बलात्कार छल्दै नेपाली युवती फर्किइन्
खाडी मुलुक ओमानमा काम गर्न गएकी एक नेपाली युवती शारीरिक र मानसिक यातना सहँदै केही दिनअघि खाली हात नेपाल फर्किएकी छन् । मकवानपुर पद्ममोखरी-१ की २१ वषीया मीराकुमारी दाहाल ऐक्यबद्धता मासिकका ओमानस्थित प्रतिनिधि चन्दा थापाको सहयोगमा सोमबार नेपाल आइपुगेकी हुन् । पीडित दाहाल आठ महिनाअघि २०६२ साल पुसमा दलालमार्फ् दिल्ली हुँदै रोजगारीका लागि ओमान पुगेकी थिइन् । मासिक १२ हजार तलबमा डोमेस्टिक र्सर्भेन्ट को रुपमा काम गर्ने र्सतमा ओमान पुर्याइएकी पीडित दाहालले त्यहाँ पुगेपछि घरमालिकले पटक-पटक बलात्कारको प्रयास गरेको बताइन् । गत महिना घरमालिकले बलात्कार गर्न खोज्दा प्रतिकारमा उत्रिएपछि मालिकले निर्घात कुटपिट गरेको उनले बताइन् । प्रहरीमा गएर रिपोर्ट गर्दा पनि कुनै कारबाही नहुँदा पीडित दाहालले बारम्बार नेपाल फर्किन खोजे पनि घर मालिकले आफूले तिरेको पाँच सय रियाल -नेपाली ९२ हजार रुपैयाँ तिरेर मात्र र्फकन दिने बताएपछि आफू त्यहाँ बस्न बाध्य भएको गुनासो गरिन् । पछि ऐक्यबद्धता मासिकका प्रतिनिधिको सर्म्पर्कमा आएपछि मात्र नेपाल र्फकन सफल भएको दाहालले बताइन् । पत्रकार सम्मेलनमा उनले आफूलाई त्यहाँसम्म पुर्याउने दलाल पेम्बा लामालाई कारबाही गरी आफूलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेकी छन् । ओमानमा मात्रै ८ सयदेखि ९ सय नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् ।