May 6, 2009

नायक प्रचण्ड रातारात खलनायक

Filed under: News

संविधान सभाको चुनाव हुनुअघि माओवादी अध्यक्ष एवमं ‘जनमुक्ति सेना’ तत्कालीन ‘सुप्रिम कमान्डर’ प्रचण्डले १६ महिना अघि पार्टीको आन्तरिक प्रशिक्षणमा गरेको भाषणको भिडियोले अहिले देशलाई तरंगित बनाइरहेको छ। भिडियोमा प्रचण्डले बोलेका केही कुरा अहिलेसम्म गोप्य रहेका विषय थिए। सात आठ हजार मात्र वास्तविक सेना भएको तर राष्ट्रसंघीय प्रमाणिकरणमा २१ हजार पुर्‍याएको उनले खुलासा गरेका छन्। यसले संयुक्त राष्ट्र संघको नेपाल मिसन (अन्मिन) समेत विवादमा तानिने पक्का छ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा घोषणा गरेको केही घण्टापछि सोमबार राति इमेज च्यानलले एक्सक्लुसिभ भन्दै यो भिडियो प्रसारण गरेको थियो। देश संकट र अन्यौलको अवस्थामा रहेको बेला देशवासीका नाममा सम्बोधन गरी अप्रत्याशित रुपमा राजीनामा घोषणा गरेपछि प्रचण्डको उचाइ सर्वसाधारणमाझ बढेको थियो। उनले सम्बोधनमा शब्द पनि त्यस्तै प्रयोग गरेका थिए- हामी विदेशी प्रभुका सामु झुक्दैनौ, कुर्सीका लागि विदेशीको मुख ताक्ने स्थितिको अन्त्य भइसकेको देखाउन चाहन्छौँ। अनि हाम्ले त्यति धेरै सिट ल्याएर चुनाव जित्दा नि हामीलाई सरकार बनाउन नदिएर गिरिजाले चार चार महिनासम्म राजीनामा नदिएर कुर्सीमा टाँसेर बस्यो, मैले त संकट आउनासाथ नैतिकताका कारण खुरुक्क राजीनामा दिएँ भन्ने शैलिमा नैतिकवान नेताका रुपमा नायकको छवि जनतामाझ बनेको थियो। यो भिडियोपछि उनी रातारात खलनायकमा परिणत भए।

ध्यान दिएर विश्लेषण गर्ने हो भने माओवादी र उसको विरोधी दुवै पक्ष अब युद्धमा उत्रिएको देखिन्छ। अहिलेलाई यो युद्ध प्रोपागन्डा युद्धमा सीमित छ। अब यस्तै हुने हो भने वास्तविक युद्धमा नै परिणत हुन बेर लाउँदैन। दुवै पक्ष रणनीति बनाएर योजनावद्ध रुपमा नै लागेको देखिन्छ। कटवाललाई हटाउन नसके सत्ता छाड्छु भनेर माओवादीले त्यसै भनेका थिएनन्। भारतले विरोध गर्दागर्दै कटवाललाई हटाउँदा सत्ता छाड्नु पर्ने स्थिति आउन सक्छ भनेर नसोच्ने लाटा प्रचण्ड पक्कै पनि छैनन्। सत्ता छाडेपछि के गर्ने भन्ने पूरै रणनीति बनाएर मात्र उनीहरुले राजीनामा दिएका हुन्। अर्को पक्ष पनि योजनावद्ध रुपमा नै लागेको हो। नत्र १६ महिनाअघि जति बेला प्रचण्ड विद्रोही नेताबाट शान्ति प्रक्रियामा आएको नेतामात्र थिए, र जसले पार्टीको आन्तरिक प्रशिक्षणमा भाषण गरिरहेका थिए, त्यो भिडियो एकाएक उनको राजीनामा कै दिन सार्वजनिक हुने थिएन। एक दिन अघि वा एक दिनपछि पनि हैन, त्यो भिडियो सोही दिन प्रसारण भएको छ।

कहाँबाट आयो भिडियो ?८० मिनेट लामो यो भिडियो कसरी कुन स्रोतबाट प्राप्त गर्‍यो, प्रसारण गर्ने इमेज च्यानलले बताएको छैन। तर, प्राप्त जानकारी अनुसार भिडियो अर्को एउटा टेलिभिजन च्यानललाई उपलब्ध गराइएको थियो- एभिन्युज टेलिभिजन। एभिन्युजले सुरुमा यसलाई प्रसारण गरेन। तर इमेज च्यानलले सोमबार यसको प्रसारण गरेपछि मंगलबार ८० मिनेट कै भिडियो यसले पनि प्रसारण गर्‍यो। एभिन्युज टेलिभिजनलाई राजावादी टेलिभिजनको आरोप लाग्ने गर्छ। इमेज च्यानल शाही शासन कालमा अरु एफएमलाई समाचार प्रसारण गर्न पनि प्रतिबन्ध लगाइएको बेला देशभर एफएम च्यानलको रिले प्रसारण गर्न अनुमति पाएको संस्था हो। सुरुमा काठमाडौँ उपत्यकामा मात्र प्रसारण गर्ने अनुमति पाएको इमेज च्यानलले एउटा टेलिभिजनले लिएको लाइसेन्स अर्कोमा प्रयोग गर्न नपाइने नियमविपरीत सांग्रिला च्यानलको लाइसेन्समार्फत् स्याटेलाइट च्यानलका रुपमा प्रसारण गर्ने अनुमति शाही शासनकालमा नै पाएको थियो। मंगलबारदेखि अन्य टेलिभिजन र देशका विभिन्न भागमा रहेका एफएमहरुबाट पनि प्रचण्डको भाषणको अंश बज्न थालेको छ।

भिडियोमा के छ ?८० मिनेट लामो भिडियोमा चालीस-चालीस मिनेटका दुई अंश रहेको छ। भिडियो अन्त्यमा “प्रकाशक: जनमुक्ति सेना तेस्रो डिभिजन” लेखेको देखिन्छ। यसमा पार्टीका नेता र कार्यकर्तालाई भावी रणनीतिका बारेमा प्रचण्डले पार्टी अध्यक्ष एवमं ‘जनमुक्ति सेना’ ‘सुप्रिम कमान्डर’ को हैसियतले प्रशिक्षण दिइरहेका देखिन्छन्। विशेष गरी अन्मिनलाई झुक्याएर धेरै संख्यामा छापामार प्रमाणिकरण गरिएको खुलासाले अन्तर्राष्ट्रिय रुपमै यो कान्ड तानिने देखिएको छ। अन्ततः विद्रोहबाटै सत्ता कब्जा गर्ने रणनीति लिएको उनले खुलाएका छन्। त्यसो त १० वर्ष सशस्त्र युद्ध लडेको पार्टीका अध्यक्षले पार्टीका हार्डकोर कार्यकर्तालाई होइन हामी त संशोधनवादको बाटोमा लाग्यौँ, हामी अब कहिल्यै युद्ध गर्दैनौँ भन्छन् र। कार्यकर्ताहरुलाई आफ्नो पकडमा पनि राख्‍नु पर्‍यो। कुनै पनि पार्टीको प्रशिक्षण आफूलाई ठूलो र राम्रो बनाउने हुन्छ। काँग्रेसको प्रशिक्षणमा पनि त्यस्तै हुन्छ, एमालेको पनि। तर यहाँ सशस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा आएको पार्टी र त्यसका नेताले भनेका कुरा भएर बढी महत्त्व पाएको हो।

पार्टीहरु के भन्छन् ?
हालसम्म कुनै पनि पार्टीले यस विषयमा धारणा राखेको छैन। तर हतियारधारी पार्टीले त्यसरी सत्ता कब्जा गर्ने रणनीति बनाएको गोप्य भिडियो सार्वजनिक भएपछि निशस्त्र पार्टीहरु झस्कनु स्वभाविकै हो। कांग्रेस मुखपत्र तरुणले सेनाले यो गोप्य भिडियो पाएको समाचार छापेको कारण सेनाले कांग्रेसलाई पहिले नै यसबारेमा बताइसकेको र त्यही भएर कटवाललाई हटाउनै नहुने अडान राखेको हो कि भन्ने अनुमान गर्न सकिन्छ।

माओवादी चाहिँ के भन्छ ?
माओवादी प्रवक्ता दीनानाथ शर्माले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी वर्तमान संकटपूर्ण राजनीतिक स्थितिलाई उत्तेजक र शान्तिप्रक्रियालाई समाप्त पार्ने षड्यन्त्रपूर्ण चालबाजी भएको आरोप लगाएको छ।

कसले बिगार्दैछ सबै वातावरण ?१२ बूँदे सम्झौतापछि माओवादी र दलहरु एकै साथ मिलेर ज्ञानेन्द्रको शासनविरुद्ध आन्दोलन गर्दा सारा नेपाली खुसी भएका थिए। ज्ञानेन्द्रको शासन ढलेपछि बनेको सरकार र माओवादीबीच वृहत् शान्ति सम्झौता भएपछि देशमा दीर्घकालीन शान्ति आउने भयो भनी सबै खुसी भएका थिए। विडम्बना अहिले त्यो शान्ति सम्झौताका दफासमेत कसैलाई याद छैन होला। शान्ति प्रक्रिया निकै जटिल विषय हो। विभिन्न देशको अनुभवले पनि देखाउँछ शान्ति प्रक्रियामा निकै जटिलता आउँछ।

त्यही जटिलताको यो चरण हो। देश शान्ति प्रक्रियाबाट दीर्घकालीन द्वन्द्वतिर फर्कने खतरा बढ्दैछ। माओवादीलाई एक्ल्याएर १२ बूँदे सम्झौता अगाडिको स्थितिमा पुर्‍याउने षड्यन्त्र भइरहेको छ। कसले यो षड्यन्त्र गरिरहेको छ ? कसले बिगार्दैछ वातावरण ?

अहिले सबैको ध्यान वर्तमान जटिल राजनीतिलाई सहज अवतरणको दिशामा लग्नेतर्फ केन्द्रित हुनुपर्छ। सबैको काम माओवादीलाई लोकतान्त्रिक प्रक्रियामा आवद्ध गराउन बाध्य बनाउनु हो। उसको सर्वसत्तावादी सोचले देश चल्दैन भनेर त्यस्तो सोच त्याग्न बाध्य बनाउनु हो, उसलाई युद्धमा फर्काउने हैन। युद्ध धान्न सक्दैन अब यो गरिब मुलुकले। मिडिया पनि त्यस दिशातर्फ अग्रसर हुनुपर्ने हो। किनभने स्थिति झन् बिग्रियो र देशमा द्वन्द्व फेरि बढ्यो भने पीडित हुने हामी जस्ता सर्वसाधारण नै हुन्छौँ। हो, हामी सर्वसाधारण। नेताहरु हुँदैनन्। विदेशमा बस्नेहरु हुँदैनन्। शान्ति प्रक्रिया नबिथोलियोस्, प्रार्थना। तपाईँ गर्नुहुन्न प्रार्थना ?

source: mysansar

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/05/06/p494/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.