November 9, 2009

नम्रता, अश्लीलता र नयाँ सोच

Filed under: News, Article

टीकाराम राई
नेपालमा नवनायिका नम्रता श्रेष्ठ तातो चर्चाको विषय भएकै दिन असोज ४ गते भारतमा प्रख्यात सितारवादक शिवशंकरकी छोरी अनुष्का समाचार बनिन् । नम्रता नग्न भिडियो क्लिपले गर्दा चर्चामा आइन् भने ठगहरूले एक लाख अमेरिकी डलर नदिए उनको निजी फोटो सार्वजनिक गर्ने धम्की अनुष्कालाई दिएको उजुरी परेपछि सञ्चारमाध्यममा उनी छाइन् । दुवै समाचार चर्चाको विषय बन्नका कारण थियो- निजी तस्वीर । त्यसपछि नम्रता र अनुष्काले फरक-फरक सामाजिक व्यवहार र अनुभव सामना गर्नुपर्‍यो । अनुष्काले उनको समाजबाट सहानुभूति र सहयोग पाइन्, जसको कारण उनलाई धम्की दिने मध्येका एक ठग मुम्बईमा असोज ५ गते पक्राउ परे । उनी पूर्वनिर्धारित कार्यक्रममा भाग लिन हलिउड गइन् । तर नम्रताले चाहिँ विभिन्न अश्लील काम गरेको र चरित्रहीन भएको लगायतका लाञ्छना खेप्नुपर्‍यो । आधुनिक विज्ञान र प्रविधिको दुरुपयोग गर्दै अनुमतिबिना क्रूरतापूर्वक उक्त भिडियो क्लिप प्रचार गरियो । त्यस्तो गर्नेलाई कारबाही गर्न सहयोग गर्नुको सट्टा उनलाई विज्ञापन र छायाङ्कन भइरहेको चलचित्रबाट हटाइयो(रे) । निजी तस्वीरको विषयमा काठमाडौंमा नम्रताले भोग्नुपरेको अनुभव तथा व्यवहार क्रूर हुनाका कारण यौनसम्बन्धी सामाजिक विश्वास हो । त्यसले हाम्रो समाजका धरातलीय यथार्थलाई उदाङ्गो पारेको छ । नेपाली समाजमा नम्रता घटना एक प्रतिनिधि घटना भएकोले त्यसबारे बहस चल्नुपर्छ ।

पशुपतिमा लिङ्ग र गुह्येश्वरीमा योनि पूजा गर्ने परम्परा नग्नता नेपाली समाजमा स्वीकार्य भएको प्रमाण हो । मन्दिरहरूमा नग्नचित्रहरू कुँद्ने परम्परा लिच्छविकालमा सुरु भई मल्लकालमा उपत्यकाभरि फैलाइएको ‘सेक्रेड इरोटिक आर्ट एन्ड थिम्स अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ । उक्त पुस्तकका अनुसार काठमाडौंका छब्बीस, पाटनका चार, भक्तपुरका आठ, गोरखाका चार, पोखराका एक र पाल्पाका एक मन्दिरहरूमा नग्नचित्रहरू कुँदिएका छन् । पूजास्थल मन्दिरहरूको सौन्दर्यता नग्नचित्रहरूले बढाएकोले हिन्दूधर्म र नग्नताको अन्तर-सम्बन्ध अश्लील नभई पवित्र छ भनी पुष्टि हुन्छ ।

खोजकर्ताहरूले यौन र नग्नता पैसा र व्यापार अर्थात् निहित स्वार्थमा आधारित भएमा अश्लील हुने भनी अथ्र्याएका छन् । माक्र्सवादी विचारकहरूको मत उक्त विचारसँग करिब-करिब मिल्छ । यो अर्थमा अश्लील चलचित्र, विज्ञापनका लागि महिलाको अंग प्रदर्शन, देह व्यापार आदि अश्लील हुन् । भिडियो क्लिप हेर्दा स्पष्ट हुन्छ, नम्रताको उक्त भिडियो क्लिपको उद्देश्य पैसा आर्जन गर्ने नभई प्रेमी प्रदर्शनको पागल शैलीमात्र हो । देवताहरूको देवता इन्द्र र चतुर भगवान कृष्ण (महाभारत युद्धका प्रमुख सल्लाहकार) ले प्रेममा कामुकता प्रदर्शन गर्नु हुन्छ भने नम्रताले आफ्नो केटा साथीसँग स्वेच्छाले यौन सम्बन्ध राख्न किन नहुने ?

प्रसिद्ध विचारक तथा नोबल पुरस्कारबाट सम्मानित अमत्र्य सेनको नयाँ पुस्तक ‘द आइडिया अफ जस्टिस’ बजारमा छ । उनले ‘न्याय तर्कबाट मात्र स्थापित हुँदैन, न्याय सत्य र तथ्यमा आधारित तर्कबाट स्थापित’ हुन्छ भनी उक्त पुस्तकमा लेखेका छन् । भिडियो क्लिप सार्वजनिकपछि

नम्रताविरुद्ध समाजले जे गर्‍यो, त्यो अन्याय हो भन्ने निष्कर्ष निकाल्न किताब पढेपछि बल पुग्छ । जुन तर्कका अधारमा उनलाई अहिले दुष्टको रूपमा चित्रण गरिँदैछ, त्यो सत्य र न्याय किमार्थ छैन । किनभने नग्नचित्र कुँदिएको मन्दिरमुनि पूजा गर्दा, पशुपतिमा लिङ्ग र गुह्येश्वरीमा योनि पूजा गर्दा श्लील हुने, तर निजी प्रयोजनका लागि नग्न तस्वीर खिच्दा अश्लील अर्थात् अपवित्र हुने ?

कालजयी विचारका कार्लमाक्र्सले उत्पादन सम्बन्धका आधारमा ऐतिहासिक विकासक्रमलाई वर्गीकरण गरी सामन्तवादभन्दा पुँजीवाद वैज्ञानिक र उत्तम हुने बताएका थिए । त्यही कारण करिब ३ सय ६० वर्ष अगाडि जन्मिएको पुँजीवाद कालजयीजस्तै छ । तर नेपाली उद्योग बजारको चरित्र सामन्तवादी नै भएको दर्शकहरूको आक्रोशित प्रतिक्रिया नआउँदै नम्रतासँगको विज्ञापन अनुबन्ध एकपक्षीय रूपमा तोडिएबाट स्पष्ट हुन्छ । पुँजीवाद भनेको नाफा आर्जन गर्नुमात्र नभई निर्णय प्रक्रियालाई वैज्ञानिक र अग्रगामी सोचमा आधारित बनाउनु हो भनी बुझ्न जरुरी छ । विश्वमा ज्ञान, विज्ञान र प्रविधिको बाढी र सामाजिक रूपान्तरण पुँजीवादका जन्मपछि नै आएको हो ।

महिलावादी आन्दोलन प्रमुख रूपमा महिलाविरुद्धको परम्परावादी सोचले सिर्जना गरेको सामाजिक, आर्थिक र राजनीतिक शोषण, उत्पीडन र विभेदको विरुद्ध हो । महिलावादी दृष्टिकोणको आधारमा भन्नुपर्दा नम्रताविरुद्ध भएका घटना हिंसामात्र नभई सामाजिक र आर्थिक अन्याय र शोषण हो । सामन्तवादी सोचबाट हाम्रो समाज अझै मुक्त भइनसकेकोे त्यो घटनाबाट स्पष्ट हुन्छ । उक्त सोचविरुद्ध महिलावादीहरूबाट तार्किक, तथ्यपूर्ण र सशक्त कलम चल्नुपथ्र्यो । नम्रता घटना हाम्रो समाजको प्रतिनिधिमूलक घटना भएकोले नग्नताको आधारमा महिलालाई मूल्याङ्कन गर्ने परम्परावादी सोच भत्काउन महिलाहरूबाटै तातो बहस उठ्नुपथ्र्यो । तर अपेक्षा गरिएजस्तो नहुँदा नेपालमा महिलावादी आन्दोलन बौद्धिक रूपमा कमजोर भएजस्तो सन्देश गएको छ ।

जर्मन सिद्धान्तकार हर्वट मार्कुसले भनेजस्तो यौनसम्बन्धी सामाजिक मान्यता (नियम) महिलालाई दमन र शोषण गर्न प्रभावकारी साधन हो । यौन स्वतन्त्रता नभएसम्म मानवीय क्षमताको पूर्णरूपमा उपयोग हुन नसक्ने हुँदा यौन क्रान्ति हुनुपर्ने मार्कुस सुझाव दिन्छन् । यौनलाई अश्लील र संकीर्णता मान्ने दासत्व र सामन्ती युगको चरित्र हो । यौन सम्बन्धी कठोर विश्वास र मान्यता मानव विरुद्ध भएकोले अब त्यसलाई उखालेर फाल्नुपर्छ । रकम आर्जन गर्ने उद्देश्यबाट नभएका यौन सम्बन्धले सार्वजनिक बहसको मान्यता पाउनु हँुदैन । निजी प्रयोजनका लागि भएको यौन घटनाबाट मानिसको सिर्जना र योगदान अवमूल्यन गर्ने सोच अब अन्त्य हुनुपर्छ । त्यसका लागि आधुनिक शिक्षा प्राप्त युवाहरूले बौद्धिक र गहकिलो बहस थाल्नुपर्छ । हाम्रो समाज, संस्कृृति र परम्पराको आलोचनात्मक ढंगले अध्ययन गरी सही व्याख्या विश्लेषण गर्दै सत्यमा आधारित मूल्य र मान्यता स्थापित गर्नुपर्छ । अर्थात् पोष्टमोर्डनिष्ट डेरिडाले सुल्झाएजस्तै मानव विरोधी मूल्य र मान्यताहरू फरक ढंगले लेखिनुपर्छ ।

यो घटनामा नम्रता समाजबाट बहिष्कृत हुने प्रकृतिको अपराध भएको छैन, मानवीय भूलमात्र भएको छ । आफ्नो यौन सम्बन्धलाई व्यवस्थापन नगर्नु उनको भूल हो । नम्रता युवा समूहले मनपराएका नायिका भएकोले उनी ‘अराजक यौन’का प्रतीक हुन सक्दैनन् । तर भ्रष्टाचार, जनविरोधी र विदेशीहरूको कठपुतली हुनेजस्तो गम्भीर अपराध नभएकोले उनले माफ पाउनुपर्छ । उनको विना अनुमति उक्त भिडियो क्लिप सार्वजनिक गर्नेहरू प्रहरी अनुसन्धान दायरामा पर्नुपर्छर् । त्यसो नभए उनीसँग भएका सिर्जना र उनले चलचित्र क्षेत्रलाई पुर्‍याएको योगदानको उपेक्षा हुनेमात्र नभई कट्टरवादी सोचले समाजमा निरन्तरता पाइरहन्छ ।

परिणाम, यौन मान्यताको बहानामा महिला विरुद्ध हिंसा, दमन, उत्पीडन र शोषणजस्ता अपराधहरू जायज

ठहरिरहनेछ । अरू धेरै सिर्जनाका धनी नम्रताहरू चरित्रहीनको आक्षेपमा सिर्जना गर्न र समाजलाई योगदान दिनबाट वञ्चित भइरहनेछन् ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/11/09/p523/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.