मैले चिनेका माधव नेपाल
-हरि रोका
माधवकुमार नेपाल सानो परिवार, सुखी परिवारमा विश्वास राख्ने अत्यन्त सरल देखिने, तर जटिल व्यक्तित्व हुनुहुन्छ । नेपाली, भोजपुरी, हिन्दी भाषामा पारखी नेपाल अंग्रेजी भाषामा राम्रै दख्खल राख्नुहुन्छ । एमालेभित्र सर्वाधिक सक्रिय नेता नेपालको राजनीतिक स्थिरता र अस्थिरताबारे कुरा गर्दा भने मलाई उहाँको जुँगाको ‘कट’ सम्झना हुन्छ । उहाँ कहिले जुँगालाई स्टालिन पारामा मुठार्नुहुन्छ, कहिले माथिल्ला ओठका दुई छेउ सिनित्त पारेर बीचमा एउटा फुल्को छोडिदिनुहुन्छ । कहिले ओठमाथिको बोझ हलुका पार्न सिनित्तै पारेर रातो माटोले पोतेको घरको पेटीजस्तो सफा देखिन्छ । हप्ताका सात दिनमा कुनचाहिँ दिन उहाँका जुँगा कुन साइजमा रहेका होलान् भनेर सितिमिती कसैले अड्कल काट्न सक्तैन । नेपाल आफ्ना अस्थिर जुँगाका साइजजस्तै राजनीतिक कार्यनीति पनि अल्प अवधिमै फेरिरहनुहुन्छ ।
नेपाली राजनीतिमा उहाँ सर्वाधिक सक्रिय व्यक्तित्व हुनुहुन्छ भन्ने कुरामा शंका छैन । हामी सबै, नेपाली समय भनेर डेढ-दुई घन्टा जसलाई, त्यसलाई कुराइदिन्छौँ र आफू पनि कुर्छौं । नेपाल समयको पक्का हुनुहुन्छ, घन्टा त कुरै नगरौँ, एक मिनेट पनि आफूलाई तलमाथि पार्नुहुन्न । उहाँलाई भेट्न घन्टौँ कुर्नुपर्दैन । समय लिन र छलफल गर्न मन लाग्दा उहाँलाई सजिलै प्राप्त गर्न सकिन्छ । उहाँ भाउ खोज्नुहुन्न । र, उहाँ साँच्चिकै मुडमा हुनुहुँदो रहेछ भने घन्टौँ कुरा सुन्न र सुनाउन सकिन्छ । त्यति मात्र होइन, उहाँलाई कोही व्यक्तिमाथि रिस उठेको छ भने फोन गरेर बोलाउने र सामुन्ने राखेर धित मरुन्जेल सीधा-सीधा झाँको झार्ने र पछि अलि धेर पो भो कि भन्ने लागेपछि आइन्दा त्यसो नगर्नुहोला, आउँदै गर्नुहोला भनेर पठाउनुहुन्छ ।
‘सादा जीवन, उच्च विचार’ माधव नेपालको जीवनमा कति मात्रामा पाइएला भन्नेबारे नाप-जाँच त्यत्ति धेरै भएजस्तो लाग्दैन । उहाँ कुनै प्रकारको नसा सेवन गर्नुहुन्न । र, अरूले गरेको पनि मन पराउनुहुन्न । साधारण पहिरन, आफूले गर्नुपर्ने कार्य आफैँले गर्ने र परनिर्भर नहुने सादा जीवनभित्र पर्ने कुरा हुन् । जहाँसम्म उच्च विचारको प्रश्न छ, त्यहाँ प्रशस्त शंका गर्ने ठाउँ छन् । शंकाका अनेकन् सम्झनाबीच घोत्लिँदा एउटा प्रसंग अहिल्यै घटेजस्तो लाग्छ ।
कुनै एउटा साप्ताहिक पत्रिकामा ब्यानर न्युज र सम्पादकीय लेखी सिध्याएपछि गरिने कर्म अर्थात् ज्यान छाडेर लोकल ब्रान्डको रक्सी पिएर म भर्खर डेरा पुगेको थिएँ । खानासानाको केही जोहो नभएकाले ओछ्यानको शरण लिनुको कुनै विकल्प थिएन । एक्कासि फोनको घन्टी बज्यो । रातको त्यस्तै साढे एघार बजेको थियो । मैले लक्पकाएको स्वरमा ‘हलो’ भनेँ । उतापट्टिको स्वर कामरेड महासचिव अर्थात् माधव नेपालको थियो । अलि होसियार हुने चेष्टा गर्दै मैले ‘आदेश पाऊँ’ भनेँ । ‘बिहान सातै बजे निवासमा आउनू’ भन्ने उर्दी गर्नुभयो । मैले ‘हवस्’ भनेँ । उहाँको स्वरले मेरो आधा नसा त्यसै सिद्धियो । बिहानै उठेँ । नुहाइ-धुवाइ सकेर दौडेर थापागाउँबाट कोटेश्वर पुगँ । पुग्दा मअगाडि नै कामरेड ऋषिराज लुम्साली पुगिसक्नुभएको रहेछ । हामीलाई त्यहाँ मृत भइसकेको श्री सगरमाथा र एभरेस्ट हेराल्ड नामक पत्रिकाको दाहसंस्कार कसरी गर्ने भन्नेबारेमा सुझाव लिनका लागि बोलाइएको रहेछ । म त्यसवेला एमाले प्रचार विभागमा होलटाइमर सदस्यका रूपमा क्रियाशील थिएँ । मिटिङ सकियो । लुम्सालीजी हिँड्नुभयो । मैले पनि उठेर हात जोडेँ । बिदा पाउन । उहाँले सोध्नुभयो, ‘तपाईं पार्टी कार्यालय जाने होइन ?’ ‘हो’ । मैले संक्षिप्तमा भनेँ । उहाँले ‘तपाईं पर्खनुस्, म खाना खाएर आउँछु’ भन्नुभो र भर्याङ चढ्नुभो । म भोकले हिरिक्क भएको थिएँ । बेलुकादेखिको भोकै । कामरेडको पातलो कालो चियाले अझ भोक उमारिरहेको थियो । आँत हरहर भइरहेको थियो । रिस पनि उठिरहेको थियो । तर, आफ्नो कालो अनुहारमा रगत नदेखिने भएकाले होला शान्त तलाउजस्तै हलचल नगरी क्यान्टिनको भातको सम्झना गर्दै पर्खिबसेँ ।
झन्डै साडे १० बजे ड्राइभर सिटमा कामरेड आफैँ बस्नुभो र म छेउमा । कोटेश्वरको बालकुमारी जोड्ने पुल तर्न नपाउँदै उहाँले मतिर हेर्नुभो र बज्रसमान प्रश्न कर्कश स्वरमा तेस्र्याउनुभो । ‘खुब रक्सी पिइन्छ रे नि ?’ छिनमै विचार गरँ । पिउँदिनँ भन्यो भने कामरेडले साक्षीसमेत राखेर फलाना ठाउँ, ढिस्काना ठाउँमा फलाना-फलाना पत्रकारहरूसँग पिएको प्रमाण पेस गर्लान् । त्यस्तो हुने सम्भावना शतप्रतिशत थियो । त्यसैले नढाँट्ने विचार गरेँ र भनेँ, ‘पिउँछु’ । उहाँले च्याँठ्ठिएर सोध्नुभो, ‘नपिउँदा मरिन्छ ?’ मलाई यो उदेकको प्रश्नले रिस उठ्यो । मैले पनि प्याट्टै भनिदिएँ, ‘नपिउनेहरू अजम्बरी भएको देखेको छैनँ,’ । मलाई लागेको थियो, अब कामरेडले गाडी रोकेर ओर्लिहाल् भन्लान् । तर, त्यसो भएन । सातदोबाटो पुग्दा-नपुग्दै उनले एकजना सम्पादकको नामै लिएर ‘त्यसले मेरो कुरा काटिरहन्छ रे हो ?’ भनेर सोधे । मैले सोचेँ, आफ्नो मानो खाएर अर्काको के कुरा गर्नू ? संक्षिप्तमा भनेँ, ‘तपाईंको कार्यकर्ता हो, उसैलाई बोलाएर सोध्नुस् न ।’ कुराको बिट मर्यो । बल्खु पुलपारि पुगेर कामरेडले गाडीमा तेल हालेर बिल लिनुभो । बल्खु दरबार पुगेपछि म हतार-हतार भात खाएर सुसेधन्दातिर लागेँ । कामरेड आफ्नै काममा । उहाँको यो आफ्नै खाले संवाद गर्ने तरिका र सादगीबाट मैले आफूलाई कहीँ प्रभाव पर्ने ठाउँ भेटिनँ ।
राजनीतिक विचारधारामा उहाँको निकटस्थता र आस्थाका बारेमा झन् थुप्रै विरोधाभाष थिए र छन् । एउटा प्रसंग उहाँको चीन-भ्रमणसँग सम्बन्धित छ । १०-११ दिनको भ्रमण सकेर फर्केलगत्तै मलाई उहाँले घर बोलाउनुभयो । र, एउटा पुस्तक चिनियाँ सांगठनिक नेता चेन यीले लेखेको (अहिले नाम परिवर्तन गरेर झेन झी भनिँदा हुन्) को सांगठानिक सिद्धान्तको ठेली थमाउँदै भन्नुभो, ‘लौ यसको अनुवाद गर्नुपर्यो र आगामी नवयुगको अंकमा छाप्नुपर्यो ।’ नाइँ हुन्न, असान्दर्भिक भन्ने परिस्थिति नै थिएन । चीन घुमेपछि उहाँ अत्यन्तै प्रभावित देखिनुहुन्थ्यो । त्यसैले म चुपचाप बाटो लागेँ ।
बाटाभरि मेरो आफैँभित्र कुरा खेलिरहेँ । कामरेड महासचिव पार्टीको वैचारिक नेता जो पुराना महासचिवको बहुदलीय जनवादको अजंगको भारी काँधमा हालेर सकीनसकी बोकिरहेका छन् । त्यस जनवादको शिरदेखि पाउसम्म वेस्ट मिन्सटर मोडलको संसदीय प्रणालीभन्दा बान्कीमा केही फरक देखिन्न । त्यसको सांगठनिक ढाँचा, स्वरूप र सञ्चालनचाहिँ चेन यीको अत्यन्त केन्द्रीकृत जनवादी केन्द्रीयताको ढाँचामा सञ्चालन गर्ने सोच । मैले झट्ट हाम्रा वा हजुरबाहरूको पालाको उखान सम्झिएँ, ‘खाँडीको टोपीमा गुयँलाको फूल’ । उल्था गरी सक्दानसक्दै कामरेड अर्कै देशको लामो भ्रमणमा निस्किनु भो । कामरेड प्रदीप नेपालको त्यसको सट्टा ठूला नेपालको विरुद्धमा ‘महासचिवको अराजनीतिक, अदार्शनिक सोच र त्यसले पार्टीलाई पारेको प्रभावबारे’ शीर्षकमा लामो लेख नवयुगमा छापियो । चेन यीको त्यो सांगठनिक काव्यको उल्था आज पनि मेरो दराजको एउटा कुनामा आँसु बगाउँदै थन्किएको छ । उहाँ आएपछि कुरा अन्तै मोडिइसकेको थियो । आत्मिक नेतृत्व उठाएर उहाँलाई महासचिव पदबाट तत्काल बर्खास्त गर्ने तम्तयारी भइरहेको थियो । जनकपुरको राष्ट्रिय परिषद्को बैठकमा त्यसको छनक पाएपछि कामरेडले रथानबथान मिलाएर बहुमतसिद्ध गर्दै आफूलाई सातिर खेलाडीका रूपमा प्रस्तुत गर्न भ्याउनुभो । त्यसपछि पार्टीमा नयाँ गठबन्धनको थालनी हुन पुग्यो ।
यान्त्रिकता तथा व्यावहारिकता कुनै वाद होइन । न त त्यस्तो व्यावहारिकताले समस्याहरूको दीर्घकालीन समाधान निकाल्नमा मद्दत पुर्याउँछ । सोझो, चोखो र आदर्श देखाउने लोभले गर्दा राजनीतिको रातमाटे बाटोमा उहाँ धेरैपटक चिप्लिनुभो । एकपटक प्रतिपक्षको नेता भएका बखत, एउटा चर्चित साप्ताहिकले उहाँका बारेमा खबर छाप्यो । खबरको विवरणको सार, प्रतिपक्ष नेताको हैसियतले संसद्बाट सबै तलब सुविधा लिन्छन्, तर त्यसअनुसार मानिस राखेका छैनन् भन्ने थियो । माथिल्लो तलाबाट एकाएक इन्टरकमको घन्टी बज्यो । कुनै बुधबार छापिएको त्यो अखबार कामरेडले सम्भवत भुक-भुके उज्यालोमै पढिसकेको हुनुपर्छ । मलाई ‘अखबार पढ्नुभो ?’ भनेर सोध्नुभयो । ‘पढेँ’ मैले जवाफ दिएँ । ‘कडा खण्डन छाप्नुपर्यो,’ आदेश बज्रियो । ‘तपाईंको स्वकीय सचिवलाई म कहाँ पठाइदिनुस,’ मैले भनेँ । यादवजी (यादव शर्मा) मकहाँ आउनुभो ।
मैले सोधेँ, ‘६ जना सहयोगी स्टाफ पाउनुहुने रहेछ होइन कामरेडले,’ उनले ‘हो’ मा जवाफ दिए । दुईजना डाइभर हो ? हो । नाम एकजनाको आयो, अर्कोको थिएन । एकजना परिचर, नाम छैन । एकजना सेक्सन अफिसर नाम छैन । एकजना उपसचिवसरह एक आफन्तको नाम प्राप्त भो । ६ जनाको स्टाफमा दुईजना मात्र रहेछन् । पैसा ६ जनाकै लिइएको रहेछ । मैले सोधँ यादवजीलाई, ‘कामरेड, अब खण्डन केको गर्ने त ?’ उनी अक्कबक्क भए । मैले भनेँ, ‘पार्टीमा यत्तिका धेरै कार्यकर्ता छन् रोजगारी पनि हुन्थ्यो । सेवा पनि हुन्थ्यो ।’ कामरेड यादवले महासचिवलाई खण्डन हुन नसक्ने बेहोरा दिएपछि कारण देखाऊका लागि फेरि फोन आयो । मैले भनेँ, ‘कामरेड सत्य कुराको खण्डन हुन सक्दैन । मान्छे भर्ती गर्नुस् त्यसपछि त्यो स्वतः खण्डन हुन्छ ।’ मदेखि कामरेड आगो हुनु स्वाभाविक थियो । धेरैपछि मैले त्यसको राम्रै दण्ड भोगेँ, कार्यालयबाट निष्कासन । पछि मेरो अनुपस्थितिमा एकजना कामरेडले खण्डन पठाएछन्, उनले त्यसको पुरस्कार पनि गतिलै भेट्टाए ।
एमालेको जिन्दगीमा महाकाली सन्धि नामको एउटा भँचालो आयो । आठ हजार ६ सय मेघावाट बिजुली उत्पादन हुने भनिएको पञ्चेश्वर बाँधमा कामरेड माधव नेपालको घोर समर्थन हुन पुग्यो । रातारात पार्टी समर्थन र विरोधमा दुई कित्तामा बाँडियो । कामरेडले सन्धिपक्षको नेतृत्वको कमान्ड सम्हाल्नुभो । टनकपुर भ्रमण गरेर कञ्चनपुर आएका माहासचिवले स्याटलाइटबाट चीनमा बिजुली सप्लाई गर्ने अनौठो वैज्ञानिक उपायको घोषणा गर्दै कामरेड ओलीको एक खर्ब २० अर्ब रुपैयाँको वाषिर्क आम्दानी हुने सम्भावनालाई पुष्टि गरिदिनुभो । केन्द्रीय कमिटीमा बहुमत जुटाउन धेरैलाई जुठ्याइयो । मध्यरातमा कामरेडको बहुमत पुग्यो र सन्धि अनुमोदन भयो । राष्ट्रले हार्यो र उहाँहरूले जित्नुभयो । यो जित उहाँको जीवनको सबैभन्दा ठूलो जित थियो भन्दा हुन्छ ।
माक्र्सवाद-लेनिनवाद, माओ विचारधारा हुँदै बहुदलीय जनवादसम्मको लामो यात्रामा कामरेड नेपालको सुझबुझ छिपछिपे मात्र भएकालाई सबैले बुझेकै हुनुपर्छ । त्यसैले प्राडो-पजेरो कान्ड हुँदै लोकेन्द्रबहादुर चन्दलाई काँधमा बोक्ने कार्यदेखि लिएर महाकाली सन्धि हुँदै ज्ञानेन्द्रको दरबारमा प्रधानमन्त्री पदका लागि दरखास्त हालिरहँदा उहाँले ती ‘वाद’ले के भनिरहेका छन् भनेर पछाडि फर्केर हेर्ने जमर्को गर्नुभएन । पार्टीर्लाई एकनासले नेतृत्व गरिरहँदा उहाँको यात्रा, मोहोर राखेर ढोग्नेदेखि प्रतिगमन आधा सच्चिएको निक्र्योल काट्दै कामरेड भरतमोहन अधिकारीलाई देउवाका साथमा सत्ताको भर्याङ चढाएर ज्ञानेन्द्रको सत्तामा चार चाँद थप्न पुग्नुभो ।
यस्ता अभियानले गर्दा पार्टीको भित्तामा रंगिएको थोर बहुत क्रान्तिको जलप यसिड खन्याएर नांगो बनाइदिने अभियानमा लिप्त हुनुभो । त्यत्ति विधि आत्मसमर्पण गर्दा पनि माघ १९ पछि उहाँलाई ज्ञानेन्द्रले घरमै नजरबन्द गरिदिए । त्यसपछि कामरेड नेपाल पार्टीभित्र मात्र होइन बाहिर आमजनताका माझमा पनि क्रमिक रूपमा ओरालिनुभो । काठमाडौं र रौतहटबाट नराम्ररी चिप्लिएपछि उहाँले सन्न्यास लिनुहुनेछ भन्ने धेरैले आस गरेका थिए । तर, उहाँले यात्रा जारी राख्नुभो । राष्ट्रपतिमा ड्याङ खाए पनि हिम्मत हार्नुभएन । बूढा माड्साबलाई ओरालेर उहाँ संवैधानिक समितिको अध्यक्षको यात्रामा हिजोसम्म हुनुहुन्छ । आजदेखि के हुने उहाँलाई पनि थाहा छैन ।
कामरेड नेपालको यात्रा जारी छ । यतिवेला उहाँको यात्रा प्रधानमन्त्रीको कुर्सी प्राप्तिको ध्येयसँग गाँसिएको छ । यसवेला गिरिजाबाबुले कसिलो धाप दिएका छन् । त्यो पनि दुई हातले । ‘आगे बढो माधप बाबु’ आप भारतीय मूलके हे’ भन्दै भारतीय अखबारहरूले साउथ ब्लकको इसारामा ताल दिइरहेका छन् । कटवाल बाका केही पमप्लेटरूपी अखबारहरूले उहाँका निमित्त ३०१ को जबर्जस्त संख्या अस्तिकै दिन जम्मा गरिदिएका छन् । त्यसैले उहाँ सँदाभन्दा धेरै हतारमा हुनुहुन्छ । कम्तीमा पाँच मिनेट भए पनि उहाँलाई त्यस अभागी कुर्सीमा बस्ने लालसा यसपटक पूरा हुन्छ कि भन्ने आश छ । एउटा रेकर्ड राख्ने लालसा । यस दौडमा पनि उहाँले सबै माथि उल्लेखित ‘वादहरू’लाई पार्टीभित्र झन्डै आलंकारिक हुन पुगेका अध्यक्ष पदमा आसिन कामरेड खनाललाई जिम्मा लगाउनुभएको भान हुन्छ । भोक, निद्रा, बेचैनीबीच गुजि्ररहँदा पनि उहाँले एक-एक भोट सञ्चितिका लागि कमेजको फेर थाप्दै पार्टी नेताहरूका चाकरीमा अहोरात्र खटिरहनुभएको छ ।
न नीति छ, न न्यूनतम साझा कार्यक्रम, न मुलुकलाई यसरी सञ्चालन गर्छु भन्ने कुनै निश्चित खाका नै कामरेडले प्रस्तुत गर्नुभएको छ । न राष्ट्रपतिको कदमका बारेमा केही सोच छ, न कटवालको निरन्तरताका बारेमा कुनै भनाइ । न माओवादी विपक्षमा बस्दा हुने कठिनाइको बारेमा कुनै आँकलन । न त कांग्रेसको काँध थप-थपाइको पछाडिको गुड रहस्यको कुनै चिन्ता । न त भारतीयहरूले प्रधानमन्त्री बनाएवापत के लिन खोज्ने छन् भन्ने संसय । मधेसी दलहरूको उहाँलाई हुने समर्थनका पछाडिको छिड्के दाउको रहस्य । कामरेडलाई कुनै चिन्ता छैन । न त दीर्धघालीन शान्तिको योजना छ । न त संविधान निर्माणसँगै राज्यको आर्थिक-सामाजिक रूपान्तरणको चिन्ता । कामरेडको प्रधानमन्त्रीको कुर्सीसम्म पुग्ने यात्रा निरन्तर जारी छ । नयाँ खेलाडी फोरम अध्यक्ष उपेन्द्र यादवले उनको यात्रामा बाधा नपुर्याउन र उहाँको यात्रा कहीँ नपुग्ने यात्रामा तब्दिल नहोस् । कामरेडको यात्रालाई हार्दिक शुभकामना ।