अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा नयाँ वर्षको पूर्वसन्ध्यामा १२ अप्रिल, शनिवार ब्रसेल्समा भब्यताका साथ वसन्त कवि गोष्ठी सम्पन्न भयो । बेल्जियममा रहनु भएका कवि तथा साहित्यकार तथा साहित्यप्रेमी महानुभावहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बेल्जियम बाहिरका कवि तथा कवयत्रिहरुको इमेलबाट प्राप्त कविता पनि बाचन गरिएको थियो ।
उक्त कार्यक्रममा कविहरु कृष्ण बजगाईं, रमेश कँडेल, बिमल गिरी, कुम शाही, दिपेन्द्र के.सी., लिलाधर पन्त, सन्तोष खड्का, बिनिता रिमाल, रविन्द्रमान श्रेष्ठ, बालकवि निश्चल गिरी तथा कृतिस बजगाईंले आआफ्ना रचना पाठ गर्नु भएको थियो ।
इमेलबाट प्राप्त गोविन्दिसंह रावतको कविता श्रीमती देवी गौतमले रमेश पल्लवको कविता प्रकाश कार्कीले वाचन गर्नु भएको थियो । उक्त गोष्ठीमा कवयित्री यशोदा अधिकारी तथ सञ्जु नेपालको कविता पनि पाठ गरिएको थियो ।
अनेसास बेल्जियमका अध्यक्ष कृष्ण बजगाईंको सभापतित्वमा सम्पन्न उक्त गोष्ठिमा कार्यक्रमका अतिथि एन आर एन आइसिसि सदस्य तथा कवि रविन्द्रमान श्रेष्ठले अनेसास बेल्जियमको अर्धवार्षिक साहित्यक प्रकाशन शब्दाञ्जली विमोचन गर्नुभएको थियो ।
उहाँले विदेशमा रहेर पनि नेपाली भाषा तथा साहित्यको लागि पत्रिका प्रकाशन तथा कवि गोष्ठि आयोजना गरेर अनेसासले सह्रानिय काम गरेकोछ भन्नु भयो ।
सभापतिको आशनबाट बोल्दै कृष्ण बजगाईंले यस्तो कवि गोष्ठीले साहित्य क्षेत्रमा नयाँ प्रतिभाको आगमन हुने तथा विदेशमा पनि नेपाली साहित्य प्रति धेरैको रुचि बढाउनमा सहयोग पुर्याउने आशा ब्यक्त गर्नु भयो । उहाँले बेल्जियममा यस्तो खालको गोष्ठी पहिलो भएको बताउँदै आगामी दिनमा पनि नेपाली साहित्य सम्बन्धी बिभिन्न समारोह आयोजना गरिने कुरा बताउनु भयो । पत्रिकाको सम्पादक समेत रहनु भएका बजगाईंले प्रकाशनमा सहयोग पुर्याउने साहित्यकार तथा विज्ञापनदाता सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
अनेसासका सदस्य बिनिता रिमालको कुशल उदघोषणमा सचालित उक्त कार्यक्रममा महासचिव रमेश कँडेलले स्वागत भाषण गर्नु भएको थियो ।