“भूलेर पनि मलेसिया नआउँनु”
कृष्ण केसी मलेसिया
chhalkri@yahoo.com
कसलाई पो रहर हुन्छ र परदेशी भूमिमा आफ्नो रगत पसिना सित्तैमा बगाउने, तर बाध्यता अनि विवशताले गर्दा जे जस्तो परिस्थिति पनि सहनु पर्ने रहेछ। दलालले देखाउने विभिन्न प्रलोभनले मलेसिया आएका नेपालीहरुको पीडा भने निकै दयनीय छ । यहाँ काम गर्ने 80% नेपाली श्रमिकहरु आफू मलेसिया आएकोमा निकै दुःखी छन् । राम्रो तलब,सुविधा अनि राम्रो काम पाउने आशा र भरोसामा आएका अधिकांश नेपाली मलेसियाको विमानस्थलमा पाइला टेकेदेखि नै दुःख कष्टको जीवन थाल्न बाध्य हुन्छन्। विमानस्थलमा नै उनीहरुले चरम दुःख अनि मलेसियाका पुलिसहरुको चर्को दमन सहनु पर्छ । सम्बन्धित रोजगारदाता नआइकन विमानस्थलबाट बाहिर जान पाइन्न। रोजगारदाता नआए तीन चार दिनसम्म पानी पनि नखाइकन विमानस्थलमा बस्न बाध्य हुनुपर्छ ।
यहाँ कामको लागि आउने अधिकांश नेपालीहरु मध्यम वर्गीय परिवारका छन्। दाङका भीमबहादुर आफ्नो पीडा सुनाउँदै भन्छन्- देशमा केही गरौँ त रोजगार छैन, विदेशमा राम्रो कमाई हुन्छ भनेर मलेसिया आएको, तर पाँच हजार नेपाली रुपैयाँ बचाउन पनि मुस्किल पर्छ। साहुको ब्याजले आकाश नाघिसक्यो होला। एक वर्ष भइसक्यो, ६० हजार मात्र पठाएँ- उनले निकै भावुक हुँदै आफ्नो समस्या पोखे ।
मलेसियामा काम गर्ने हरेक नेपालीहरुको समस्या भिन्दाभिन्दै छ। यहाँ काम गर्ने अधिकांश नेपालीहरुले भुलेर पनि आफ्नो आफन्तलाई मलेसियामा आउन नदिने प्रतिज्ञा गर्छन् ।
इलेक्ट्रोनिक कम्पनीमा १५ हजार कमाई हुन्छ भनेर दलाललाई १ लाख २० हजार तिरेर यहाँ आएको, तर यहाँ त मुस्किलले ८ हजार बचाउन पनि सकिँदैन, १२ घण्टा काम गर्नुपर्छ, उडुसले घेरेको कोठामा सुत्नुपर्छ, महोत्तरीका महेश चौधरीको कथन थियो ।
यहाँ आउने धेरै नेपालीहरुलाई नेपालका दलालहरुले राम्रो कामको प्रलोभन दिएका हुन्छन्। इलेक्ट्रनिक कम्पनीमा भनेर आएकाहरु फलाम कम्पनीमा आफ्नो रगत बगाउन बाध्य छन्। रिसोर्टमा भनेका आएकाहरु सडक पेटीका फोहर फाल्न बाध्य छन्। एग्रिमेन्ट अनुसारको तलब सुविधा पाउने नेपालीहरु मलेसियामा निकै न्यून छन् । एउटा कामको लागि भनेर एग्रिमेन्ट पेपर देखाएर यहाँ आएर निकै गार्हो काम गर्नुपर्ने बाध्यता छ ।
२० हजार तलब अनि खान बस्नको सुबिधा छ भनेर आएको तर यहाँ त ८ घण्टादेखि काम दिँदैन कम्पनीले कोठा, पानी ,बिजुली सबैको पैसा काट्छ। महिनामा ९००० पनि मुस्किलले तलब पाइन्छ त्यसैमाथि खानामा खर्च गर्नुपर्ने। ५ हजार पनि बचाउन गार्हो छ- क्लासिकमा काम गर्ने नेपालीको कथन छ। दलाललाई फोन गर्यो, तिमीहरु तुरुन्त फर्केर आइज, सबै पैसा फिर्ता दिन्छु भन्छ तर कम्पनीले नेपाल जानको लागि २५०० मलेसियन रिङ्गेट माग्छ। यत्रो पैसा कहाँबाट जम्मा गरेर दिने उनीहरुले सामूहिक रुपमा प्रश्न राखे।
अहिले मलेसियामा करिब चार लाखको हाराहारीमा नेपाली कामदारहरु छन्। ती मध्ये अधिकांश नेपालीहरुले निकै दुःख कष्ट सहेर बसेका छन्। कम्पनीमा केही बोल्यो कि त गुण्डा अनि पुलिस लगाएर कुटाउँछ। जस्तो भए पनि सहेर बस्नु पर्छ- गुल्मीका आकाश भण्डारीले आफ्नो दुस्ख पोख्दै भने ।
यहाँ कतिपय कम्पनीहरुले दलाललाई नै सबै जिम्मा दिने हुँदा नेपालीहरुको हकहितका लागि कोही नेपालीहरु पनि बोल्न सक्तैनन् । कम्पनीमा केही कुरा राख्यो भने तेरो एजेन्टलाई गएर भन् भन्छ। तिमीहरु एजेन्टको मान्छे हो, हामीले काम मात्र दिने हो भनेर कम्पनी उम्कने प्रयास गर्छ। एजेन्टलाई फोन गर्यो, फोन उठाउँदैनन्। जस्तो भए पनि बाँच्नको लागि भए पनि काम गरेर खान पर्ने बाध्यता छ । मलेसियामा हरेक हप्ता द्ध जना नेपाली श्रमिकको मृत्यु हुने गर्दछ। त्यसको बारेमा न त नेपाल सरकारलाई कुनै चासो छ न त सम्बन्धित रोजगारदातालाई नै। कम्पनीले कम्पनीभित्र मृत्यु भएमा मात्र शव नेपाल पठाउन सहयोग गर्छ। यदि कुनै दुर्घटना वा अन्य कुनै कारणले मृत्यु भएमा शव नेपाल पठाउन निकै कठिन हुन्छ। त्यसको लागि हरेक मान्छेबाट चन्दा उठाउन बाध्य हुनुपर्छ । कुनै कारणले यहाँ बिरामी परे पनि कम्पनीको लापरवाहीका कारण यहाँ धेरै नेपालीहरुको मृत्यु हुने गरेको छ ।
कम्पनीमा काम गर्दा कम्पनी मालिकको भनाई, अनि बाटोमा हिँड्दा होस् या कामबाट फर्केर रुममा जाँदा- यहाँका स्थानीय गुण्डाहरुको पिटाई अनि लुटाई खेप्न बाध्य हुनुपर्छ। यति मात्र नभएर यहाँ कामको अवधि पूरा गरेर नेपाल फर्कँदा समेत प्लेनमा अनावश्यक झन्झट अनि एयरहोस्टेजहरुको गाली खानुपर्छ। यहाँबाट फर्कने प्रायः नेपालीहरुको एउटै भनाई हुन्छ- अब कहिले पनि मलेसियामा फर्केर आउँदिन।
यहाँ काम गर्ने नेपालीहरु यहाँको दूतावास अनि नेपालीको हितमा काम गर्ने संस्थाहरु प्रति पनि निकै रुष्ट छन्। दूतावासका कर्मचारीले नेपालीलाई नेपालीको ब्यवहार गर्दैनन्। स्थानीय दलालहरुले यही मौकाको फाइदा उठाएका छन्। दूतावासमा केही काम लिएर गयो भने काम तत्कालै हुँदैन, बाध्यताले अर्को दिन जानु पर्छ। त्यसरी दुई तीन दिन धाइराख्नु भन्दा स्थानीय एजेण्टलाई पैसा दिएर काम गराउँदा नै फाइदा हुने यहाँका नेपालीको कथन छ । नेपाल सरकारको तलब र भत्ता खाएर बसेका यी कर्मचारीले नेपालीलाई नै दुःख दिने गरेको मलेसियामा कार्यरत नेपालीहरुको भनाई छ ।
साहुको ऋण लिएर धेरै सपना बुनेर मलेसिया छिर्ने नेपालीहरु जो कोहीले पनि नेपालका म्यानपावर कम्पनीहरुलाई दोष दिन्छन्। विभिन्न प्रलोभनमा पारेर नेपालीलाई मलेसियामा बेचेका एजेन्टहरु अझै सक्रिय भई राखेका छन् । कम्पनीमा काम नपाएपछि केही कामदारहरु अवैध रुपमा काम गर्न पनि बाध्य छन् । यहाँ काम गर्ने नेपालीहरुले नेपालका म्यानपावर कम्पनीले दिएको सम्झौता पत्र अनुसारको काम पाउँदैनन् । नेपाली दलालहरुले नेपालमा दिएको सम्झौता पत्र यहाँका दलालसँग मिलेर एअरपोर्टमा नै गायब बनाउँछन्। त्यसले गर्दा पनि काम गर्ने कम्पनीहरुमा आफ्नो कुरा राख्न गार्हो हुन्छ । यसको प्रत्यक्ष उदाहरण यहाँ पनि देख्न सकिन्छ ।
नेपालमा उत्पन्न राजनैतिक खिचातानीले गर्दा नै धेरै नेपालीहरुले यस्तो दुख भोग्नु परेको हो। नेताहरु आफ्नो आफ्नो भागको हड्डी चुस्नु पाउनु पर्छ भन्ने तर्फ छन्। देश विकासमा लाग्ने युवाले विदेशमा आई यस्तो दुःख भोग्नु परेको छ। यदि यस्तै परिस्थिति सँधै हुने हो भने देशले ठूलो नोक्सानी भोग्नुपर्छ।
अब नेपाल सरकारले विदेशमा काम गर्नसक्ने राम्रो वातावरण बनाउनु पर्छ। अनि म्यानपावरका दलालहरुले पनि अब आफ्नो ब्यवसाय चलाउन ठग्ने प्रवृत्ति अन्त्य गर्ने पर्छ । नत्र उनीहरुले ठगेका सोझा नेपालीको लाटो रिस खेप्न तयार हुनु पर्छ । अनि विदेश आउने कामदारहरुले पनि पहिला आफूले राम्रोसँग बुझेर मात्र प्रक्रिया अघि बढाउनु पर्छ। होइन भने अहिले यहाँ भएका नेपालीहरुको हालत अब आउनेहरुको नहोला भन्न सकिँदैन। त्यसैले हामीहरु नै यस कुरामा जागरुक हुन जरुरी छ ।