प्रधानमन्त्री कोइरालाको स्वास्थ्यमा सुधार कोइरालाद्वारा अस्पतालमै सथप
काठमाडौ ४ जुलाई २००६ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
स्वास्थ्यमा सुधार देखिए तापनि प्रधानमन्त्री कोइरालालाई कम्तिमा २ दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने कोइरालाका निजी चिकित्सक डा. मधु घिमिरेले बताउनुभएको छ। चिकित्सकहरुले आज बिहान ५.३० बजे पुनः स्वास्थ्य परिक्षण गरेका थिए । आज बिहानैदेखि राजनीतिक दलका नेता, कार्यकर्ता र शुभचिन्तकहरुका अस्पतालमा भीड लागेको छ । हिजो राति करिब १०.३० बजेतिर अचानक अस्वस्थ हुनु भएपछि प्रधानमन्त्री कोइरालालाई उपचारका लागि सहिद गंगालाल हृदयरोग केन्द्र महाराजगंजमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री कोइरालाको दाहिने फोक्सोमा निमोनियाको लक्षण देखिएको जानकारी कोइरालाका निजी चिकित्सक डा. मधु घिमिरेले दिनु भएको छ । उपचारका लागि तत्काल विदेश लैजाने कुनै कार्यक्रम नभएपनि विदेशबाट चिकित्सक झिकाउन सकिने प्रधानमन्त्रीका निजी चिकित्सक डा. मधु घिमिरेले जानकारी दिनुभएको छ।
अस्पताल हाताबाट एफएन न्युज सम्वाददाताले जनाएअनुसार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज सहिद गंगालाल हृदयरोग केन्द्रबाटै प्रतिनिधिसभाको सथप ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिमण्डलका सदस्यहरुले आज प्रतिनिधिसभा समक्ष सथप गर्ने कार्यक्रम रहेकोमा उहाँ अचानक अस्वास्थ हुनु भएपछि अस्पतालबाटै सपथ ग्रहणको कागजमा हस्ताक्षर गर्नुभएको हो ।
यसैबीच प्रधानमन्त्री कोइरालालाई भेट्न सभामुख सुवास नेम्बाङ्ग, उपप्रधान तथा स्वास्थ्यमन्त्री अमिक शेरचन र कांग्रेस उपसभापति शुसिल कोइरालालाई मात्र अनुमति दिइएको एफएन न्युज सम्वाददाताले जनाएका छन् ।
महेन्द्रनगरमा बस दुर्घटना ५ को मृत्यु
काठमाडौ ४ जुलाई २००६ । अछामको साँफेबगरबाट महेन्द्रनगरतर्फ आइरहेको ना २ ख १२०६ नम्बरको यात्रुबाहक बस आज बिहान ४.४५ बजे धनगढी महेन्द्रनगर राजमार्गको कृष्णनगर गाविसमा पर्ने गुलरियामा दुर्घटना हुँदा २ महिलासहित ५ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ।
चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ४५ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ। दुर्घटनाको कारण भने स्पष्त नभइसकेको एफएन न्युज सम्वाददाताले जनाएका छन् ।
दाङमा बम विष्फोट २ सुरक्षाकर्मीसहित दर्जन घाइते
काठमाडौ ४ जुलाई २००६ । दाङको लमहीमा आज बिहान बम विष्फोटन हुँदा एक दर्जन सर्वसाधारण घाइते भएका छन् ।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेका २ जनालाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको दाङस्थित एफएन न्युज सम्वाददाताले जनाएका छन् ।
संयुक्त सुरक्षा बेस क्याम्पले आफ्नो सुरक्षाका लागि राखेको प्रेसर कुकर बम विष्फोट हुँदा उक्त घटना भएको हो । बम सुरक्षा बेस क्याम्प लमहीमा कम्पाउण्ड एरियाभित्र विजुलीको पोल गाड्न लाग्दा भएको बताइएको छ। सुरक्षाफौजले उक्त बम आफ्नो सुरक्षाका लागि राखेको एफएन न्युज सम्वाददाताद्वारा प्रेषित समाचारमा उल्लेख छ । आज बिहान भएको उक्त विष्फोटनबाट ३ सर्वसाधारण र २ सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेमध्ये २ सुरक्षाकर्मी र एक सर्वसाधारण गम्भीर घाइते भएको र थप उपचारका लागि नेपालगंज लगिएको छ । नेपालगंज लगिएको दुई सुरक्षाकर्मीमा सशस्त्र प्रहरीका हवल्दार राजकुमार चौधरी र जनपथ प्रहरीका प्रहरी जवान भविन्द्र राउत रहेका छन् ।
हतियार व्यवस्थापनाका लागि राष्ट्र संघलाई पत्र पठाइयो
काठमाडौ ४ जुलाई २००६ । नेपाल सरकारले संविधानसभाको स्वातन्त्र एवं निष्पक्ष निर्वाचनका लागि नेपाली सेना र माओवादी जनसेनाको हतियार व्यवस्थापन र अनुगमनका लाग सहयोग गर्न आग्रह गर्दै सोमबार संयुक्त राष्ट्र संघलाई पत्र पठाएको छ।
स्रोतहरुका अनुसार यही असार २ गते सात राजनीतिक दल र माओवादीका शीर्ष नेताहरुबीच भएको शिखर वार्तापछि जारी गरिएको ८ बुँदे सहमतिको ३ नम्बर बुँदामा सरकारले राष्ट्र संघलाई हतियार व्यवस्थापन तथा अनुगमनका लागि पत्र पठाएको हो । तर, पत्रमा के कस्ता विषय समेटिएका छन् भन्ने स्पष्ट हुन सकेको छैन ।
Saujanya: एफएन न्युज