरुमा प्रचण्ड र बाबुराम दुवै अन्तर्वार्तामा बस्लान् भन्ने हामीलाई शङ्कै थियो । किनभने, त्यस्तो मारकाट परेको एक वर्ष पनि बितेको छैन । तर, पार्टी अध्यक्षको अन्तर्वार्ता आयोजना गराउनेदेखि अन्तर्वार्ताक्रममा घरिघरि अध्यक्षलाई सहयोग गर्नेसम्म डा भट्टराई तत्पर भइरहे । अरूबेला भने सायद अत्यधिक थकानवशः उनी हाई काड्थे, खुट्टा हल्लाउँथे । कतै हाम्रा प्रश्न उनलाई झर्को लागेको त होइन भन्नेसम्म चिसो पस्थ्यो । तर, बेला-बेला चुसुक्क आफ्नो सानो टिप्पणी उनी घुसाउँथे ।
‘पार्टी हाइकमान्ड’ कहिल्यै पनि सत्ता र शक्तिमा नलाग्ने, ‘मोरल अथोरिटी’ का रूपमा रहने भनेर प्रचण्डले जवाफ दिएपछि हामीले त्यसबारे प्रस्ट गर्न आग्रह गर्दा डा भट्टराईले प्वाक्क थपे, “गान्धी बन्ने गान्धी !”
सशस्त्र हिंसात्मक आन्दोलनलाई “सर्प पनि नमर्ने, लट्ठी पनि नभाँचिने कहाँ हुन्छ ?” भन्ने नेताले आजीवन अहिंसात्मक आन्दोलनका पर्याय बनेका महात्मा गान्धीको नाम लिँदा हाम्रो हाँसो छुट्नु अचम्म थिएन । “तपाईंहरू अहिले यसरी एकै ठाउँ मिलेर बस्नुभएको छ,” हामीले सोधेका थियौँ, “त्यत्रो कलह सार्वजनिक भएको थियो !”
“त्यो पनि माघ १९ सँगै,” हामीले थपेका थियौँ ।
प्रचण्ड त्यही कारण पनि बढी खुलस्त लाग्यो, जब उनले विवादको कारण खोतल्दै गए । “माघ १९ सँगै विवाद देखिनु त्यो एउटा दुर्भाग्य थियो,” उनले भने । त्यो विवादको चरण पार भइसकेको सावित गर्ने प्रयत्न उनले गरे ।
“बाबुरामले भारत सरकारसँग सम्बन्ध बनाएर मलाई पक्रिन लगाउँछन् भन्ने पार्टीमा परेको थियो” भन्दै उनले त्यसअघि मातृका यादव र सुरेश आलेमगर भारतीय प्रहरीले पक्रेर नेपाललाई सुपुर्दगी गर्दा “मलाई पक्राउ गर्न खोजेका थिए भन्ने परेको थियो” समेत भने । परस्पर षड्यन्त्रको आशङ्का चुलिँदै गएपछि एकले अर्कालाई ‘पार्टीहरूसँग र अरूसँग पनि वार्ता गर्न’ डा भट्टराईलाई भारत पठाएपछि आफू पनि त्यतै गएको -तर पक्राउ नपरेको), एकै ठाउँ बसेर सात दलका प्रतिनिधि नेताहरूसँग वार्ताकै क्रममा आफूहरूबीच छलफल हुँदै गएपछि शङ्का निवारण भएको उनले खुलस्त पारे ।
“त्यति हुँदा एउटा कम्युनिस्ट पार्टी फुटिसक्थ्यो” भन्ने प्रचण्डले आपसी विवाद मिलाएर हामीसँग अन्तर्वार्ता क्रममा केही महत्त्वपूर्ण बुँदामा टिप्पणी गर्नुपर्दा डा भट्टराईतिर हेर्ने गरेको देखियो । त्यसले उनीहरूबीच सम्बन्ध पुनः यथावत् राख्न सकेको जनाउँथ्यो ।
अन्तर्वार्तापछि मैले क्यामरा निकालेर तस्बिर खिच्न अनुमति माग्दा प्रचण्डले हत्तपत्त कुनै निधो गर्न सकेनन् । डा भट्टराईले भने, “होइन नखिचौँ, उहाँलाई (आवागमनमा) अप्ठ्यारो पर्छ ।” उहाँका यसअघि सार्वजनिक भएका तस्बिरभन्दा के फरक होला र भन्ने जिकिर गर्दै गर्यौँ । हामीले जोड पनि गर्यौँ, यस्तो पहिलो अन्तर्वार्ता फोटोबिना आकर्षक हुँदैन भनेर । प्रचण्डले अन्त्यमा सोधे, “के गर्ने त बाबुरामजी, ल भन्नोस् !”
डा भट्टराईले ‘हुन्छ त’ भनेपछि उनी क्यामरातिर हेर्न राजी भए । कुनैबेला माओवादी भन्नेबित्तिकै डा भट्टराई भन्ने गर्थे, “शहरयिा बुद्धिजीवीहरू” । माओवादी भन्दा “डा भट्टराईहरू…” भन्ने गरेको सुनिन्थ्यो । एसएलसी बोर्डफस्ट भएका, जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिध गरेका, आर्किटेक इन्जिनियरका रूपमा रामेछापको मन्थलीलगायतका शहरको रेखाङ्कन गरेका, पञ्चायतकालमा मानवअधिकार सङ्गठनमा समेत उपाध्यक्ष भएका, काठमाडौँ बसेर ०४६ साल र त्यसपछि ‘मसाल जुलुस’ र ‘नेपाल बन्द’ गर्ने गरेका, उसमाथि दुई वर्षअघि वार्ताटोलीको नेतृत्व गर्दै आएका उनको व्यक्तित्वको प्रभाव र प्रचार सधैँ भूमिगत रहेका प्रचण्डको तुलनामा अत्यधिक हुनु स्वाभाविक थियो । प्रसङ्गैप्रसङ्गमा एउटा जवाफका क्रममा आफू र आफ्नो पार्टीबारे हुने गरेका भ्रम खोतल्दै अध्यक्षले स्वीकारहिाले, “कस्तोसम्म भयो भने प्रचण्ड भनेको कोही पनि छैनजस्तो समेत भयो !”
प्रचण्ड र डा भट्टराईको मेलमिलापको गाँठीबारे भेउ पाउन त्यत्तिमा सम्भव थिएन । तर, उनले आफूलाई व्यावहारकि नेताका साथै दुवैको पार्टी फुटाउने नियत नभएकाले छलफलद्वारै विवाद टुङ्ग्याइएको बताउन जोड गरे । “तपाईंहरू ‘हाइकमान्ड’ कहिल्यै सत्तामा नजाने र पछि पार्टीको पद पनि नलिने सम्झौता त्यही विवाद मिलाउने कुरासँग सम्बन्धित हो ?” भन्ने प्रश्न गर्दा भने उनले त्यसलाई नकारे । तर, त्यो माओवादी पार्टीमा विकसित भइरहेको धेरैथरी स्वीकारोक्ति र लचकताको एउटा कडी हो भन्ने हामीलाई पर्यो ।
संविधानसभातिर पुग्दा जातीय, क्षेत्रीय अखण्डता र स्थायित्व चुनौतीपूर्ण नहोला भन्ने के भर भन्ने जिज्ञासा अन्तर्वार्ताको बिट मार्दै हामीले राख्यौँ । डा भट्टराई चित्त नबुझेको कुरा ट्वाक्कै भन्न चाहने रहेछन्, यस्तो पनि शङ्का राख्ने भन्ने शैलीमा प्याट्ट भनिहाले, “एक व्यक्तिबाट हुने स्थायित्व वा अखण्डता, भोलि जनताले गर्न नसक्ने कुरा आउँछ ?”
“तपाईंहरूले मेरो किताब पढ्नुभयो ?” केहीबेरअघि उनले सोधेका थिए ।
“छैन,” भनेपछि उनले दुई प्रति त्यहाँछेउ कतै बसिरहेका तन्नेरीसँग मागे । अनि, हामीलाई दिए, नयाँ दिल्लीमा छापिएको त्यो अङ्ग्रेजी लेखहरूको सँगालोको आवरणमा लेखिएको थियो, मोनार्की भर्सेज डेमोक्रेसी ।
प्रचण्ड भन्दै थिए, “मैले भनेका कतिपय शब्दहरू छाप्न तपाईंहरूलाई गाह्रो हुन्छ भन्ने हामीलाई थाहा छ ।”
त्यो ठीक हो तर हामीले पहिला सोचेभन्दा धेरै फरक अन्तर्वार्ता पाएका थियौँ, जसमा शब्दहरू मात्र मिलाए पुग्ने थियो । उनको राजनीतिक लक्ष्य अन्य शक्तिहरूभन्दा खासै भिन्न थिएन, केवल प्रक्रियागत मतभेदहरू थिए ।
श्रोतः नेपाल