August 20, 2006

मूल्यवृद्धिको विरोधमा सिङ्गो देश ठप्प

Filed under: News

काठमाडौ ४ भदौ २०६३ । पेट्रोलियम पदार्थमा गरिएको अत्याधिक मुल्यवृद्धिको विरोधमा आज पनि राजधानी लगायत देशका विभिन्न ठाउँमा विद्यार्थी तथा उपभोक्ताहरुले विहानदेखि सुरु गरेको प्रदर्शन यो समाचार तयार पार्दासम्म जारी रहेको छ।

प्रदर्शनकारी र प्रहरीबीच केही स्थानमा झडप हुँदा केही घाइते भएका छन् भने केही स्थानमा तोडफोड पनि भएको छ । विरोध प्रदर्शनका कारण हिजोदेखि अस्तव्यस्त राजधानीको जनजीवन आज थप प्रभावित बनेको छ ।

विद्यार्थीले विहानदेखि राजधानीको सरस्वती, अस्कल, ताहचल, शंकरदेव, त्रिचन्द्र, नेपाल मानविकी, त्रिवि क्याम्पस अगाडि नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण प्रमुख क्षेत्रको यातायात पूर्ण रुपमा प्रभावित भएको छ भने बजार तथा कार्यालयहरु समेत सुचारु हुन सकेको छैनन् । राजधानीका गल्ली तथा मुख्य सडकहरुमा साइकलसमेत गुडाउन रोक लगाइएको छ। शहरका विभिन्न क्षेत्र तनावग्रस्त बनेपछि हिजोको तुलनामा आज उल्लेखित सुरक्षाकर्मी परिचालन गरिएको छ । आयल निगमको बबरमहलस्थित कार्यालयमा तोडफोडको प्रयास गर्ने आक्रोशित भिडमाथि प्रहरीले बल प्रयोग गर्दा केही घाइते भएका छन् ।

यस्तै सहरका विभिन्न पेट्रोल पम्पहरुमा तोडफोडको प्रयास गरेपनि ठुलो क्षती हुन पाएको छैन । कालिमाटीमा सेनाको गाडिमा ढुंगा मुडा गर्नेमाथि लाठ्ठीचार्ज गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले कुपण्डोल चोक नजिकै टेलिकमको एउटा मोटरसाइकल जलाइदिएका छन् भने जाउलाखेलमा माइक्रोबस र सोह्रखुट्टेमा ट्याक्सीमा तोडफोड गरेका छन् ।

मुल्यवृद्धि विरुद्ध सत्तारुढ दल एमाले निकटको अनेरास्ववियूले विहान १ घण्टा देशभरका क्याम्पस अगाडि चक्काजाम गर्‍यो भने अहिले राजधानीको रत्नपार्कमा चक्काजाम गरेको छ। भक्तपुरमा माओवादीको जनवर्गीय संगठनका कार्यकर्ताले अरनिको राजमार्गको मनोहरादेखि सांगाको सडक पुरै बन्द गराएका छन् । भक्तपुरको पेप्सीकोलाबाट ठुलो संख्यामा निस्केको जुलुस कोटेश्वर आइपुग्दा प्रहरीले हस्तक्षेप गरी १० जनालाई घाइते बनाएको नेविसंघले जनाएको छ । त्यहाँ भिजलान्ते समुहले प्रदर्शनकारीमाथि रड प्रहार गरी केही घाइते बनाएको छ ।

प्रहरी कार्यालयका अनुसार राजधानीको बालाजु, नयाँ बसपार्क, सोह्रखुट्टे, गंगबु, चावहिल, कोटेश्वर, बबरमहल, कालिमाटी, किर्तिपुर, कलंकी, सीतापाइला, वनस्थली, सानो भर्‍याङ, भोटाहिटि, पुरानो बसपार्क लगायतका क्षेत्रमा मुल्यवृद्धिको विरोधमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनका कारण ललितपुरको पुल्चोक, जाउलाखेल, लगनखेल, ग्वार्खु, एकान्तकुना, तथा भक्तपुरको जडिबुडी लगायतको स्थानमा पनि तनावपूर्ण अवस्था रहेको छ ।

यस्तै राष्ट्रिय जनशक्ति पार्टी, नेपाल तरण दल, नेपाल विद्यार्थी संघ, विश्वविद्यालय कर्मचारी संघ, लोकतान्त्रिक नागरिक समाज, मानवअधिकार तथा जनसरोकार समिति नेपाल पत्रकार महासंघ लगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी मुल्यवृद्धिको तीब्र विरोध गर्दै सो निर्णय फिर्ता लिन माग गरेका छन् ।

सत्ता साझेदार जनमोर्चाले राजधानीको सुन्धाराबाट न्यूरोटसम्म प्रदर्शन गरेको छ । एमाले निकटको अनेरास्वयूले मुल्यवृद्धिको विरोध गर्दै आपूर्ति मन्त्रालय तथा प्रतिनिधिसभा समक्ष विभिन्न ४ सूत्रीय माग पेस गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न विद्यार्थीलाई परिचय पत्रको आधारमा पेट्रोलियम पदार्थमा र यातायातमा ५० प्रतिशत सहुलियत प्रदान गर्न तथा गरिबीको रेखामुनि रहेका र दुर्गम जिल्लाका जनतालाई उचित राहतको व्यवस्था गर्न माग गरेको छ । उपत्यका बाहिर पर्ने विभिन्न जिल्लामा पनि विहानदेखि उपभोक्ता तथा विद्यार्थीहरु सडकमा उत्रेको बताएको छ । पूर्वमा प्रदर्शनकारीहरुले कोशी राजमार्ग अन्तर्गत धरान, धनकुटा तथा तेह्रथुम खण्ड विहान ३ घण्टा अवरुद्ध बनाएका छन् । उदयपुरको गाइघाट, सिराहाको लाहान, दोलखाको चरिकोट, बाराको सिमरामा विद्यार्थीले नाराबाजी गर्दै प्रदर्शन र चक्काजाम गरेका छन् । यस्तै रौतहटको चन्द्रनिगापुरमा अखिल क्रान्तिकारी सहित ८ विद्यार्थी संघले महेेन्द्र राजमार्ग अवरुद्ध पार्दा सारा सवारी साधन अलपत्र परेका छन् । काभ्रेको बनेपा, धुलीखेल, पनौती लगाएत स्थानमा प्रदर्शनकारीले सडक अवरुद्ध पार्दा सयौं यात्रु तथा बिरामी समेत अलपत्र परेका छन् भने लाखौं रुपैंया बराबरको दुध तथा तरकारी खेरा गएको छ ।

यसअघि हिजो पेट्रोलियम पदार्थको मुल्युवृद्धिको विरोधमा आज विहानदेखि राजधानीलगायत देशका विभिन्न ठाउँहरुमा विरोध प्रदर्शन भइरहेका छन् । बिहानैबाट सुरु भएको प्रदर्शनका क्रममा केही गाडी र पेट्रोल पम्पमा तोडफोडसमेत भएका छन् भने सहर पूर्ण रुपमा तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीले दर्जनौ गाडी तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले लैनचौर, सोरखुट्टे, मिनभवन, बानेश्वर, पुतलीसडक, कलंकी, कालिमाटी, बल्खु, चावहिल, गौशला, पुल्चोक, भक्तपुरलगायतका ठाउँमा विहानैदेखि प्रदर्शन गरेका थिए ।

नयाँ बानेश्वरमा प्रहरीले अश्रुग्यास समेत प्रयोग गरेको छ । चक्रपथमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । नयाँ बानेश्वरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि केहीबेर झडप समेत भएको थियो ।

विद्यार्थीहरुले स्याङ्जा र पाल्पामा सिद्धार्थ राजमार्ग अवरुद्ध पारेका थिए भने पोखरामा बिहानैदेखि प्रदर्शन भएको थियो । चितवनमा विद्यार्थीले मसाल जुलुस निकालेका थिए भने काभ्रे, भैरहवा र बाग्लुङ्गलगायतका स्थानमा पनि व्यापक प्रदर्शन भएको थियो ।

विरोध प्रदर्शनका क्रममा राजधानीको सडक दिनभर ठप्प रह्यो । बिहानैदेखि सडकमा सवारी देखिएका थिएनन् भने मुख्य बजारहरु आज पुरै बन्द रह्यो । प्रहरीले नयाँ बानेश्वरमा आक्रोशित भिडमाथि तीन राउण्ड टियर ग्यास प्रहार गरेको थियो । प्रहरीले तीनकुने, मिनभवन, नयाण्ँ सडक, चक्रपथलगायतका स्थानमा लाठी प्रहार गर्दा दर्जनौ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले मैतीदेवी र सुन्धाराको पेट्रोल पम्प तोडफोड गरेर क्षति पुर्‍याएका छन् । प्रदर्शनका क्रममा ललितपुर मानभवनस्थित नेपाल बंगलादेश बैंकमा पनि क्षति पुर्‍याएका थिए ।

सडकमा उत्रेको आक्रोशित भिडले ढुंगामुढा गर्दा २७ वटा चार पाङ्ग्रे सवारी साधन क्षति पुर्‍याएका छन् । प्रहरीका अनुसार ९ वटा ट्याक्सी, ८ वटा निजी कार र ६ वटा भाडाका बस रहेका छन् । लैनचौरस्थित अमृत साइन्स क्याम्पस र घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले बिहानैदेखि टायर बालेर सडक अवरुद्ध पारेका थिए । एमाले निकट अनेरास्ववियुले एमालेलाई तत्काल सरकारबाट बाहिरिन माग गरेको छ।

त्यसैगरी चक्रपथमा भएको प्रदर्शनमा प्रहरीले लाठ्ठी प्रहार गर्दा करिब आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् । ताहचल क्याम्पस अगाडि प्रदर्शन गरीरहेका विद्यार्थीलाई सेनाको गाडीले धक्का दिदा ३ जना घाइते भएका छन् । त्यहाँ प्रदर्शनकारीले २ वटा बस तोडफोड गरेका छन् । अनामनगरमा एउटा ट्याक्सी, वीर अस्पतालमा २ वटा भाडाको गाडी, माइती घरमा एउटा नीजि गाडी ताडफोड गरी क्षति पुर्‍याएका छन् ।

कालिमाटीमा प्रदर्शनकारीले एउटा महानगरपालिकाको फोहोर बोक्ने गाडी, एउटा ट्याक्सी र एउटा माइक्रो बसलगायत ३ वटा गाडी आज विहान तोडफोड गरेका छन् । यस्तै प्रदर्शनकारीले गोंगबुमा २ वटा बसमा तोडफोड गरेका छन् भने मैतीदेवी र सुन्धारामा रहेका पेट्रोल पम्पमा तोडफोड गरी क्षति पुर्‍याएका छन् । चावहिल, जोरपार्टी, बानेश्वर, त्रिपुरेश्वर, महाराजगंज, गोंगबु, वसुन्धारा, नयाँ बानेश्वर, कालिमाटी कलंकी लगायतका ठाउँमा पेट्रोलियम पदार्थको मुल्युवृद्धिको विरोधकका कारण सडक पूर्ण रुपमा ठप्प भएको थियो ।

पेट्रोलिय पदार्थको मुलयवृद्धि जनताको भावना विपरीत भएको भन्दै विद्यार्थी र सर्वसाधरणले तत्काल मुल्यवृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् । प्रदर्शनका कारण राजधानीका सडकमा फाटफुट रुपमा नीजि गाडीहरु चले पनि भाडाका गाडीहरु भने चलेनन् । गाडी नचलेपछि व्यक्तिहरु एक ठाउँबाट अर्काे ठाउँ हिडेर नै जान बाध्य भएका थिए । उपत्यकामा रहेका पेट्रोल पम्पहरुको सुरुक्षाको लागि व्यपक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले उपभोक्तालाई भार बढ्ने गरी हिजो पेट्रोलियम पदार्थको मुल्य अत्याधिक रुपमा बढाएको थियो । त्यस्तै उपत्यका बाहिरका विभिन्न जिल्लामा पनि पेट्रोलिय पदार्थको मुुल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । आज काभ्रेपालाञ्चोक, पाल्पा, कास्की, झापा, लगायतका जिल्लाहरुमा विरोध प्रदर्शन भएका छन् । काभ्रेमा विद्यार्थी र सर्वसाधरणले विरोध जुलुस निकालेका छन् । प्रदर्शनकारी दोलखा, रामेछाप, सिन्धुपाल्चोकबाट काठमाडौतर्फ आउँदै गरेका गाडीहरु काभ्रेको बनेपामा रोकिका छन् । गाडी रोकिएका कारण सयौं यात्रु बनेपामा अलपत्र परेका छन् । यसैबीच सरकारले हिजो अत्याधिक रुपमा बढाएको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको माओवादी सहितका विभिन्न राजनीतिक दल र संघसंस्थाले विरोध जनाएका छन् ।

Source: एफएन न्युज

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/08/20/p352/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.