मेरो घरमा सिंगै हिमाल पस्यो
कृष्ण प्रर्साई
बिहानै ढोका खोलेर हेर्दा बाहिर हिउँ परिरहेको थियो । अधिल्लो दिन परेको हिउँ अझैसम्म पग्लिएको थिएन । आज पनि मैले आफ्नो वरन्डाबाट बाहिर निस्कने भर्याङ्ग र हिड्नुपर्ने बाटाको हिउँ बढार्ने र सफा पर्ने काम गरे ।
हिउँ पर्दासम्म ठिकै हुन्छ तर जब हिउँ पर्न थामिएर हावा चल्न सुरु हुन्छ अनि प्राणै जालाजस्तो हुन्छ कोरियामा । चिसोले बाहिरको वातावरण र पानीलाई जमाएजस्तै मान्छेलाई पनि जमाउने कोशिस गर्छ । बाहिर हिड्नै नसकिने हुन्छ आफ्नै हातका औला जमेझै लाग्छ । आँखा रसिला हुन्छन्, कान राता भएर नाक र कानका सम्वेद्य शक्तिसमेत हराएर जान्छन् । गर्मी याममा मनग्ये गर्मी हुने कोरियाको मौसम जाडोमा माइनस १५ सम्म ओरालो लाग्छ । ठट्यौली पारामै एकदिन कवयित्री पार्कले भनेकी थिइन्, कोरियमा तीनवटा W को विश्वास हम्मेसी नगर्नु होला । पहिलो W मा WEATHER भन्ने बुझनुहोला जुन कतिखेर परिवर्तन हुने पत्तै पाइन्न । दोस्रोमा W मा WINE भन्ने हो संझिनुहोला कति खाँदा कति लाग्ने थाहै पाइन्न । तेश्रो W को बारेमा म व्याख्या गर्न चाहन्न तपाईँ आफै बुझने कोसिस गर्नुहोला । आफै मनन् गर्नु होला । यसको बारेमा म अहिले केही भन्न चाहन्न । कवयित्री पार्कका तीन वटा W मध्ये अन्तिम W को बारेमा मैले पछिसम्म अनुसन्धान गरिरहेँ र गरिरहेछु तर निक्र्योलमा पुगिसकेको भने छैन । जाडो भएकाले अन्तिम W को व्याख्या WARM भनेर मात्र म संझरहेकोछु ।
बाहिर जति हिउँ परेर जाडो भए पनि भित्र भने सबै ठाँउमा न्यानो बनाउने तापमानका संयन्त्रहरु कोरियाभरि नै छन् । कोरियाको कोठा तताउने प्राचीन प्रविधिलाई अन्य चिसो मौसम हुने देशहरुले पनि चोर्ने गर्थे रे कुनै समयमा । तर आज कोठा तताउने वैज्ञानिक प्रविधि छ कोरियामा । सामान्य घरहरुमा उज्वलनशील ग्यास र विद्युतीय प्रविधिबाट भुइँमा बिछ्याइएका पानीका पाइपहरुलाई तताएर न्यानो पर्ने गरिन्छ भने आजभोलि निर्माणाधीन सुविधासम्पन्न अलिसान भवनका हजारौ हजार तलाहरुलाई तताउन भने गाउँ वा सहरमा खेर फालिएका फोहोरलाई जम्मा पारेर त्यसलाई वैज्ञानिक किसिमले छुट्याइएपछि आधुनिक प्रविधिबाट बनाइएका मेसिनहरुले केन्द्रिकृत ताप छोड्छन् । ताप ननिस्कने अरु फोहोर वस्तुबाट भने रसायन मल बनाइन्छ । यसरी फोहोरबाट दोहोरो फाइदा लिने मुलुकमा कोरिया अग्रस्थानमा छ ।
नेपालमा भइरहने फोहोरमैलाको राजनीतिलाई विकसित देशको सिको सिकेर सोत्तर पार्न पाए कति राम्रो हुने थियो भन्ने मनभरि लागिरहन्छ कोरियाको प्रविधि हेरेर । राज्यबाट यस्ता कुरामा पहल भए काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरहरुको पनि काँचुली फेरिने थियो । फोहोर मैलाको जल्दोबल्दो समस्याले क्याप्पै निलेको काठमाडौँको त आधा समस्या नै चट् हुनेथियो । निमोठिन लागेको पर्यटन व्यवसाय अझ मौलाउने थियो । वातावरणमा सुनमा सुगन्ध थपिने थियो । तर यस्ता दिनहरुको हामी कल्पना मात्र गर्नसक्ने स्थितिमा छौँ । अहिले दिउँसोको एक बजिसकेको छ । अझै हिउँ थामिने कुरै छैन । फुस्फुस्सी झरेको झर्यै छ सम्पूर्ण ठाउँलाई सेतै बनाएर । एस.एम.एस सूचना पनि आइरहेछ साथीहरुबाट । बाहिर निस्कनुभन्दा कोठामै बस्ने सल्लाह दिइरहेछ मोवाइलले । केन्द्रीय टेलिभिजन र स्थानीय रेडियोबाट गाडी चालकलाई हिउँ पर्दा अपनाउनु पर्ने सावधानीका सूचना पनि प्राप्त भइनैरहेछन् ।
दुइ महिनाअघि मात्र यहाँको पर्यावरण नै अर्कै थियो । जाडो पस्नुअघि सारै रमाइलो हुन्छ कोरियाको वातावरण । पातहरु समेत रातै र पहेंलै भएर सजिएका हुन्छन् रुखहरुमा । जंगलै पहेलो र रातो भएको हुन्छ । मनै पुलकित हुन्छ दृश्यहरुमा । तर जब चिसो बढ्दैजान्छ अनि राता र पहेलो पातहरु क्रमश झर्दै जान्छन् । जब चिसोले वातावरणलाई बेस्सरी समाउँछ त्यति बेलासम्म पातहरु प्रायः सबै भुइँमा झरिसकेका हुन्छन् । पातविहीन रुखमात्र जिङरिङ्ग देखिन्छन् । यस्तो लाग्छ मानौं यी रुखहरुमा यसअघि कहिल्यै पात थिएनन् । अस्थिपन्जर मात्र बोकेका रुख हेर्दा पत्याउनै गाह्रो पर्छ, दुइ महिनाअघि ती रुखहरुले धानेको सौर्न्दर्य सम्झेर । चिसोले मान्छेको वाहृय संवेदना मात्र खाँदैन रुखहरुको प्रायः हंश नै निमोठिदिन्छ । हिउँजस्तै चिसो हुन्छ हिउँको मन । हिउँदजस्तै चिसो हुन्छ हिउँको संसार कोरियाभरि । हलुवावेदका फलमात्र बचेका हुन्छन् चिसोको साम्राज्य ओढेर खेतबारीहरुमा ।
मलाई अझै सम्झना छ मिन योङ्ग (Min Young) जस्ता कोरियाका मूधर्न्य कविको घरमा पुग्दा पाकेको हलुवावेद मुखै रसिलो हुनेगरी खाएको कुरा । सबै स्वादिला र गुलिया हुन्छन्, जापान र कोरियाका हलुवावेद । वरिष्ठ कवि मीन योङ्गले आफैँले चिया बनाएर थपीथपी पिएको सम्झनामा बसेको यै वर्षै हिउँद थियो । कवि बस्ने एघारौं तलाबाट देखिने पारिपटीको मनमोहक कोरियाली पहाड होस् वा छेउमै बगिरहेने नदीको मनोरम दृष्य सधै मानसपटलमा छापिएर बसेका छन् । कविसँग नजिकैको नदी घुम्दाका रमाइला साहित्यिक अनुभूतिहरु झन् अझैसम्म मेरो मनमा आलै छन् ।
जति सुकै हिउँ परोस्, जतिसुकै जाडोले सताओस्, कठयाङ्गग्रिदै भए पनि मिन योङ्ग जस्ता प्रसिद्ध कविसँग भेट गरेरै छोडें मैले यो कोरियाली हिउँदमा । झन् को-यून (Ko Un) जस्ता विश्वप्रसिद्ध जेन कविताका मूर्धन्य कवि जसलाई सम्झनेबित्तिकै सारा कोरिया श्रद्धाले निहुरिन्छ र देशसमेत उनलाई पाएकोमा गौरवन्वित हुन्छ त्यस्ता महान् कविलाई समेत मैले यसैपालिको हिउँदमा छोएँ, सुम्सुम्याएँ र श्रद्धाले रमाएँ । सुनेअनुसार एकसयभन्दा बढी पुस्तक लेखिसकेका को-यून नोवेल पुरस्कारमा दुइपटक प्रत्यासी भइसकेका रहेछन् कोरियाली साहित्यबाट ।
यो पालिको कोरियाली हिउँद जतिसुकै चिसिए पनि, बाटाहरु जतिसुकै हिउँमा पुरिए पनि मेरा लागि नितान्त न्यानो रह्यो कोरिया । ब्रदर एन्थोनी जस्ता अंग्रेजीका चर्चित प्राध्यापक- जसले कोरियाली भाषाका ३५ भन्दा बढी कृति अंग्रेजीमा अनुवाद गरेर कोरियाली साहित्यमा ख्याति कमाइसकेका छन् । उनीसँग अझ नजिकिने मौका दियो मलाई यो ऋतुले । जसको सहयोगबाटै मैले को. यून सम्म पुग्ने सौभाग्य पाएँ । त्यसो त जापान, चीन र कोरियाका कविहरुको महत्वपूर्ण कविगोष्ठीमा कविता सुनाउँदाको अवसर होस् वा हेया रोटरी क्लबमा समकालीन कोरियाली कविहरुसँग आफ्नो रचना नेपालीमा सुनाएर कवि साथी किम योन सामले कोरियाली भाषामा कविता सुनाएको समयको सम्झना होस्, यी सबै ताजै छन् यो कोरियाली हिउँदको नाममा । चाहे १७ वटा कविता र नेपालसम्बन्धी नियात्रा पुस्तक लेखेर गत वर्षर्सवाधिक बिक्री भएको पुस्तककी रचयिता कवयित्री किम इन जा (Kim In Ja) सँग समुद्रको किनारमा हिउँ खेलेर बिताएको समय होस् वा हजारौं वर्ग फिटको ताल बोकेर आफ्नो पिठ्यूमै उभिएको कोरियाली रेष्टुरेन्टकी साहुनी कवयित्री पार्क सु ह्यान (Park Soon Hyang) सँग हिउँ खोतलेर तल जमेको पानीमा बल्छी थापेर माछा मार्दाको रमाइलो नै किन नहोस्- ज्युँका त्युँ आलै छन् अहिले पनि । त्यसो त सुहानका कवि किम उ योङ्ग (Kin Woo Young), सिओलका अविवाहित कवि किम नान योङ्ग (Kin Nan Young) सँग कोरियाका महत्वपूर्ण पहाड, पार्क र ऐतिहासिक स्थलहरुमा घुमेको क्षण नै किन न होस्, यी सबै यसै हिउँदले चखाएको सम्झनामध्येमा पर्दछ ।
विदेशका जुनसुकै भागमा जाउँ, मेरो उपहार भनेको सवैलाई एउटै हुने गर्छ- त्यो हो नेपालबाट लिएर गएका हिमाल, बुद्ध र रुद्राक्षको माला । तर यसपालि भने को यून का लागि मैले नेपालबाटै अर्को उपहार पनि लिएर गएको थिएँ । त्यो थियो तोपचराको गुँड । झन्नै एक फुट लामो र प्रसस्त कालिगडी पोखिएको त्यो गुँड गाउँको मेरै बगैचामा रहेको नरिवलको रुखबाट मैले निकालेको थिए । तोपचराले मिहीन तरिकाले बुनेको त्यो गुँड उसका सन्तान हुर्काएर उसले छोडेपछि मैले नरिवलको पातसँगै झारेको थिएँ । तोपचराका गुँडको विशेषता के हुन्छ भने गुँडको भित्री भागमा काँचो माटो वा गोबरले लिपेर त्यसमाथि जुनकीरी टाँसेको हुन्छ । मानव मस्तिष्कले बिजुलीको आविस्कार गर्नुअघिदेखि नै जुनकीरीको उज्यालोमा गुँडभित्र रम्ने त्यो चराको कालिगडी हेर्न लायककै हुन्छ । जसलाई मैले बर्षौदेखि पंक्षीजन्य कालिगडीको उच्चतम नमूना र चमत्कारिक कला सम्झेको छु । मैले दिएको बुद्धको फोटो र अन्नपूर्ण पर्वत श्रृङ्खलालाई को यून ले आफू बसेको भुइँमा सजाउनुभयो । रुद्राक्षको माला मैले आफैं लगाइदिएँ । मैले लगाइदिएको एकै क्षणमा श्रीमती डा. को. युन ले आफ्नो घाँटीमा लगाउनुभयो ।
तोपचराको गुँडलाई भने को युन आफैंले बैठक-कोठामा सजाउनुभयो र भन्नुभयो, “यो गुँड मेरो कविताको शिर्षक भयो । यो गुँडले धेरै उर्जा थपियो मलाई । सबै उपहार पाएर म धन्य भएँ ।”
चालीस दिनसम्म मानसरोवरको यात्रा गरिसक्नुभएका पूर्वभिक्षु को.यून.सँग हिमालय यात्राका राम्रा अनुभवहरु पनि रहेछन् । हिमाल इश्वरको राम्रो वासस्थान हो भन्ने मान्यताका पक्षपाती कवि को. यूनले ४० दिनको मानसरोवर यात्रामा २० कीलो वजन घटाउनुभएको रहेछ । कोरियाली संस्कृतिमा शरीरको वजन घटाउनु एक किसिमको शारीरिक उपलव्धि नै मानिंदोरहेछ ।
विश्व विख्यात् मूर्धन्य कवि को. यून ले बराबर कन्चनजङ्गा हिमालको, शिवको वासस्थान मानिएको कैलाश पर्वतको, मानसरोवर र भगवान् शिवको नाम लिनुभयो । अन्नपूर्ण पर्वत श्रृङ्खलाको नक्सा धेरैवेर हेरेर खुसीले रमाउनुभयो । मेरो हात समाउनुभयो, सुम्सुम्याउनु भयो र भन्नुभयो, “आज मेरो घरमा सगरमाथा पस्यो, आज मेरो घरमा सिंगै हिमाल पस्यो ।”