नेपाली श्रम वजारः सन्दर्भ साउदी अरेविया
सामाजिक क्रान्ति, राजनैतिक हलचल तथा गरीवीले निम्तयाएको वेरोजगारी समस्याको समाधान र विगर्दो नेपाली अर्थतन्त्रको टेवाको रुपमा मेरुदण्ड वनेको वैदेशिक रोजगारलाई व्यवस्थित तुल्याउन यसका कमि कमजोरी निवारण गर्ने पहल सवैस्तर र सवै पक्षबाट हुन नितान्त आवश्यक छ ।
विश्वको सवैभन्दा गरीव मुलुक नेपालका नेपालीहरुको पहुँचमा रहेको मध्यपूर्व एशियाको श्रमबजार खाडी मुलुक त झनै नेपाली अर्थतन्त्रको मुख्य अनि सहज श्रमवजार हो भनेर मान्न सकिन्छ । लगभग ३ लाखको हाराहारीमा साउदी अरेवियामा मात्र नेपालीहरु कार्यरत छन् । यहाँ तेल र ग्याँसका कुवाहरु देखि लिएर सुपरमार्केट तथा प्रतिष्ठित कम्पनीहरुमा समेत नेपालीहरुले श्रम वेचेको पाइन्छ । प्रायतः यहाँ भित्रने नेपालीहरुमा लेभर दर्जामा कार्यरतको संख्या निकै ठूलो छ भने राम्रो ट्रेडहरुमा छिर्नेहरुको संख्या पनि विस्तारै फष्टाउँदै छ ।
ठूला देशहरुमा भित्रनु धेरै आर्थिक व्ययभार वोक्नुपर्ने र शिक्षित हुनुपर्ने प्रावधानका कारण होला ठूला देशहरुमा भित्रनु निकै समस्याहरु झेल्नु पर्ने कुरामा निर्विवाद छ तर मध्यपूर्वका देशहरु खाडी मुलुकमा छिर्न शिक्षित, अर्धशिक्षित लगायत अशिक्षित जमातले पनि इन्ट्री भिसा पाउन सक्ने प्रावधान रहेकोले होला यहाँ नेपालीहरुको संख्या दिनानुदिन निकै भित्रदै गएको आँकडाहरुले प्रष्टयाउँदछ ।
तर यिनीहरुको सही पहिचान, परिचालन, व्यवस्थित तयारी, टेनिङ, सुझाव तथा नीतिनियम र यहाँको अवस्थावारे स्पष्ट जानकारी नहुँदा निकै अभावहरु तथा दुःखका पर्यायवाचीहरु, शुक्रवारको दिन दमामको नेपाली गार्डेन रियादको सोनी विल्डिङमा हजारौंको संख्यामा भेटिने नेपालीहरुको निधारका खुम्चाहरुले प्रष्ट वोलिरहेका हुन्छन् । त्यस दिन निकै ठूलो नेपालीहरुको मेला लागेको भान हुन्छ । तिनै भीडमा नेपाली वजार पनि लाग्ने गर्दछ ।
खाडी मुलुकहरु जहाँ पूर्वाभ्यास विना प्रवासीन्छन्, उनीहरुमा एक त ज्ञानको कमि हुनु, यहाँको भाषा, भेषभुषा, परिवेश र वातावरण बारे शून्य ज्ञान हुने हुँदा झनै चर्किदो समस्याको रुपमा देखा पर्ने गर्दछ । फितलो सरकारी संयन्त्रको फाइदा उठाउन लालायित गल्फका कम्पनीहरुले दिन दहाडै नेपाली श्रमको शोषण गरिरहेका छन् । अन्य विदेशीहरुको तुलनामा कम तलव, कम सुविधा अनि धेरै करार अवधि यतिसम्म कि गाँस वास र कपासमा समेत नेपालीहरुमाथि विभेद खड्किदो छ । तर पनि नेपाल सरकारको सरकारी संयन्त्र कानमा तेल हालेर सुस्ताउनु पक्कै पनि नेपाली अर्थतन्त्रको गालामा नराम्रो झापड सिद्ध नहोला भन्नसक्ने स्थिति छैन । त्यसैले समय वितेपछि पछुताउनु भन्दा वेलैमा बुद्धि पुर्याउँन सके सवैको भलो हुनेछ नै ।
दुःख गरेरै भएपनि प्रवासमा नेपालीहरु एकअर्कामा सहयोगीको भावना जगाएर, हातेमालो गर्दै अघि बढिरहेका छन् । देशमा त्रिकोणात्मक द्धन्द्ध, आर्थिक मन्दी, सरकार दिवालिया हुन लागिरहेको वर्तमान अवस्थामा खाडी मुलुकबाट भित्र्ने रिमिटेन्सले नै केहि हदसम्म भएपनि सरकार र देशको अर्थतन्त्रमा ठूलो भूमिका खेलिरहेको वास्तविकता सरकारले भुल्न हुन्न ।
जेहोस्, हिजो दुइजना नेपाली साथीहरु निलन कुमार महर्जन र दामोदर ढुंगाना नेपाल र्फकनु भयो सधैंको लागि । यतिवेला साथीहरु छुटेकोमा दुःखलाग्नु त स्वभाविक नै हो तर नेपाल फर्केकोमा गौरवान्वित पनि भए । विदाइको क्षणमा खिचिएको भिडियो क्लीपको केहि अंशहरु तल हेर्नुहोला ।