प्रेस विज्ञप्ति : नेपाल मण्डल फोरम
नेपालमा २३७ वर्षअघिदेखि लादिएको एक जाति, एक धर्म, एक भाषा, एक भेषको एकाधिकारवादी साम्प्रदायिक शासन व्यवस्थाको विरुद्ध नेपाली जनताले गर्दैआएको संघर्ष परिणाम स्वरुप समावेसी लोकतन्त्र र जातिय स्वशासन सहित नेपाल राज्यको पुनर्संरचना गर्ने अवधारणा सशक्त रुपले अघि बढिरहेको छ । राज्य पुनर्संरचनाको यो अवधारणा बारे अब हुने भनिएको संविधानसभामा छिनोफानो हुने निश्चित छ । सयौं वर्षेखि विभेदकारी तथा दमनकारी राज्य नीतिको शिकार हुँदैआएका नेपालका आदिवासी जनजातिहरु तथा सिमान्तिकृत अन्य समुदायहरुका लागि यो एउटा खुसिको कुरा हो ।
हामी नेवारहरु पनि विभेदकारी राज्यनीतिका शिकार यस देशका आदिवासी जनजाति मध्येको एउटा जाति हो । तर्सथ जातिय स्वशासन हामी नेवारहरुको पनि जोडदार र सशक्त माग हो । स्वशासन भन्नासाथ स्वशासित क्षेत्र अथवा स्वायत्त क्षेत्रको कुरा पनि संगसंगै आउँछ । किनकि स्वशासन भनेको प्राण हो भने स्वशासित क्षेत्र वा स्वायत्त क्षेत्र भनेको शरिर हो । प्राण नभएको शरिर र शरिर नभएको प्राणको कुनै अर्थ हुँदैन । तर्सथ जातिय स्वशासन भन्नासाथ जातिय स्वायत्त क्षेत्रको कुरा पनि संगसंगै गाँसिएर आउँछ ।
जातिय स्वशासन र राज्यको पुनर्संरचनाको माग सशक्त हुँदै आएपछि केही वर्षअघिदेखि जातिय स्वशासनका पक्षधर विभिन्न विद्वानहरु एवं गैर नेवार जातिय संघसंस्था तथा राजनीतिक पार्टीले जातिय स्वायत्त क्षेत्रको सिमाङ्कन सम्बन्धी आआफ्नै खालका अवधारणाहरु अघि सार्दै आएका छन् । तर उनीहरुले नेपालको इतिहासलाई पूरै बेवास्ता गर्दै र नेवारहरुसंग कुनै परामर्श नै नगरिकन नेवारहरुको स्वायत्त क्षेत्र भनेको काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाले ओगटेको क्षेत्र मात्र हो भन्ने गलत कुरालाई जोडतोडका साथ अघि सार्दै आएका छन् । नेवारहरुको स्वायत्त क्षेत्र अरु कसैले अड्कलेर दया वा भीखमा दिइने वस्तु होइन । आफ्नो स्वायत्त क्षेत्र यस्तो छ, यहाँ छ, यति छ भनी दावी गर्ने कुरा नेवारहरुको नैर्सर्गिक अधिकार भित्रको कुरा हो । काठमाडौं उपत्यका मात्र नेवारहरुको स्वायत्त क्षेत्र हो भनी नेपालको इतिहास र नेवार जातिकै विरुद्ध अघि सारिएका यस्ता गलत अवधारणालाई सशक्त विरोध तथा अस्वीकार गर्दै र नेवारहरुको २३७ वर्षअघि गुमेको राज्य नेपाल मण्डललाई वर्तमान परिस्थितिमा आफ्नो जातिय स्वायत्त क्षेत्रको रुपमा पुनः प्राप्त गर्ने ऐतिहासिक दावी सहित आज २०६३ साल असार २३ गते शुक्रवार काठमाडौंमा बसेको नेवारहरुको यस बृहत भेलाले श्री सुरेश प्रधानको संयोजकत्वमा नेपाल मण्डल फोरम गठन गरिएको घोषणा गर्दछ र सम्पूर्ण स्वाभिमानी नेवारहरुलाई फोरमको झण्डामुनि गोलबन्द हुन र जातिय अस्तित्व, स्वशासन र न्यायपूर्ण स्वायत्त क्षेत्र प्राप्तिका लागि सशक्त संघर्षमा उत्रन आव्हान गर्दछ ।
मितिः- २०६३।३।२३
सुरेश प्रधान
काठमाडौं, नेपाल । संयोजक,
नेपाल मण्डल फोरम