प्रेमका पाँच दिनहरू
पहिलो दिन
उनीहरू आँखाहरू एक्कासी जुधे । केटाले केटीको शरिरलाइ बेस्सरी नियाल्यो । केटाले आफूलाइ हेरिरहेको थाह पाएर केटीले लाजले शिर झुकाइ । तर केटाले उबाट आँखा हटाएन । केहीवेर पछि केटीले शिर उठाएर विस्तारै केटालाइ पुलुक्क हेरी । अझै पनि आफैलाइ हेरिरहेको थाहा पाएर केटीलाइ कताकता भित्रैबाट रमाइलो लागेर आयो । सायद समयले आज उसलाइ साथी दिएको थियो । जसले उसलाइ मन परायो । उनीहरूको प्रेमको शुरुवात भए झै मलाइ लाग्यो ।
दोस्रो दिन
आज उनीहरू बोलिरहेको देखें । दुवै जनाको मुहारमा एउटा अचम्मको चमक, एउटा अचम्मको खुशी थियो । लाग्थ्यो आज दुवै जना एक अर्कासँग बोल्न पाएर, धेरै दिनका आफ्ना भावनाहरू पोख्न पाएर आफूलाइ हलुका बनाइरहेका छन्न् । आज उनीहरूको प्रेमले एउटा बाटो तय गरेको मलाइ आभाष भयो ।
तेस्रो दिन
केटाले मन थामिराख्न सकेन । उसले केटीको हात समायो । केटीले पनि केटाको हात समातेर दवार्इ । केटाको आँखामा अचम्मको खुशीको लहर दौडियो । उसले विस्तारै केटीलाइ आफूतिर तान्यो । केटी विना प्रतिक्रया उतिर तानिइरही । अब उसले केटीको अधर चुम्न चाह्यो । केटीले यसमा कुनै बाधा गरिन । उफ मलाइ ! यस्तो हेरिरहन मन लागेन । म घरतिर लागें ।
चौथो दिन
परबाट हेर्दा आज दुवैजनाको बीचको दुरी हिजा अस्तिको भन्दा बढेको लाग्यो । उनीहरू मौन देखिन्थे । एकैछिनमा केटाले औलो ठड्याएर केटीलाइ केही भने जस्तो गर्यो । केटी पनि अचानक आवेशमा आइ । उसले केटाको गालामा हिर्काएको देखें । केटा आफ्नो ठाउँबाट जुरुक्क उठ्यो । उ केटीलाइ एक्लै छाडेर हिड्यो । केटीले केटा गएको परसम्म हेरिरही । केटीले आफ्नो आँखाको आँशु पुछी र त्यहाँबाट हिंडी ।
पाँचौ दिन
आज केटाको आँखा फेरि जुध्यो । केटीले पनि लाजले फेरि शिर झुकाइ । केटाको साथमा नयाँ केटी थिइ । केटीको साथमा अर्कै केटा थियो । केटाको मन हिजो अस्तिको भन्दा चञ्चल देखें । केटी हिजो अस्तिभन्दा खुशी थिइ । मलाइ उनीहरूको प्रेम जाँचिरहन मन लागेन । मैले उनीहरूको नयाँ जीवनको शुभकामना दिएँ । सायद उनीहरूको यो अन्तिम प्रेम होस् ।